फोटो पत्रकारको क्यामेराले विपद्को पीडा मात्रै कैद गरेन, सहयोगको हात पनि बढायो एनएफपिजे नेपालद्धारा राहत कोषमा आर्थिक सहयोग
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपदबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ७७ हजार ७ सय ७७ आर्थिक सहयोग गरेको छ।
एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा संस्थाका पदाधिकारी तथा सदस्यहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई उक्त सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्यहरुले आफ्नो खाजा खर्चसमेत कटाएर रकम संकलन गरी सहयोग गरेका हुन्। आफूले कमाएको आम्दानीबाट केही रकम छुट्याएर पीडितका लागि सहयोग गर्ने फोटो पत्रकारहरूको यो प्रयासले मानवीय संवेदना र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ।
एनएफपिजे नेपालका अध्यक्ष वन्तले सहयोग रकम आर्थिक हिसाबले ठूलो नदेखिए पनि यसको पछाडि रहेको भावना महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विपद्मा परेका नागरिकप्रति सहानुभूति, ऐक्यबद्धता र अपनत्व प्रकट गर्दै ‘सक्नेले सकेको सहयोग गरौं’ भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्मा पीडितको आँसु क्यामेरामा कैद गर्नु मात्र हाम्रो जिम्मेवारी होइन, सम्भव भएसम्म उनीहरूको दुःखमा साथ दिनु पनि हाम्रो मानवीय दायित्व हो।”
एनएफपिजे नेपालले स्थापना कालदेखि नै फोटो पत्रकारहरूको पेशागत हकहितसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न मानवीय तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ। प्राकृतिक विपद्, दुर्घटना तथा अन्य संकटका समयमा फोटो पत्रकारहरू प्रत्यक्ष फिल्डमा पुगेर घटना अभिलेखीकरण गर्नुका साथै राहत तथा सहयोगका अभियानमा समेत जोडिँदै आएका छन्।
पछिल्लो समय नेपालका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्का घटनामा फोटो पत्रकारहरूले जोखिम मोलेर घटनास्थलमा पुग्दै उद्धार, राहत र पीडितको अवस्थालाई विश्वसामु पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरूले क्यामेरामार्फत विपद्को वास्तविक तस्वीर मात्र प्रस्तुत गरेका छैनन्, पीडितको आवाज सम्बन्धित निकाय र समाजसम्म पुर्याउने कामसमेत गर्दै आएका छन्।
एनएफपिजे नेपालका वरिष्ठ अध्यक्ष सागर श्रेष्ठले विपद्का समयमा फिल्डमा प्रत्यक्ष खटिएका फोटो पत्रकारहरूले पीडित नागरिकको अवस्था नजिकबाट देख्ने र अनुभूति गर्ने भएकाले उनीहरूमा मानवीय संवेदना अझ गहिरो हुने बताउनुभयो।
उहाँका अनुसार, “हामीले विपद्का दर्दनाक दृश्यहरू धेरैपटक क्यामेरामा कैद गरेका छौँ। ती दृश्यले हामीलाई केवल समाचार बनाउन होइन, दुःखमा परेका मानिसका लागि केही गर्न पनि प्रेरित गर्छन्। त्यसैले आफ्नै खाजा खर्च कटाएर भए पनि सहयोग गर्ने भावना फोटो पत्रकारहरूमा जागेको हो।”
सहयोग रकम हस्तान्तरणका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. तिमिल्सिनाले विपद्को दुःखद घडीमा फोटो पत्रकारहरू एकताबद्ध भएर मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले संस्थागत रूपमा अघि बढेर सहयोग गरेकोमा एनएफपिजे नेपालका पदाधिकारी तथा सम्पूर्ण फोटो पत्रकारप्रति आभार व्यक्त गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
सहयोग रकमभन्दा ठूलो भावना
एनएफपिजे नेपालको यो सहयोगलाई केवल ७७ हजार ७ सय ७७ रुपैयाँको आर्थिक सहयोगका रूपमा मात्र हेर्न नहुने सरोकारवालाहरू बताउँछन्। आफ्नै दैनिक खर्चबाट रकम बचाएर पीडितका लागि सहयोग गर्नुले सानो योगदान पनि ठूलो मानवीय सहयोग बन्न सक्छ भन्ने सन्देश दिएको छ।
विपद्को समयमा सरकार, संघसंस्था वा सीमित व्यक्तिको मात्र जिम्मेवारी नभई हरेक नागरिकले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने आवश्यकता रहेको एनएफपिजे नेपालको भनाइ छ।
आज कसैको घर बाढीले बगाएको हुन सक्छ, कसैको परिवार विपद्मा परेको हुन सक्छ र कसैलाई उपचार, खाना वा बसोबासका लागि सहयोगको आवश्यकता हुन सक्छ। यस्तो अवस्थामा हामीले गर्ने सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो आशा बन्न सक्छ।
हामी सबै सुरक्षित भएर बसिरहँदा कुनै परिवार विपद्को पीडामा छ भने, उनीहरूको पीडा हाम्रो पनि पीडा हो। त्यसैले सकेको सहयोग गरौं, अरूलाई पनि सहयोग गर्न प्रेरित गरौं।
एनएफपिजे नेपालले आफ्नो यो अभियानमार्फत “मानवता नै सबैभन्दा ठूलो धर्म हो, विपद्मा एकअर्काको साथ नै सबैभन्दा ठूलो शक्ति हो” भन्ने सन्देश दिएको छ।
फोटो पत्रकारको क्यामेराले समाजको यथार्थ देखाउने काम गर्छ। तर आज त्यही क्यामेरा बोकेका हातहरूले राहतका लागि सहयोगको हात पनि अगाडि बढाएका छन्। यही भावना विस्तार गर्न सके विपद्मा परेका नागरिकलाई राहत मात्र होइन, समाजमा आशा र भरोसासमेत दिन सकिन्छ।
मनकारी मन र सहयोगि हातहरुलाई सलाम ।
