भोटेकोशी विपत्तिले न्युटनको तेस्रो नियम सम्झाइ दियो
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको बेत्रावटी र टिमुरे क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ । लेखकले भोटेकोशी विपत्तिलाई प्रकृतिमाथि भएको मानव हस्तक्षेपको 'क्रियाको प्रतिक्रिया' अर्थात् न्युटनको तेस्रो नियमको परिणाम मानेका छन्।
जलवायु परिवर्तन र पुँजीवादी उत्पादन प्रणालीलाई यस विपत्तिको मुख्य कारण बताउँदै लेखकले मानिस र प्रकृतिको सन्तुलनमा जोड दिएका छन् । भदौको १० गते थियो । हामी गुल्मीको ठूलोलुम्पेकस्थित श्रमशीला उत्पादन इकाईमा हिउँदे खेतीका लागि ट्याक्टर जोतिरहेका थियौँ ।
प्लास्टिकका टनेलभित्र टमाटर, छेउमा लट्टे र भेन्डी फलिरहेका थिए । सत्यवती कृषि तथा पशुपालन समूहका अध्यक्ष चेतमानजी, बिरु दाइ, झुपी दिदी, लिला भान्जा, खुमन जेठान, ओम राहादी, हाम्री बोइ, टेकन र म गरी ९ जना बिहानैदेखि सामूहिक काममा व्यस्त थियौँ ।
दिउँसो १ बजेतिर अर्नी खानेबेला टेकनले 'रसुवामा बाढी आएछ, सबै गाउँ नै सखाप पारेछ' भनेपछि हामी झस्स भयौँ । मैले रसुवाका साथी प्रकाशजी र काठमाडौँमा बस्ने समालोचक गुरुङ सुशान्त र साथी रसुवाली कविलाई सम्झिएँ ।
हामी अबेला घर फर्केर नेट अन गर्दा म्यासेन्जरमा लगातार नोटिफिकेसनको आवाज बज्यो । मोबाइलको स्क्रिनभरी विभत्स भिडियो र चित्कारका फुटेजहरू ट्रेन्डिङमा थिए । रसुवाको बेत्रावटी र टिमुरे क्षेत्र बगिरहेको भिडियो छ्याप–छ्याप्ती थिए ।
भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्र हायलकायल थिए । मानिस र प्रकृतिबिचको यो दृश्य विश्वयुद्ध भन्दा कम थिएन । हामी बिहान सखारैदेखि ट्याक्टरको चालमा थियौँ । त्यो न्युटनको गति सम्बन्धी पहिलो नियम थियो ।
भोटेकोशी घटना सुनेपछि हाम्रो कामको लय बिथोलियो । हाम्रो ध्यानको गुरुत्व काम र बाढी दुवैतिर बराबर भयो । यो न्युटनको दोस्रो नियम थियो । प्रकृतिमाथि भएको हिंस्रक दोहनले जलवायुमा पारेको असरका कारण भोटेकोशीमा बाढी आएर नरसंहार मच्चाएको थियो ।
यो न्युटनको तेस्रो नियम थियो । यसलाई न्युटनले 'क्रियाको प्रतिक्रिया' भनेका छन् । यो भौतिक विज्ञानको आधारभूत नियम हो । पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटहरु एकआपसमा ठोक्किएर समान बलबाट पैदा हुने ऊर्जा भूकम्पीय तरंगका रूपमा जमिनको सतहसम्म आइपुग्छन् ।
नदीको तीव्र बहावले किनार वा तटीय क्षेत्रका चट्टान र माटोमा जोडसित ठोक्किँदा माटो कटान भएर पानीको बहावसँगै बगेर जान्छन् । भारी वर्षाका कारण पहाडको माटो र चट्टानको वजन (गुरुत्वाकर्षण बल) बढ्दै जाँदा घर्षण बलले जमिनलाई तलतिर धकेल्छन् र पहिरो जान्छन् ।
यी घटनाहरू न्युटनको चाल सम्बन्धी तेस्रो नियममा आधारित छन् । यो नियम मानिसको दैनिक जीवनमा समेत लागु हुन्छ । हामी हिँड्दा हाम्रो खुट्टाले भुईँलाई पछाडितिर धकेल्छ, त्यसको विपरीत भुईँले हाम्रो खुट्टालाई अगाडी धकेल्छ र हामी हिँड्न सक्छौँ ।
सरकारले जब विरोधीहरूमाथि अत्यधिक दमन गर्छ, त्यसपछि जनताले विद्रोह गर्छन् । इतिहासमा भएका फ्रान्सेली क्रान्ति, पेरिस कम्युन, रुसी अक्टोबर क्रान्ति, चीनको नयाँ जनवादी क्रान्ति र नेपालको जनयुद्ध त्यसैका उदाहरण हुन् । भोटेकोशी बाढी मानिसका विरुद्ध प्रकृतिको विद्रोह हो ।
युनिभर्सिटी अफ साउथ फ्लोरिडाका भूगर्भ शास्त्रका प्राध्यापक जेसन गलीका शब्दमा यो 'टाइम बम' हो । पङ्क्तिकारका दृष्टिमा यो 'वाटर बम' हो । अर्थात् रसुवामा भएको एक विशाल ऊर्जाको विसर्जन । अहिले मध्यपूर्वको भूराजनीतिक र सैन्य युद्धमा पनि यही नियम लागु भइरहेको छ ।
अमेरिका–इजरायलले हर्मुज क्षेत्रको इन्धन कब्जा गर्न आइरन डोम वा आधुनिक क्षेप्यास्त्र प्रविधिले हवाई आक्रमण गर्दा इरानले ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनहरूले जवाफी प्रतिक्रिया दिइरहेको छ । समाज विज्ञानमा पनि विचार र नेतृत्व सही भएमा क्रान्ति हुन्छ, नभए प्रतिक्रान्ति हुन्छ ।
प्रकृतिको आफ्नै जीवन, लय र बाँच्ने तरिका छ । नदी वा खोलाहरू बग्ने आफ्नै 'रूट' छन् । तर हामीले नदीको यात्रालाई अवरोध गर्दा, ढुंगा, गिटी, बालुवा जहाँ देख्यौँ, त्यही झिक्दा र भूगर्भको अध्ययन बिना डोजर चलाउँदा अर्थात् मानिसले प्रकृतिमाथि धावा बोल्दा प्रकृतिले विद्रोह गर्छ ।
कार्बन उत्सर्जन गरेर वायुमण्डल तातेपछि पृथ्वीको तापक्रम विस्फोटक हुन्छ । ०८३ भदौ १० गते भोटेकोशीमा भएको त्यही हो । भोटेकोशी बाढी मानिसका विरुद्ध प्रकृतिको विद्रोह हो । युनिभर्सिटी अफ साउथ फ्लोरिडाका भूगर्भ शास्त्रका प्राध्यापक जेसन गलीका शब्दमा यो 'टाइम बम' हो ।
पङ्क्तिकारका दृष्टिमा यो 'वाटर बम' हो । अर्थात् रसुवामा भएको एक विशाल ऊर्जाको विसर्जन । भयानक ऊर्जा बोकेको पानीको गति प्रतिघण्टा १८८ किलोमिटरको थियो, जसले नेपालका कयौँ संरचनाहरू क्षणभरमै ध्वस्त भए । हजारौँ मान्छेहरू एकै चिहान बने ।
सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम हानेर नरसंहार गरेको थियो । जब प्रकृतिले हिंस्रक दोहन सहन गर्छ, तब उसले बाढी, पहिरो, डढेलोमार्फत विद्रोह गर्छ । प्रकृतिको विद्रोहका कारण मानिस स्वयं हो ।
मानिसको ज्ञानमा विपत्ति आएपछि बाढी र पहिरोमा विपत्ति सरेको हो । भोटेकोशी घटना त्यसैको परिणाम हो । मानिसको जीवनपद्धति, प्रकृतिको लय र विकासबिचको सम्बन्ध नखोज्ने हो भने हामी अझ विपतको भुमरीमा फस्दै जान्छौँ ।
यसका लागि हामीले आफ्नो जीवनपद्धति, प्रकृतिलाई बुझ्ने दृष्टिकोण, नयाँ निर्माण र उत्पादन सम्बन्धको पुनरसंरचनाबारे बहस गर्नुपर्छ । मानिस र प्रकृतिबिचको सन्तुलन कायम गर्न प्रकृतिका वैज्ञानिक नियमहरू बुझेर मात्र पुग्दैन ।
नयाँ सिर्जनालाई दिगो र पर्यावरणीय अनुकूल बनाउन, जलवायु परिवर्तनले मौसमको प्याटर्नहरूमा ल्याएको फेरबदलले विपद्का परम्परागत शैलीमा आएको परिवर्तन, नदीका तटीय क्षेत्रमा भौतिक पूर्वाधारहरू बनाउने पुरानो ढर्राका सोच र विद्यमान उत्पादन प्रणालीले पृथ्वीको जैविक विविधतालाई पारेको सङ्कटबारे छलफल गर्नुपर्छ ।
दक्षिण–पूर्वी एसियाको म्यानमार, दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, भुटान, पाकिस्तान हुँदै अफगानिस्तानको उत्तरी भाग र तिब्बतसम्म फैलिएको हिमालयन क्षेत्रमा जम्मा भएका तथा हिउँ पग्लिएर बग्ने पानीले पृथ्वीको झन्डै डेढ अर्ब मानिसको जीविका धानेको छ ।
१८औँ शताब्दीको मध्यतिर माक्र्सले लन्डनमा बसेर दास क्यापिटल लेख्दा थेम्स नदीमा पाइखानाबाट निस्केको ढल बग्थ्यो । सडकहरूमा घुँडा घुँडासम्म आउने गरी घोडाको लेदो थुप्रिएको हुन्थ्यो । गरिबी र भोकको अकल्पनीय पीडा थियो ।
लन्डन सहर अत्यन्तै फोहोर र दुर्गन्धित थियो । माक्र्सले त्यो बिजोगलाई पुँजीवादको भक्षणात्मक सङ्कट बताएका थिए । उनले प्रकृतिलाई मानिसको 'अजैविक शरीर' भनेर सराहना गरेका थिए । आज कार्बन उत्सर्जन गरेर जलवायु सङ्कट सिर्जना गर्ने अमेरिका, चीन, बेलायत, जापान, भारत र युरोपेली देशहरू अग्र पङ्क्तिमा छन् ।
यी शक्ति राष्ट्रहरूले असीमित नाफा कमाउन प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, युद्ध उद्योगको होडबाजी, आणविक तथा रासायनिक हतियार परीक्षण आदि गरिरहेका छन् ।
यसले पृथ्वीको वायुमण्डल, जलस्रोत र भूगर्भहरूमा विनाश निम्त्याएको छ । र, कार्बन उत्सर्जनमार्फत पृथ्वीलाई बस्न नमिल्ने बनाएर मानव अस्तित्वलाई नै संकटमा पारिरहेका छन् ।
दक्षिण–पूर्वी एसियाको म्यानमार, दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, भुटान, पाकिस्तान हुँदै अफगानिस्तानको उत्तरी भाग र तिब्बतसम्म फैलिएको हिमालयन क्षेत्रमा जम्मा भएका तथा हिउँ पग्लिएर बग्ने पानीले पृथ्वीको झन्डै डेढ अर्ब मानिसको जीविका धानेको छ ।
कार्बन ब्रिफका अनुसार, विश्वको कुल जनसंख्याको २२ देखि २५ प्रतिशत अर्थात् २ अर्ब मानिसहरू हिउँ र हिमनदीहरूको तल्लो तटीय क्षेत्रमा बस्छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढेसँगै हिमालहरू पग्लेर ठूल्ठूला तालहरू बन्न थालेका छन् ।
ती ताल अचानक फुटेर नदी तटीय क्षेत्रमा बनेका बस्तीहरूले भविष्यमा प्रकोपको सामना गर्नुपर्ने निश्चित छ । नेपालको कार्बन उत्सर्जन र वातावरणीय दोहनमा न्यून भूमिका छ तर शक्ति राष्ट्रहरूको पर्यावरणीय अपराधको बोझ नेपालले भोग्नुपरेको छ ।
माक्र्सले भनेझैँ जलवायु परिवर्तनले पैदा गरेको सङ्कट केवल पर्यावरणीय वा प्राविधिक समस्या मात्र नभएर पुँजीवादी उत्पादन प्रणालीको ऐतिहासिक असफलता हो । जलवायु परिवर्तनका कारण लाखौं मानिसहरू जलवायु शरणार्थीका रूपमा विस्थापित हुँदै गएका छन् ।
प्रकोपबाट पैदा हुने विपत्ति प्राकृतिक मात्रै हुँदैन, वर्गीय हुन्छ र यसको सबैभन्दा बढी प्रभाव समाजको पिँधमा बसेका गरिब वर्गलाई पर्छ । मानिस र प्रकृतिबिच सन्तुलन कायम गर्न नाफा केन्द्रित पुँजीवादी उत्पादन प्रणाली नरोकिँदासम्म पर्यावरणीय विपत्तिहरू रोकिँदैन ।
रसुवास्थित भोटेकोशी नदी तटीय क्षेत्रमा आएको प्रलयकारी बाढी कुनै पृथक र स्थानीय घटना मात्र नभएर विश्व पुँजीवादले सिर्जना गरेको पर्यावरणीय सङ्कटको अभिव्यक्ति हो । भोटेकोशी विपत्तिले हामीलाई न्युटनको तेस्रो नियम फेरि सम्झाइ दिएको छ– हरेक क्रियाको विपरीत प्रतिक्रिया हुन्छ । स्याङ्जा बुलेटिनका साथमा ।
