Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनता राजा बनुन्, राजाहरू सेवक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार | राजन कार्की
newsabhiyan

काठमाडौं । यही हो जेन–जीको ज्यान गएपछि आएको शासन !! यही हो, जेनजीको रगत बगेर आएको शासन !! सय दिन नाघ्योे, विवादै विवाद छन् ।

सडकदेखि संसदसम्म सरकारको विरोधै विरोध छ । पुरानाले नयाँलाई सिकाउने, सघाउने, सही मार्ग देखाउने काम गरेनन्, गरुन् पनि कसरी ?

जसले झण्डै ४ दशक शासन सत्ता हाँके, तिनले नीति, नैतिकता, सिद्धान्त सबै स्वार्थको आगोमा चरु होमे झैं होमे । नयाँ पुस्ता शासनमा छ, उसलाई राजनीतिक जालझेलको अनुभव छैन, नियतमा शंका पनि छैन तर बुढापुराना राजनीतिक नेताहरू नयाँलाई खुइल्याउन कम्मर कसेर लागेका छन् ।

भाष्य प्रचारित छ, नयाँले केही गर्न सक्दैनन् । प्रतिशोध साँध्ने काम मात्र गरेका छन् । यही भाष्यलाई न्यायालय र प्रशासक, पुरानाले भर्ना गरेका संवैधानिक निकायका पदाधिकारी र राष्ट्र चुसेर जुकाझैं ढाडिएकाहरू रास्वपालाई असफल पार्न र प्रम बालेन शाहलाई निकम्मा सावित गर्न न्वारानदेखिको बल लगाइरहेका छन् ।

हो, रास्वपालाई प्राप्त जनादेशका कारण रास्वपा जब्बर छ । प्रम बालेन शाहलाई कुनै विपक्षीले हल्लाउन पनि सक्दैन । यसकारण त, विपक्षीहरू प्रम बालेन शाहलाई राष्ट्रघातीको स्याल हुइया चलाइरहेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठग भनेर हल्लाखल्ला गरिरहेका छन् ।

रास्वपाभित्र अमिलो निचोरेर रास्वपाको एकता फटाउने प्रयत्न भइरहेको छ । गल्ती रास्वपाले गरेको छ, कमजोरी बालेन सरकारको छ । हिम्मत जतिसुकै प्रशंसा योग्य भए पनि बालेन सरकारले दलाई लामाले दिएको शुभकामनालाई महत्व दिनु हुन्थेन ।

दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिँदा फ्रि तिब्बतवालाहरू सलबलाउन पुगे । जसले चीनको मनमा चिसोपस्यो, नेपालको एक चीन नीति देखावटी हो कि भन्ने शंका पनि उठायो । भारत सरकारले प्रम बालेन शाहको विदेश भ्रमण नगर्ने अडानलाई अहंकार सम्झ्यो ।

सीमा बारेमा बेलायतलाई मध्यस्थता गराउने खोजेकोमा आक्रोसित बन्यो र भारतका गोदी मिडियामार्फत् बालेन शाह र रास्वपाविरुद्ध वातावरण तयार गराउने प्रयत्नलाई जोडबल लगाएको देखिन्छ । गान्धी भन्थे–शासन र सहरको भव्यता गरीबको रगतले किनिएको हुन्छ ।

हिजोका सत्ताधारी हुन् कि आजका, तिनले भोग गरेका सुख सुविधा, सानसौकत गरीबकै रगतले किनिएको हुन्छ । यिनका नाममा रहेका महल, गाडी, बैंक व्यालेन्स, सम्भ्रान्त जीवनशैली पनि गरीबले तिरेको कर हो । शासक प्रशासकले लगाएको फेसन र मिठ्याएको जिब्रोको स्वाद गरीब निचारेकै झोल हो ।

शेक्सपियरको एउटा भनाई प्रख्यात छ– पापले साहसी बनाउँदैन । यी जो छन् उही कुडाकरकट छन्, जो नयाँ केही गर्न सक्दैनन्, यी सबै कायर हुन् ।

अर्थात् आफूमाथि जनताले गरेको कारवाहीलाई विषयान्तर गराउँदै जेनजी बिद्रोहबाट आएको बालेन सरकार र रास्वपाको जितलाई भ्रष्टाचार र प्रतिशोधको लेपन लगाउन थालेको छ ।

हो, हिजोका डामिएका पुराना र आजका कछुवा गतिका नयाँ पुस्ता कस्तो देखियो भने बुहारी सबैलाई चाहिएको छ, छोरी जन्माउन चाहदैनन् भने जस्तै तीतो सत्य हो ।

शीतलमा बस्नका लागि रूख त रोप्नैपर्छ तब न भञ्ज्याङ्मा चौतारी हुन्छ । नदीनाला बेचेर, चुरेदेखि समतलमा सिमेन्टका महल ठड्याएर अथवा गाई मारेर डेरीको उत्पादनलाई कृषि विकास भन्नेहरू नैतिकता र नीतिमा समेत चिप्लिएका छन् ।

जो नीति र सोचमा चिप्लिन्छन्, तिनीहरूको जीवन नै काई लागेको ढुङ्गा र लाई लागेको काउली हो । एउटा दुर्घटना हो, अर्काे महारोग । नेपालका सन्दर्भमा दुर्घटना र महारोग दुबै ज्यानको जोखिम हो । नयाँ पुस्ता जोखिम नहुन्, दुर्घटनाबाट देश र जनतालाई बचाउन् भन्ने जनआशा र भरोसा हुन् ।

नयाँ पुस्ताले स्वर्गजस्तो बनाएको हो, अणुवमले बिनास भएको । अत्याचारले बिनासलीला देखिएको इजरायल अन्ततः हरियाली बन्यो ।

इजरायलका बैज्ञानिक प्रा.दनियल शक्चमन नेपाल आएर फर्कदा स्वर्गजस्तो नेपाल सम्पन्न मुलुक हो तर नेताहरूमा इमान र नैतिकता रहनेछ भनेर थक्क थक्क मान्दै फर्किएको धेरै भएको छैन ।

नभन्दै इमान नभएकाहरूलाई जनताले किनारा लगाइदिएका छन् । नयाँ पुस्ताको काँधमा नेपाल निर्माणको जिम्मेवारी सुम्पेका छन् ।

नयाँहरू हरतरहका षडयन्त्रबाट सावधान भएर एकढिक्का भएर द्रुत तर गतिमा निर्माणमा, सुधारमा लागे भने आज जुन प्रकारको असफलताको बाढी देखाइएको छ, अमानवीयताको हिलो छ्यापिएको छ, नयाँ पुस्ताले धेरै नयाँ गर्नसक्छ । हरेक भ्रमको जालोलाई चिर्न सक्छ ।

सुशासन र भ्रष्टाचारको अन्त्य, सोच र जिम्मेवारी बोधले गर्ने हो भन्ने कुरा हिजोको नेताको भेजामा घुसेन । आजका पुस्तामा घुसेको छ, निर्णय र कार्यान्वयनमा देखिएको ढिलासुस्ती र विपक्षीको धरापलाई चिनेर अघि बढ्न जरुरी छ ।

भारतका पहिलो प्रधानमन्त्री नेहरू,राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले पदको दुरूपयोग गरेनन्, सरलता र सहजता छाडेनन्, सधंै बिधिमा चले । गान्धी चर्खामै बाँचेर भारतका बापु बनेर अमर छन् । त्यस्ता हुन्छन् राजनेता ।

झल्को बालेन शाहले दिएका छन्, उनी आफै प्रमाणित हुनु जरुरी छ । सबैमा अहिले पनि विश्वास छ, बालनेले केही गर्छन् । रास्वपाका सभापति रवि लामिछानेले भनेकै हुन्–आमा, बालेनले देश बनाउँछ । प्राचीन मगध साम्राज्य जसरी भययुक्त र हाहाकारमय थियो,  हाम्रो देश त्यस्तै भय र हाहाकारयुक्त चित्कार भोगिरहेको छ ।

जनताका प्रतिनिधिहरू मगधका राजा महानन्दजस्ता बिलासी, अनाचारी, दुराचारी, अत्याचारी, सुरा–सुन्दरी, सम्पत्ति र सत्तामा लिप्त छन् । जनता बाँच्ने आधारको हाहाकार भोगिरहेछन् ।

जनयुद्ध र जनआन्दोलनपछिको संघीय गणतन्त्रात्मक व्यवस्था अर्थात बसन्त परिवर्तन भनिएको व्यवस्थाले चाणक्य होइन, भुस्याह कुकुरले झंै एैक बेतमा धेरै छाउरा पाएजसरी बग्रेल्ती चण्डालहरू पो जन्मायो ।

जुन मुलुकमा भ्रमको राजनीति हुन्छ र राजनीति ब्वाँसो र स्याल नीतिमा चल्छ, त्यो देशमा न्याय महँगो हुन्छ, नागरिक जीवन मूल्यहीन हुनेगर्छ । यही अँध्यारो चिर्न हो रास्वपाले चुनाव जितेको, बालेन शाहको सरकार बनेको ।

नेपालको राजनीति भनेको ओमन, वेल्थ, वाइन र सत्ता भयो । राजनीति भनेको जनताको जनजिविका र राष्ट्रको अस्तित्व सावित गर्ने जिम्मेवारी जेनजीको रगतमा उभिएको बालेन सरकारको हो।  मदन भण्डारीका जबज एमालेले थेग्न सकेन ।

जनयुद्धको बिरासत छाडेर माओवादी नेकपा बन्यो । वीपीको बिरासत कांग्रसले सम्हाल्न सकेन । संवाद, सहमति र सहकार्यका साथ बालेन सरकार अग्रसर हुने हो भने रास्वपा र बालेन शाहले देशको कायाकल्प गर्न सक्छन् ।

गरिबी, भोकमरी, शोषण, आर्थिक समानता, यौन शोषण, जातिपाति, रङ्भेदजस्ता बिकृतिको अन्त्यका लागि लडिरहेका पारग्वेका लुगो, बोलिभियाका इभो, ब्राजिलका लुला सिल्भा, भनेज्वेलाका ह्यूगोचाभेज, अष्ट्रियाका जुलियस ब्राउथल, नर्वेका ब्राट्वे बेलायतका अलर्बट कार्थी, स्वीडेनका बर्नट् कार्लसन, फिनलेण्डका पेन्टी, चिलीका लुइस आलाजस्ता नेताको अनुकरण बालेनले गर्नुपर्छ ।

रास्वपा र बालेनको उदय भोकाहरूको भीड हुनसक्दैन । हुनुहुन्न । भाले नबासे पनि विहान हुन्छ, उज्यालो नयाँ दिन सुरु हुन्छ । बालेन र रास्वपा पतन हुन सक्दैनन् भन्ने विश्वास गरौं  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan