हाम्रो जन्मभूमि सामाजिक संस्थाको १०१औँ सामाजिक कार्यक्रम सम्पन्न
भक्तपुर । सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो १०१औँ सामाजिक कार्यक्रम भक्तपुरको झौखेलस्थित मानव कल्याण समाज (सेवाघर) मा सम्पन्न गरेको छ।
संस्थाले सेवाघरमा आश्रित ज्येष्ठ नागरिक तथा आमाबुबाहरूका लागि बिहानको मिष्ठान्न भोजन गराएर सेवा तथा प्रेम अर्पण गरेको हो। उक्त सहयोग संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको शुभ जन्मोत्सवको अवसरमा उपलब्ध गराईएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष गीता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमनकुमार श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्य अमरबहादुर राई, पूर्व वरिष्ठ उपाध्यक्ष तथा पत्रकार सागर श्रेष्ठ, आजीवन सदस्य लक्ष्मी श्रेष्ठ, मानार्थ सदस्य उर्मिला अधिकारी, सहयात्री अनुज श्रेष्ठ र देवकी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
स्थापनाकालदेखि नै तन, मन र धनको त्रिवेणीबाट सामाजिक सेवामा निरन्तर योगदान गर्दै आएको संस्थाले विभिन्न समयमा असहाय, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको जनाएको छ। संस्थाले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सेवामार्फत मानवीय भावना, प्रेम, सद्भाव र सहयोगको संस्कार विकास गर्ने उद्देश्य राखेको छ।
उपाध्यक्ष नारायण श्रेष्ठको जन्मोत्सवको अवसरमा सेवाघरमा गरिएको सहयोगप्रति संस्थाले आभार व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको कामना गरेको छ। सेवाघरमा आश्रित आमाबुबाहरूको आशीर्वाद सधैँ प्राप्त भइरहोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ।
कार्यक्रमको क्रममा ॐ कृष्ण सेवा सदनको संरक्षकत्व तथा मानव कल्याण समाज (सेवाघर) को व्यवस्थापनमा सञ्चालित ‘सडक मानवमुक्त समाज’ अभियानमा साथ र सहयोग गर्न सबैमा हार्दिक अपिल गरिएको छ।
संस्थाले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको भावनाका साथ आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
