दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
कर्णाली, १३ मङ्सिर: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ ।
हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन ।
सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताउनुभयो ।
पदक तालिकामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रो स्थानमा छ । एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ ।
यसैगरी, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल (एपिएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेस प्रदेशले भने दुई कास्य पदकमात्र प्राप्त गरेको छ । कर्णालीको पदक सङ्ख्या शून्य छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए ।
नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गर्दा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
आज मङ्सिर १३ गते दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
