भोटेकोशी बाढीमा परेकाको उद्धारकार्य जारी
रसुवा, ११ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीबाट घाइते भएकाहरुको नेपाली सेनासहित सुरक्षा निकायको समन्वयमा उद्धारकार्य जारी रहेको छ ।
बाढी प्रभावित क्षेत्रबाट आज बिहान ५० को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक जनाको निधन भएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।
उद्धारमा नेपाली सेनाको दुई, निजी क्षेत्रको हेली कैलाश, एभरेष्ट, हेली फिस्टेल, प्रभ, सिम्रिक, एल्टिच्युड हेलिकप्टर परिचालित भएका छन् ।
अधिकारीले हालसम्मको विवरणमा २८ नेपाल प्रहरी, दुई नेपाली सेना, १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको बताएका छन् ।
बाढीबाट चिलिमे जलविद्युत् आयोजनामा कार्यरत पाँच जना अझै सुरुङमा फसेका छन् । रसुवागढीमा कार्यरत कति कर्मचारी कार्यरत थिए कति बेपत्ता भन्ने अहिलेसम्म यकीन भएको छैन ।
बाढीबाट बेत्रावती टिमुरे, मैलुङका घर तथा प्रहरी र स्वास्थ्यको पूर्वाधार तथा सडक पूर्वाधार क्षतिग्रस्त भएका छन् ।
