Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरान युद्धमा आठ देशका सैन्य अधिकारीको बैठक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस/एएनआई)

वासिङ्टन, ३१ भदौ : इरानसँग जारी युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे छलफल गर्न अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा गोप्य बैठक गरेका छन् ।

सहभागी सरकारहरूले सार्वजनिक नगरेको उक्त बैठक यस किसिमको पहिलो उच्चस्तरीय सैन्य भेला भएको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको आयोजनामा भएको बैठकमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, कतार, जोर्डन र इजिप्टका वरिष्ठ सैन्य अधिकारी सहभागी थिए ।

अमेरिकी सेन्ट्रल कमान्डले मध्यपूर्वमा क्षेत्रीय सुरक्षा सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको पुष्टि गरेको छ ।

समाचार संस्था एक्सियोसका अनुसार एडमिरल कुपरले इरानबाट अमेरिकी सैन्य आधार लक्षित आक्रमण भइरहे पनि मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता गर्ने योजना नरहेको बताउनुभएको थियो ।

उहाँले हर्मुज जलघाँटी हुँदै समुद्री यातायात बढाउने अमेरिकी रणनीतिबारे समेत जानकारी गराउनुभएको थियो । इजरायली रक्षा बलका प्रमुख जनरल इयाल जमिरले विभिन्न मोर्चामा जारी सैन्य कारबाहीबारे जानकारी दिनुभएको थियो ।

सन् २०२० को अब्राहम सम्झौतापछि इजरायल र केही अरब राष्ट्रबीच विशेषगरी हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा सैन्य सहकार्य विस्तार भएको छ । इजरायली अधिकारीका अनुसार युएईमा ‘आइरन डोम’ प्रणाली तैनाथ गर्नुका साथै खुफिया तथा निगरानीसम्बन्धी सहयोगसमेत उपलब्ध गराइएको छ ।

बैठकमा बाब अल–मन्देब जलघाँटीको सुरक्षा र साउदी अरेबियामाथि हुथी समूहका आक्रमणबारे पनि छलफल भएको बताइएको छ ।

एक्सियोसका स्रोतका अनुसार इजरायल, साउदी अरेबिया र अमेरिकी सेन्ट्रल कमान्डबीच हुथीविरुद्ध साउदी सैन्य कारबाहीमा इजरायलको सम्भावित सहयोगबारे समेत संवाद भइरहेको छ । संवादमा खुफिया तथा निगरानी सूचना उपलब्ध गराउने विषय समावेश हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan