नेपाली प्रतिभाको अमेरिकामा नयाँ उडान : अरुणा अधिकारीले खोलिन् ‘काइरोस हेलिक्स’, क्लिनिकल अनुसन्धानमा एआई क्रान्तिको तयारी
काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा ‘काइरोस हेलिक्स’ नामक क्लिनिकल प्रविधि कम्पनी स्थापना गरेकी छन् ।
जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट उत्पादन हुने विशाल ज्ञानलाई संकलन, एकीकृत र भविष्यका अनुसन्धानमा प्रभावकारी रूपमा प्रयोग गर्ने उद्देश्यसहित कम्पनी अघि बढाइएको हो ।
क्लिनिकल ट्रायलका क्रममा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांकदेखि विशेषज्ञका निर्णयसम्म ठूलो मात्रामा सूचना उत्पादन हुन्छ ।
तर, यस्ता महत्त्वपूर्ण ज्ञान विभिन्न प्रणाली र संरचनामा छरिएर रहने हुँदा अनुसन्धानकर्ता तथा संस्थाहरूलाई विगतका अध्ययनबाट सिकेर त्यसलाई नयाँ अनुसन्धानमा प्रयोग गर्न चुनौती हुँदै आएको छ ।
यही समस्यालाई प्रविधिमार्फत समाधान गर्ने लक्ष्य काइरोस हेलिक्सले लिएको अधिकारीको भनाइ छ ।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीको संयोजन गर्दै क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको छ ।
अधिकारीका अनुसार क्लिनिकल अनुसन्धानमा वर्षौँदेखि जम्मा हुँदै आएका तथ्यांक र अनुभवलाई केवल ‘रेकर्ड’का रूपमा थन्क्याएर राख्ने होइन, त्यसलाई आगामी अनुसन्धानको निर्णय प्रक्रियामा उपयोग गर्न सकिने अवस्थामा पुर्याउनु कम्पनीको मुख्य लक्ष्य हो ।
अमेरिकाबाट सुरु भएको यो प्रविधियात्राले नेपाली मूलका प्रतिभाले विश्वस्तरीय जीवन विज्ञान तथा प्रविधिको क्षेत्रमा बनाइरहेको उपस्थितिलाई समेत उजागर गरेको छ ।
काइरोस हेलिक्सले छोटो समयमै २५ सदस्यीय टोली गठन गरिसकेको छ । कम्पनीको विस्तारसँगै क्लिनिकल अनुसन्धानमा एआईको प्रयोगमार्फत अनुसन्धान प्रक्रिया अझ व्यवस्थित, तथ्यमा आधारित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
अधिकारी नेपालको काठमाडौं स्थित थापागाउँबाट अमेरिका तर्फ लाग्नुभएको हो ।
