हेमजा साहित्य महोत्सव सम्पन्न
कास्की, ६ मङ्सिरः पोखरा महानगरपालिका–२५ हेम्जामा दोस्रो संस्करणको ‘हेमजा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ ।
‘काव्यनगरी’का रुपमा परिचित हेमजामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले शनिबारदेखि सो महोत्सव आयोजना गरिएको थियो ।
हेमजा साहित्य प्रतिष्ठानले साहित्य महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको हो । महोत्सवमा कविता, आख्यान, गैरआख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तकमाथि परिचर्चालगायत कार्यक्रम समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष सुनील गायकले बताउनुभयो ।
‘कविताः अनुभूति र अभिव्यक्ति’ शीर्षकमा साहित्यिक कार्यक्रम, ‘काव्यनगरी हेमजाः साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेलीः लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ शीर्षकमा विमर्श गरिएको थियो । महोत्सवमा देशका विभिन्न स्थानबाट काव्यनगरी पुगेका सर्जकले कविता, मुक्तक र गजल वाचन गर्नुभएको थियो ।
साहित्य महोत्सव समापन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले सडक, खानेपानी, पूर्वाधार विकास जस्तै साहित्य, भाषा, कला संस्कृतिको विकास गर्नुपर्ने दायित्व र जिम्मेवारी स्थानीय सरकारको रहेको बताउनुभयो ।
उहाँले पोखराको कला–संस्कृतिको संरक्षण र संवर्द्धनका लागि महानगरले प्रज्ञा–प्रतिष्ठान गठन गरेर काम गरिरहेको बताउँदै काव्य नगरी घोषणा गरिएकामा खुसी व्यक्त गर्नुभयो ।
“काव्य नगरी घोषणापछि हेमजा साहित्यका लागि जानैपर्ने गन्तव्य भएको छ । अब काव्य र साहित्यको वरिपरि नहिँडी सुखै छैन । घोषणाअनुसार विकासका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुहोला, महानगर साथमा छ”, प्रमुख आचार्यले भन्नुभयो ।
कवि एवं भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले हेमजामा जन्भिएर पोखरालाई चिनाउनका लागि महत्वपूर्ण ‘प्राकृत पोखरा’ काव्य दिनुभएको र जीवनको उत्तरार्थसम्म सिर्जनामा लागि परेर साहित्यको उन्नयनमा योगदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई महोत्सवले उजागार गरेको बताउनुभयो । “हेमजाको साहित्यिक गरिमा, प्राकृतिक सौन्दर्य र सिर्जनात्मक सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन र थप स्थापित गर्न धेरै सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।
महोत्सव संयोजक कृष्णप्रसाद पौडेलले समग्र हेमजाको साहित्यिक पहिचान, सामाजिक गौरव र सांस्कृतिक समृद्धिसँग जोडिएको साझा अभियानका रुपमा महोत्सव आयोजना गरिएको बताउनुभयो । सो अवसरमा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायको अभिनन्दन ग्रन्थ तथा हिमशिखरको २७ औँ अङ्क लोकार्पण गरिएको थियो ।
