Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः टिमुरेदेखि चितवनसम्मको प्रतिकार्य प्रयास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | अशोक घिमिरे/रासस

काठमाडौँ, १२ भदौः बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा सबैभन्दा बढी प्रभावित भए । बाढीको प्रत्यक्ष असर चितवनसम्मै पुग्यो । मानवीय क्षतिका दृष्टिकोणबाट सिङ्गो मुलुक स्तब्ध छ ।
 
चीनसँगको सीमा नाका, गोसाइँकुण्ड मेला र मानसरोवर जाने मार्गका रुपमा समेत रहेकाले सयौँको सङ्ख्यामा पर्यटक सम्पर्कविहीन हुँदा यस घटना विश्वव्यापी चासोको विषय बनेको छ ।

गत वर्ष पनि ल्हेन्दे खोला हुँदै आएको बाढीले जनधनको क्षति पु¥याएको थियो । तर यस वर्षको बाढी गत वर्षको भन्दा कयौँ गुणा शक्तिशाली भएकाले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ ।

बाढीग्रस्त क्षेत्रमा अहिले प्रभावितको उद्धार, हराइरहेका नागरिकको खोजी तथा उद्धार गरिएका व्यक्तिको पुनःस्थापना भइरहेको छ ।

मुख्य प्रभावित जिल्लामा विपद् प्रतिकार्यमा के–कस्ता गतिविधि भइरहेका छन् ? यसैसन्भर्दमा राष्ट्रिय समाचार समिति (रासस) ले त्यस क्षेत्रका सांसद र सरकारी अधिकारीसँग गरेको संक्षिप्त कुराकानीः
 
‘टेलिफोन सेवा अवरुद्ध भएकाले उद्धार र राहतमा कठिनाइ’
मोहन आचार्य, प्रतिनिधिसभा सदस्य, रसुवा
 
आकस्मिकरुपमा आएको बाढीबाट मुलुकको उत्तरतर्फको व्यापारिक नाका रहेको रसुवाको टिमुरे, रसुवागढी, घट्टेखोला, स्याफ्रुबेँसी, हाकुवेसी, मैलुङ, खाल्टेबस्ती र बेत्राबती बजारमा ठूलो क्षति पुगेको छ ।

बाढीबाट जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्बो, कालिका र उत्तरगया पालिकाका तटीय क्षेत्रका बजार र बस्ती नराम्ररी प्रभावित भएका छन् । अहिले बाढीमा फसेका नागरिकको उद्धार तथा हराइरहेका व्यक्तिको खोजी गर्ने काम भइरहेको छ ।

जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएकाले उद्धार र राहतमा कठिनाइ देखिएको छ । उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने काम जारी छ ।

बाढीबाट त्यहाँहस्थित सरकारी कार्यालयका केही कर्मचारी, सुरक्षाकर्मी, रसुवा घुम्न पुगेका पर्यटक, गोसाइँकुण्ड मेला भर्न पुगेका धार्मिक तीर्थालु, रसुवागढी नाकामा मालसामान लिन पुगेका व्यापारी तथा ट्रक तथा कन्टेनरका चालक÷सहचालक र जलविद्युत् आयोजनाका मजदुर हराइरहेको अनुमान छ । बाढीले सडक पूर्वाधारमा पनि ठूलो क्षति पु¥याएको छ ।
 
‘बाढीले राष्ट्रिय राजमार्ग जोड्ने तीन पुल बगायो’
नेत्रप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, गोरखा
 
बाढीबाट गोरखाको भूगोलमा मानवीय क्षति भएका छैन । धार्मिक यात्राका लागि रसुवातर्फ गएका केही नागरिक हराइरहेको भन्ने सूचनाका आधारमा विवरण सङ्कलनको काम जारी छ । बाढीबाट राष्ट्रिय राजमार्ग जोड्ने तीन वटा पुल बगेको छ । बजार र घर बस्तीमा क्षति छैन ।

गण्डकी गाउँपालिकाको धवादीघाटबाट धादिङको चरौदी र सोही गाउँपालिका–७ मा इटारबाट धादिङको चौकीटार जोड्ने पक्की पुल बगाएको छ । यस्तै बाढीबाट सहिदलखन गाउँपालिका–३ स्थित सिलिङटारबाट चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुलमा पूर्ण रुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक जारी छ । बाढीले बगाएर ल्याएका शवको व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ ।
 
‘तनहुँमा फेला परेका नौ शव गण्डकी अस्पतालमा’
शिवलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी, तनहुँ
 
हिजो बिहानैदेखि पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको थियो । तनहुँमा मानवीय भौतिक क्षति छैन । बाढीले बगाएर ल्याएका नौ वटा शव पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ । आज बिहानैदेखि सुरक्षाकर्मीले तटीय क्षेत्रमा खोज तथा उद्धार जारी राखेका छन् । केही शव भेटिएका छन् । मुचुल्का गरेर ती शव अस्पतालमा पठाइनेछ ।
 
‘शव जोगाउन चुनौती थपिएको छ’
चिरञ्जीवी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, चिवतन
 
चितवनमा अहिलेसम्म बाढीले बगाएर ल्याएका ६७ शव फेला परेका छन् । शव सङ्कलन गर्ने र नबिग्रने गरी राख्ने प्रक्रिया अघि बढाइएको छ । फेला परेका शव भरतपुर अस्पताल र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ । शवको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनका लागि चुनौती देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan