Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालेनको यूएन भाषण : ताली, आलोचना र प्रश्नको बीचमा उभिएको नेपालको आवाज

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ९ शुक्रबार | छायाचन्द्र भण्डारी (अन्तर समझ)
newsabhiyan

कसैका लागि आत्मविश्वासको प्रदर्शन, कसैका लागि कच्चो प्रस्तुति—तर बहसको केन्द्रमा नेपाल, जलवायु न्याय र विश्वव्यवस्थाको प्रश्न

काठमाडौं, ९ असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन यतिबेला नेपालको राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म व्यापक बहसको विषय बनेको छ।

कसैले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बुलन्द पार्ने साहसिक प्रस्तुति भनेका छन्, कसैले विषयवस्तु र प्रस्तुतीकरण दुवैमा कमजोरी औँल्याएका छन्।

कसैले प्रधानमन्त्रीको आत्मविश्वासको प्रशंसा गरेका छन् भने कसैले भाषणको शैलीभन्दा त्यसपछि देखिने व्यवहार र परिणाम महत्वपूर्ण हुने प्रश्न उठाएका छन्।

प्रधानमन्त्री शाहले महासभामा नेपालको पछिल्लो विपद्, जलवायु परिवर्तन, जलवायु न्याय, युद्ध र हतियारको व्यापार, खाद्य तथा मल आपूर्ति, हिमालयको संवेदनशीलता, अन्तर्राष्ट्रिय सहकार्य र साना तथा कमजोर मुलुकको आवाजका विषय उठाएका छन्। उनले हालैको भोटेकोशी–त्रिशूली विपद्लाई केवल नेपालको स्थानीय दुःख नभई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। 

उनको भाषणको एउटा मुख्य सन्देश थियो—युद्धका लागि संसारले बनाएको आपूर्ति प्रणाली जति तीव्र छ, त्यति नै प्रभावकारी प्रणाली किसानको मल, इन्धन र जीवनयापनका आधारभूत आवश्यकताका लागि किन बन्न सकेन?

प्रधानमन्त्रीले भनेका छन्, “भुक्तानी गर्न तयार रहेको देशले खरिद गर्न सक्षम हुनुपर्छ र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैन।” उनले बहुपक्षीयतामाथि विश्वास व्यक्त गर्दै साना र गरिब देशहरूको आवाज सुन्ने संयुक्त राष्ट्रसंघ आवश्यक रहेको बताएका छन्। 

यही एउटा वाक्यले अहिलेको बहसको तापक्रम बढाएको छ—बालेनले वास्तवमै विश्वमञ्चमा नेपालको कुरा उठाए कि एउटा भाषण मात्र गरे?

उत्तर एउटै छैन। र यही कारण बालेनको यूएन सम्बोधन अहिले प्रशंसा र आलोचनाको दोहोरो ऐनामा उभिएको छ।

भट्टराईदेखि वास्कोटासम्म : “देशको भावना बोले”
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहको सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुती सही रहेको भन्दै बधाइ दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “प्रधानमन्त्री बालेन शाहको UNGA को सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुती सही छ। शैली र आस्था त सबैको फरक हुनु स्वाभाविक छ! बधाइ!”

अर्थात्, भट्टराईका लागि भाषणको शैलीभन्दा त्यसले बोकेको मूल विषय महत्वपूर्ण देखिन्छ।

एमाले नेता गोकुल वास्कोटाले पनि आफू रास्वपा समर्थक नभएको स्पष्ट गर्दै प्रधानमन्त्रीको सम्बोधनलाई समर्थन गरेका छन्। उनको भनाइमा बालेनले देशको भावना बोलेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्—“प्रधानमन्त्री बालेन शाहको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले—मैले खुसी मनले समर्थन गरेँ।”

यो टिप्पणीले एउटा फरक राजनीतिक सन्देश दिन्छ—कुनै राजनीतिक दल वा व्यक्तिप्रतिको समर्थनभन्दा माथि उठेर अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका राष्ट्रिय मुद्दालाई हेर्न सकिन्छ।

भीम रावल : राज्यका औपचारिक प्रक्रिया र मूल्य–मान्यता जोगाउनुपर्छ
पूर्वगृहमन्त्री एवं नेता भीम रावलले राज्यका औपचारिक प्रक्रिया, मर्यादा र मूल्य–मान्यताको संरक्षण आवश्यक रहेको बताएका छन्।

रावलले राष्ट्रको सलामीदेखि राज्यका नियमित प्रक्रियासम्मका अभ्यासलाई ‘तडकभडक’का रूपमा मात्र बुझ्न नहुने धारणा राखेका छन्।

उनले भने, “राष्ट्रको सलामी लिने र राज्यका प्रक्रियाहरू छन्। संसारको सबै राजनीतिमा हेर्नुस्, राज्यका ती औपचारिक प्रक्रिया समाप्त गरियो भने त्यहीँबाट राज्यको औपचारिकता समाप्त हुन्छ।”

उनले भाषा, पोशाक तथा राज्यका नियमित प्रक्रिया नमान्ने प्रवृत्तिले राज्यका स्थापित मूल्य–मान्यतामाथि असर पार्न सक्ने बताएका छन्। “यो राज्यको व्यक्तित्व र राज्यको मूल्य–मान्यताको संरक्षणको कुरा हो,” रावलले भने।

योगेश भट्टराई : मुद्दा सही, प्रश्न नेपालको प्राथमिकताको
एमाले नेता योगेश भट्टराईले पनि प्रधानमन्त्रीको सम्बोधनमा उठाइएका विषयलाई नेपालको आवश्यकतासँग जोडेर हेरेका छन्।

उनका अनुसार प्रधानमन्त्रीले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको बिक्री र व्यापारिक होडबाजीबाट साना तथा कमजोर मुलुक र नागरिकमाथि परिरहेको दबाबको विषय उठाएका छन्।

त्यसैगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, भविष्यका वैश्विक संकट, जलवायु न्याय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको विषय पनि सम्बोधनमा आएको उनले उल्लेख गरेका छन्।

भट्टराईको निष्कर्ष छ—यी विषय नेपालले विगतदेखि उठाउँदै आएका र अहिले पनि जोड दिनुपर्ने विषय हुन्। “धन्यवाद प्रधानमन्त्रीज्यू!” भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बालेनको पहिरन राष्ट्रको गरिमाअनुकूल हुनुपर्थ्यो : कोइराला
विश्लेषक तथा वरिष्ठ पत्रकार केदारनाथ कोइरालाले प्रधानमन्त्री बालेन्द्र शाहको विश्वमञ्चमा प्रस्तुत हुने पहिरन व्यक्तिगत इच्छाभन्दा राष्ट्रको गरिमाअनुकूल हुनुपर्ने बताएका छन्।

कोइरालाले ‘जे गरे पनि भएन’ भन्ने संस्कृतिको अन्त्य हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री शाहले विश्वमञ्चमा उठाएका अधिकांश विषय भने जायज र सान्दर्भिक रहेको बताएका छन्।

“जे गरे पनि भएन भन्ने संस्कृति गलत छ। बालेनको पहिरन उहाँको व्यक्तिगत इच्छाभन्दा राष्ट्रको गरिमाअनुकूल हुनुपर्थ्यो। उहाँ नेपालका प्रधानमन्त्री हुनुहुन्छ। नेपाल युवा राज्य होइन, यो युगौँयुगदेखि अस्तित्वमा रहेको राष्ट्रिय राज्य हो,” कोइरालाले भने।

उनका अनुसार प्रधानमन्त्रीले विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्दा व्यक्तिगत शैलीसँगै मुलुकको इतिहास, पहिचान र राष्ट्रिय गरिमालाई समेत ध्यान दिन आवश्यक हुन्छ। यद्यपि, शाहले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषयहरू सान्दर्भिक र नेपालको हितसँग जोडिएका रहेको कोइरालाको भनाइ छ।

रविन्द्र मिश्र : “राम्रो लाग्यो”, तर पशुपतिनाथ र बुद्धको प्रश्न पनि उठाए
हिन्दुवादी नेता रविन्द्र मिश्रले प्रधानमन्त्री बालेन शाहको सम्बोधन आफूलाई राम्रो लागेको बताएका छन्।

उनले प्रधानमन्त्रीको पृष्ठभूमि, स्वभाव, छोटो भाषण गर्ने बानी, अन्तर्राष्ट्रिय मञ्चमा पहिलो अनुभव र टेलिप्रम्प्टरको प्रयोगलाई समेत सन्दर्भमा राखेर मूल्यांकन गरेका छन्।

मिश्रका अनुसार विषयवस्तु र प्रस्तुति अझ राम्रो हुन सक्थ्यो। तर समग्र परिस्थितिमा प्रधानमन्त्रीले राम्रो भने र राम्ररी भने भन्ने उनको धारणा छ।

तर भाषणको अन्त्यमा प्रधानमन्त्रीले “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्!” भनेपछि मिश्रले नेपाली समाजको आचरणमाथि व्यंग्य गरेका छन्।

उनले नेपालीहरूले पशुपतिनाथ र बुद्धप्रति देखाउने आडम्बर, भ्रष्टाचार र झूठपूर्ण व्यवहारमाथि प्रश्न उठाउँदै धार्मिक आस्थालाई व्यवहारमा उतार्न नसकेको टिप्पणी गरेका छन्।

मिश्रले नेपाललाई औपचारिक रूपमा “हिन्दु–बौद्ध राष्ट्र” घोषणा गर्नुपर्ने आफ्नो मान्यता पनि दोहोर्‍याएका छन्।

अन्ततः उनले प्रधानमन्त्रीको सम्बोधनलाई “Well Done” भनेका छन्। यद्यपि नेपाली प्रतिनिधिमण्डलले ताली बजाएको दृश्यप्रति भने उनको व्यंग्यात्मक असन्तुष्टि देखिन्छ।

अवकाशप्राप्त उपरथी सुरेश कुमार कार्की : “इतिहासमा सुनौलो अक्षर”
नेपाली सेनाका अवकाशप्राप्त उपरथी सुरेश कुमार कार्कीले भने प्रधानमन्त्रीको सम्बोधनप्रति निकै उत्साहपूर्ण धारणा सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्—“हामीलाई हाम्रो देशको माया छ। Buddha Born in Nepal! Proud of you, PM Balen!” उनका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा स्पष्टता, आत्मविश्वास र गौरवका साथ बोल्नु प्रत्येक नेपालीका लागि गर्वको विषय हो।

उनले प्रधानमन्त्रीलाई साहस, समर्पण र इमानदारीका साथ अघि बढ्न शुभकामना दिँदै अन्त्यमा लेखेका छन्— “इतिहासमा तिम्रो नाम सुनौलो अक्षरले लेखिनेछ!”

साथै उनले प्रधानमन्त्रीको भाषणको अन्तिम सन्देशलाई उद्धृत गर्दै भनेका छन्—“भगवान् पशुपतिनाथले यो विश्वको कल्याण गरून्, बुद्धले देखाएको बाटोमा यो विश्व हिँड्न सकोस्।”

डा. तारा जी : “बोलेर के हुन्छ र?” भन्नेहरूकै स्वर फेरियो?
भाषणकला प्रशिक्षणसँग जोडिएका डा. तारा जीले भने यस बहसलाई अर्को कोणबाट हेरेका छन्। उनले आफूले वर्षौंदेखि सुन्दै आएको आरोप सम्झाउँदै लेखेका छन्—“भाषणले देश बन्छ? बोलेर के हुन्छ र? मान्छेलाई बोल्न होइन खेत खन्न सिकाउनुस् तारा जी।”

तर अहिले सामाजिक सञ्जालमा बालेनको भाषणको प्रशंसा भइरहेको देख्दा उनले प्रश्न गरेका छन्—बोलेर केही हुँदैन भन्नेहरूले पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले दमदार ढंगले आवाज उठाउँदा त्यसको महत्व स्वीकार गरेनन् र?

उनको टिप्पणीको मूल आशय छ—अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा बोल्ने कला पनि महत्वपूर्ण हुन्छ।

तर उनले अन्त्यमा स्पष्ट गरेका छन्—“बालेनको भन्दा नि आफ्नै कामको प्रशंसा गरेको हो है। हामी भाषण कला सिकाउँछौँ, आउनुस् है सिक्न।”

फणीन्द्र नेपाल : “विश्वलाई देखाउन लायक प्रधानमन्त्री!”
फणीन्द्र नेपालले प्रधानमन्त्री शाहलाई “विश्वलाई देखाउन लायक प्रधानमन्त्री” र “गर्व गर्न लायक हाम्रा प्रधानमन्त्री” का रूपमा टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्रीको प्रस्तुतीकरणमा पज, बोल्डनेस र एक्सप्रेसनमा अझ ध्यान पुगेको भए भाषण विश्वका उल्लेख्य भाषणमध्ये पर्न सक्ने धारणा राखेका छन्।

उनका अनुसार जबर्जस्त आत्मविश्वास, धाराप्रवाहता र स्पष्टता प्रधानमन्त्रीका विशेषता देखिएका छन्।

तर आलोचनाको आवाज पनि कमजोर छैन
सबै आवाज प्रशंसामा मात्र छैनन्। विश्लेषक रतन भण्डारीले प्रधानमन्त्रीको सम्बोधनमा प्रयोग भएको “युवा राष्ट्र” र हिमालयलाई “अन्तर्राष्ट्रिय प्रयोगशाला” बनाउने प्रस्तावप्रति गम्भीर प्रश्न उठाएका छन्।

उनका अनुसार हजारौँ वर्ष पुरानो सभ्यता बोकेको नेपाललाई ‘यङ नेसन’ भन्नु र सार्वभौम हिमालयलाई अन्तर्राष्ट्रिय प्रयोगशालाका रूपमा प्रस्तुत गर्नु आपत्तिजनक हुन सक्छ।

यो उनको व्यक्तिगत विश्लेषण हो, जसले भाषणको शब्द चयन र कूटनीतिक अर्थबारे फरक बहस जन्माएको छ।

वातावरण पत्रकार रमेश भुसाल : “भाषणचाहिँ भएन प्रधानमन्त्रीजी”
वातावरण पत्रकार तथा वातावरण विज्ञानमा स्नातकोत्तर रमेश भुसालले प्रधानमन्त्रीको सम्बोधनप्रति निकै कडा आलोचना गरेका छन्।

उनले आफूले प्रधानमन्त्रीको भाषणबाट निकै अपेक्षा गरेको तर सम्बोधन “निकै कच्चो” लागेको बताएका छन्। उनको आलोचना विषयवस्तु मात्र होइन, प्रस्तुतिकरणमा पनि छ।

उनका अनुसार भाषणमा आवश्यक ठाउँमा पज थिएन, महत्वपूर्ण शब्दमा पर्याप्त स्ट्रेस थिएन र दुःखका विषयमा अपेक्षित भावसमेत सुनिएन।

उनले प्रश्न गरेका छन्—“डेलिभरी र कन्टेन्ट दुबै उत्तिकै कमजोर” भए भाषणको प्रभाव कति रहन्छ?

भुसालले आलोचनासँगै सामाजिक सञ्जालमा उनलाई गाली नगरी आफ्नो धारणा सुनाउन आग्रहसमेत गरेका छन्।

अनिल गिरीको व्यंग्य : “स्कुलको वक्तृत्वकला प्रतियोगिता शैली”
पत्रकार अनिल गिरीले प्रधानमन्त्रीको सार्वजनिक व्यवहारसँग जोडेर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

उनका अनुसार संसदमा कम बोल्ने, जनतासँग अन्तरक्रिया नगर्ने, मिडियासँग कुराकानी नगर्ने र सार्वजनिक कार्यक्रममा कम देखिने प्रधानमन्त्रीका कारण देशभित्र उनको सार्वजनिक प्रस्तुतीबारे एउटा कौतूहल थियो।

गिरीले व्यंग्य गर्दै आम मानिसमा यस्तो प्रश्नसमेत रहेको बताएका छन्—कतै प्रधानमन्त्री जुरुक्क उठेर हिँड्ने हुन् कि, दाह्री सुम्सुम्याएर बस्ने हुन् कि, बोल्नै नसक्ने हुन्?

तर अन्ततः प्रधानमन्त्रीले टेलिप्रम्प्टर हेर्दै “स्कुल कलेजमा हुने वक्तृत्वकला प्रतियोगिता” शैलीमा बोलेको उनको व्यंग्यात्मक टिप्पणी छ।

उनको निष्कर्ष भने स्पष्ट छ—धेरैको शंका र डरअनुसार भएन, प्रधानमन्त्री बोले।

दिल निशानी मगर : भाषण होइन, उठाइएका मुद्दा महत्वपूर्ण
पत्रकार दिल निशानी मगरले भने प्रधानमन्त्री भाषण गरेर प्रधानमन्त्री नभएको स्मरण गराएका छन्। त्यसैले भाषणलाई केवल “जोडदार” भनेर मूल्यांकन नगर्न आग्रह गर्दै उनले विश्वले सुन्न चाहेको विषय प्रधानमन्त्रीले उठाएको बताएका छन्।

तर उनले एउटा प्रतीकात्मक पक्षमा टिप्पणी गरेका छन्—भुटानले जस्तै पोसाकमा पनि ध्यान दिएको भए राम्रो हुने थियो।

उनका अनुसार प्रधानमन्त्रीले हडबडाएर गलत कुरा बोलेर नेपालीको शीर झुक्न दिएनन्। तर नेपाली प्रतिनिधिमण्डलले पटक–पटक ताली बजाउने र मोबाइल तेर्स्याउने दृश्य भने उनलाई हास्यास्पद लागेको छ।

न्यूयोर्क टाइम्स र कालो चस्माको बहस
विराट अनुपमले भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत तानेको एउटा दृश्यतर्फ संकेत गरेका छन्। उनले लेखेका छन्—“न्यू योर्क टाइम्समा प्रधानमन्त्री शाहले उठाएका मुद्दा भन्दा कालो चस्मा बन्यो हेडलाइन।”

यसले एउटा महत्वपूर्ण प्रश्न जन्माउँछ—अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको मुद्दा विश्वमञ्चमा कति गयो र प्रस्तुतिको दृश्य पक्ष कति चर्चामा रह्यो?

भाषणको प्रभाव केवल वक्ताको बोलीमा होइन, त्यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यसलाई कसरी ग्रहण गर्छ भन्नेमा पनि निर्भर हुन्छ।

अमिता प्रधान शाक्य : जलवायु न्यायको वकालत आवश्यक
अमिता प्रधान शाक्यले प्रधानमन्त्रीको सम्बोधनलाई प्रशंसनीय बताउँदै नेपालले विश्वसामु जलवायु न्यायका लागि वकालत गर्नुपर्ने धारणा राखेकी छन्।

उनका अनुसार नेपालले आफूजस्तै जलवायु संकटबाट प्रभावित देशहरूसँग सहकार्य बढाउन आवश्यक छ।

उनले पशुपतिनाथ र बुद्धको मार्गमा हिँड्दै प्रधानमन्त्री नेतृत्वको सरकारले करुणा र समानुभूतिलाई प्राथमिकतामा राखेर काम गरोस् भन्ने शुभकामना पनि दिएकी छन्।

शरद अधिकारी : समर्थनसँगै आलोचनाको शोरप्रति प्रश्न
शरद अधिकारीले पनि प्रधानमन्त्री बालेन शाहको यूएन महासभा सम्बोधन आफूलाई राम्रो लागेको बताएका छन्।

तर उनले मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको अति प्रशंसाप्रति व्यंग्य गरेका छन्।

उनका अनुसार नेपालमा “भजन गाउने जागिर” खाएका मानिसहरू धेरै छन्, जसले प्रशंसाको आवाजलाई अस्वाभाविक रूपमा ठूलो बनाउने गर्छन्।

तर अधिकारीको अर्को महत्वपूर्ण टिप्पणी भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वसँग सम्बन्धित छ।

उनका अनुसार राष्ट्र, राष्ट्रियता र राष्ट्रिय विपत्तिको समयमा आन्तरिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक शक्तिहरू एक ठाउँमा उभिन नसके त्यसको प्रभाव अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्छ।

त्यसैले बालेनको भाषणपछि वास्तविक परीक्षा अब सुरु हुने उनको तर्क छ—प्रधानमन्त्री फर्किएपछि संसद, राष्ट्रिय सहमति र राजनीतिक जिम्मेवारीप्रति कति संवेदनशील हुन्छन्?

अब प्रश्न भाषण सकिएपछि सुरु हुन्छ
बालेनको यूएन भाषणमाथि आएको प्रतिक्रियालाई तीन धारमा हेर्न सकिन्छ। पहिलो धारले भन्छ—नेपालले आफ्नो पीडा र विश्वव्यवस्थाको असमानता अन्तर्राष्ट्रिय मञ्चमा खुलेर राख्यो।

दोस्रो धारले भन्छ—मुद्दा ठीक भए पनि भाषणको भाषा, प्रस्तुति र कूटनीतिक शब्द चयन अझ परिपक्व हुन सक्थ्यो। तेस्रो धारले प्रश्न गर्छ—भाषणपछि त्यसको कार्यान्वयन कहाँ छ? यी तीनै प्रश्न एकैपटक महत्वपूर्ण छन्।

प्रधानमन्त्री शाहले महासभामा नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको बताएका छन्। उनले हिमालयलाई विश्वको जीवन प्रणालीको हिस्सा भन्दै नेपाल, भारत र चीनको सहभागितामा “Himalaya Climate Resilience Mechanism” प्रस्ताव गरेका छन्।

उनले राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतालाई जोड दिएका छन्। तर अन्तर्राष्ट्रिय मञ्चमा उच्चारण गरिएको “climate justice” नेपालका गाउँसम्म कसरी पुग्छ? भोटेकोशी–त्रिशूलीको बाढीले बगाएको पुल फर्किन्छ? हराएका मानिसका परिवारले न्याय पाउँछन्? विस्थापित नागरिकको जीवन फेरि सामान्य हुन्छ? जलवायु विपद्का लागि पूर्वसूचना प्रणाली बलियो हुन्छ? किसानले समयमै मल पाउँछ? राष्ट्रसंघमा उठाइएको प्रश्न नेपालकै प्रशासनिक संयन्त्रले सुन्छ? यहीँबाट भाषणको वास्तविक परीक्षा सुरु हुन्छ।

बालेनले विश्वमञ्चमा बोले, अब नेपालभित्र सुन्नुपर्ने बेला
बालेनको भाषणको एउटा बलियो पक्ष नेपालका सीमाभन्दा बाहिरको विषयलाई नेपालकै पीडासँग जोड्नु हो। युद्धका लागि ७२ घण्टामा हतियार पुग्ने तर किसानका लागि मल र इन्धन समयमै नपुग्ने विश्वव्यवस्थामाथिको प्रश्न त्यसैको उदाहरण हो।  तर अन्तर्राष्ट्रिय मञ्चमा प्रश्न उठाउनु र त्यसको उत्तर निर्माण गर्नु फरक कुरा हो।

प्रधानमन्त्रीले विश्वलाई भने—नेपाललाई केवल सहानुभूति होइन, न्याय चाहिन्छ। अब नेपालभित्रका नागरिकले प्रधानमन्त्रीलाई सोध्न सक्छन्—हामीलाई पनि भाषण मात्र होइन, परिणाम चाहिएको छ।

जलवायु न्यायका लागि विश्वसँग प्रश्न गर्ने प्रधानमन्त्रीले नेपालभित्रको शासनमा पनि न्याय, पारदर्शिता र जवाफदेहिता स्थापित गर्नुपर्छ।

विश्वसँग जिम्मेवारी माग्ने सरकारले आफ्नै संस्थाहरूलाई पनि जिम्मेवार बनाउनुपर्छ। विश्वसँग सहकार्य माग्ने नेतृत्वले देशभित्र पनि संवाद र सहमतिको संस्कृति बलियो बनाउनुपर्छ।

विश्वमञ्चमा साना देशको आवाज सुनिनुपर्छ भन्ने प्रधानमन्त्रीले संसदभित्र फरक आवाज सुन्न सक्ने लोकतान्त्रिक क्षमता पनि देखाउनुपर्छ।
यही कारण बालेनको यूएन भाषणलाई केवल “राम्रो” वा “नराम्रो” भनेर टुंग्याउने बहस अधुरो हुन्छ।

भाषणका केही वाक्य ताली पाउन सक्छन्। केही वाक्य आलोचनाको विषय बन्न सक्छन्। केही दृश्य सामाजिक सञ्जालमा भाइरल हुन सक्छन्। तर इतिहासले अन्ततः एउटा कुरा मात्र सोध्छ—त्यो भाषणले नेपालका लागि के बदल्यो?

तालीभन्दा ठूलो कुरा परिणाम
प्रधानमन्त्री बालेन शाहले अन्त्यमा पशुपतिनाथ र बुद्धको स्मरण गरे।यो नेपालका दुई गहिरा सभ्यतागत प्रतीकलाई विश्वमञ्चमा उच्चारण गर्ने क्षण थियो। तर पशुपतिनाथको नाम लिनु मात्रै पर्याप्त छैन—शासनमा सत्य चाहिन्छ। बुद्धको बाटो भन्नु मात्रै पर्याप्त छैन—व्यवहारमा करुणा चाहिन्छ।

जलवायु न्याय भन्नु मात्रै पर्याप्त छैन—विपद्मा परेका नागरिकका आँखाको आँसु पुछ्न सक्ने राज्य चाहिन्छ। विश्वलाई शान्तिको सन्देश दिनु मात्रै पर्याप्त छैन—देशभित्र संवाद, सहमति र सहकार्यको वातावरण पनि चाहिन्छ।

त्यसैले बालेनको यूएन भाषणमाथिको अहिलेको चर्को बहसलाई एउटै निष्कर्षमा बाँध्नुभन्दा यसलाई नेपालको अन्तर्राष्ट्रिय छवि, जलवायु कूटनीति, नयाँ पुस्ताको राजनीतिक अपेक्षा र शासनको आगामी परीक्षासँग जोडेर हेर्नु आवश्यक छ।

प्रधानमन्त्रीले विश्वमञ्चमा भनेका शब्दहरू अब न्यूयोर्कको सभाहलमै सीमित रहने कि नेपालको नीति, बजेट, प्रशासन र नागरिकको जीवनमा पनि प्रतिध्वनि हुने—त्यो नै असली प्रश्न हो।

किनकि अन्तर्राष्ट्रिय मञ्चमा माइक्रोफोन समात्नु एउटा क्षण हो। त्यसपछि देश सम्हाल्नु—पूरै परीक्षा।

र बालेनको यूएन भाषणमाथि अहिले सामाजिक सञ्जालमा बजिरहेको ताली, उठिरहेको आलोचना र चलिरहेको बहसले कम्तीमा एउटा कुरा स्पष्ट गरिसकेको छ—नेपाल अब केवल भाषण सुन्न चाहँदैन; नेपाल परिणाम हेर्न चाहन्छ।

प्रधानमन्त्रीको भाषणले विश्वलाई नेपालको पीडा सुनाएको दाबी गरिएको छ। अब विश्वले त्यसको प्रतिध्वनि कति सुन्छ, त्यो कूटनीतिको परीक्षा हो। र नेपालभित्र त्यसको प्रभाव कति देखिन्छ, त्यो शासनको परीक्षा हो।

प्रधानमन्त्रीका आधिकारिक सम्बोधनमा जलवायु न्याय, हिमालय संरक्षण, बहुपक्षीयता र साना देशको आवाजलाई प्रमुख विषय बनाइएको पुष्टि हुन्छ। 

अन्ततः प्रश्न बालेनले कति राम्रो बोले भन्ने मात्र होइन—बालेनले बोलेका कुरालाई नेपालले कति राम्रोसँग काममा उतार्छ भन्ने हो।

यो पनि पढ्नुहोस् :
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan