Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफगानिस्तानमा कोइला खानीको सुरक्षा र उत्पादनमा सुधार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस/सिन्ह्वा)

अफगानिस्तानका कोइला खानीमा आधुनिक उपकरण र सुरक्षा मापदण्ड लागू गरिएपछि मजदुरको जोखिम घट्नुका साथै उत्पादन र राजस्व बढ्न थालेको छ । सरकारी प्रयासले खानी सञ्चालनलाई व्यवस्थित बनाउँदै काम गर्ने वातावरणमा सुधार ल्याएको अधिकारीहरूले बताएका छन् ।

    उत्तरी बघलान प्रान्तको ऐतिहासिक करकर कोइला खानीमा सुधारको प्रभाव देखिन थालेको छ । राजधानी काबुलबाट करिब १७० किलोमिटर उत्तरमा पुल–ए–खुमरी सहरनजिक रहेको यस खानीमा करिब २५० जना कामदार कार्यरत छन् । उच्च गुणस्तरको कोइलाका लागि प्रसिद्ध खानीमा अहिले मापदण्डअनुसार उत्खनन भइरहेको छ ।

    पाँच वर्षभन्दा बढी समयदेखि खानीमा काम गर्दै आउनुभएका मजदुर अहमद साबेरले सुरक्षा र काम गर्ने अवस्थामा उल्लेखनीय सुधार आएको बताउनुभयो । भूमिगत करिब ४५० मिटर गहिराइमा काम गर्दा आवश्यक सुविधा र उपकरण उपलब्ध हुन थालेको उहाँले जानकारी दिनुभयो । दैनिक बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म काम गर्ने उहाँको टोलीले सुरुङ भत्किन नदिन बलियो संरचनाको व्यवस्था गरिएको जनाएको छ । अधिकारीहरूले दैनिक कामको अनुगमन गर्ने गरेको उहाँको भनाइ छ ।

    खानी सुरक्षा अधिकारी गुला जानका अनुसार पहिले ग्यास पहिचान गर्ने उपकरण र सुरक्षाका आवश्यक मापदण्डको अभाव थियो । अहिले मिथेन, अक्सिजन, कार्बन डाइअक्साइड र सल्फर अक्साइड पहिचान गर्न सक्ने ग्यास डिटेक्टर प्रयोगमा ल्याइएको छ । सुरुङलाई धातु तथा काठका आधार संरचनाबाट बलियो बनाइएको छ । उहाँ २५ वर्षभन्दा बढीको अनुभवसहित खानीमा तीन सिफ्टमा काम गर्ने मजदुरको सुरक्षामा खटिनुभएको छ ।

    पुल–ए–खुमरीस्थित खानीका महाप्रबन्धक फरिद अहमद हमनावाका अनुसार सरकारी स्वामित्वको नर्थ कोल कम्पनीले सुरक्षित र प्रभावकारी उत्खननका लागि प्राविधिक उपकरण उपलब्ध गराएको छ । करकर खानीमा मापदण्डअनुसार शतप्रतिशत काम भइरहेको छ भने बघलानका अन्य खानीमा ७० देखि ८० प्रतिशतसम्म मापदण्ड पालना भएको उहाँले बताउनुभयो । यसबाट दुर्घटना रोक्नुका साथै उत्पादन बढाउने लक्ष्य राखिएको छ ।

    नर्थ कोल कम्पनीका इन्जिनियरिङ निर्देशक अब्दुल लतिफ वहाबजाईले उत्तरी अफगानिस्तानका नौवटै कोइला खानी क्षेत्रमा आधुनिक उपकरण र मेसिनरी उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिनुभयो । विगतमा पर्याप्त आधार र सुरक्षात्मक संरचनाविना सुरुङ खन्ने गरिएकामा अहिले प्राविधिक मापदण्डअनुसार धातु र काठका संरचना जडान गरी खानी सुरक्षित बनाइएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार सरकारी स्वामित्वका खानीमा एक हजार ५०० भन्दा बढी मजदुर कार्यरत छन् । ती खानीबाट दैनिक एक हजार २०० देखि एक हजार ५०० टनसम्म कोइला उत्पादन भइरहेको छ । उत्तरी क्षेत्रमा खननलाई थप सुरक्षित र व्यवस्थित बनाउन प्राविधिक सुविधा तथा उपकरण विस्तार गर्ने काम जारी रहेको उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan