इञ्जिनीयर यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ लोकापर्ण
काठमाडौँ, १०, साउनः इञ्जिनीयर महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तकको आज लोकार्पण भएको छ । माया पब्लिकेसन्सद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको जलस्रोत’ विमोचन गर्नुभएको हो ।
पुस्तक ‘नेपाल्स वाटर रिसोर्सेस’ शीर्षकमा अङ्ग्रेजी संस्करण पनि प्रकाशन गरिएको छ । आज दुवै संस्करणको विमोचन गरिएको हो । पुस्तकमा नेपालको जलस्रोत विकासका ढाँचा र जलवायु परिवर्तनको युगका उदयीमान चुनौतीहरू समेटिएका छन् ।
अध्यक्ष यादवले नेपालको जलस्रोतका क्षेत्रमा भएका स्रोतसाधनको भरपुर उपयोग गरी यसलाई समृद्धि र विकासमा लान सक्नुपर्ने बताउँदै हरेक सरकारले यसमा ध्यान दिन सक्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री गणेश शाह, लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासे, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका पूर्वसचिवहरू महेन्द्रनाथ अर्याल, डा द्ववारिकानाथ ढुङ्गेल, ऊर्जा विज्ञ रत्नेश्वरलाल कायस्थलगायत वक्ताले पुस्तकको विशेषता र नेपालको जलस्रोतको सम्भावनाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो ।
