थाचीविरुद्ध युद्ध अपराध मुद्दाको फैसला हुँदै
प्रिस्टिना (कोसोभो), ३१ भदौ : कोसोभोका पूर्वराष्ट्रपति हाशिम थाची र तीन पूर्वगुरिल्ला नेताविरुद्धको युद्ध अपराध मुद्दामा बुधबार नेदरल्यान्ड्सको हेगस्थित विशेष अदालतले फैसला सुनाउँदैछ ।
तीन वर्ष लामो सुनुवाइपछि सन् १९९८–१९९९ को सर्बियासँगको युद्धका क्रममा युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा उहाँहरूको आपराधिक जिम्मेवारी रहे–नरहेकोबारे निर्णय हुनेछ ।
अभियोजन पक्षले थाचीसहित जाकुप क्रास्नीकी, रेक्सप सेलिमी र काद्री वेसेली प्रत्येकलाई ४५ वर्ष जेल सजाय मागेको छ । चारै जनाले आफू निर्दोष रहेको बताउनुभएको छ ।
थाची कोसोभोको स्वतन्त्रता आन्दोलनका प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो र सन् २००८ मा स्वतन्त्रता घोषणा हुँदा महत्त्वपूर्ण भूमिकामा रहनुभएको थियो ।
फैसला आउनुअघि राजधानी प्रिस्टिनामा दशौँ हजार मानिसले चारै जनाको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए । प्रधानमन्त्री अल्बिन कुर्टीले कोसोभोको युद्ध स्वतन्त्रताका लागि न्यायपूर्ण युद्ध भएको बताउँदै केएलएका नेताहरू स्वतन्त्र रूपमा परिवार र देशमा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।
कोसोभो विशेषज्ञ च्याम्बर्स (केएससी) कोसोभोको कानूनअन्तर्गत अन्तर्राष्ट्रिय न्यायाधीशबाट सञ्चालित विशेष अदालत हो ।
अदालतले कोसोभो र अल्बानियास्थित केएलएका हिरासत केन्द्रमा भएका भनिएका अपराध तथा सर्ब, अल्बानियन र रोमा समुदायका नागरिकको राजनीतिक उद्देश्यले गरिएको भनिएको हत्यामा चारै जनाको जिम्मेवारी रहेको अभियोजन पक्षको दाबी छ । कोसोभो युद्धमा करिब १३ हजार मानिसको मृत्यु भएको बताइएको छ ।
अभियुक्तका वकिलहरूले भने केएलएमा कडा कमान्ड संरचना नरहेको र वरिष्ठ नेताहरूले लडाकूका गतिविधि नियन्त्रण गर्न नसक्ने तर्क गरेका छन् ।
अदालतप्रति कोसोभोमा सुरुदेखि नै असन्तुष्टि रहँदै आएको छ । सर्बियाबाट प्राप्त प्रमाण प्रयोग गरिएको विषयमा अदालत राजनीतिक रूपमा पक्षपाती भएको आरोपसमेत लाग्दै आएको छ ।
युद्ध अपराध मुद्दाको फैसलापछि पनि थाचीले न्यायमा बाधा पु¥याएको आरोपमा अर्को मुद्दाको सामना गर्नुपर्नेछ । सन् २०२० मा अभियोग लागेपछि राष्ट्रपतिबाट राजीनामा दिनुभएका उहाँ त्यसयता हेगस्थित हिरासतमा रहनुभएको छ ।
