Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाम्रो जन्मभूमि सामाजिक संस्थाको छैटौं वार्षिक उत्सव तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण श्रेष्ठ 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार | सागर श्रेष्ठ
newsabhiyan

ललितपुर । हाम्रो जन्मभूमि सामाजिक संस्थाको छैटौं वार्षिक उत्सव तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। ललितपुरको इमाडोलस्थित नासिका रेष्ट्रोमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता तथा संस्थाका प्रमुख सल्लाहकार निमनाथ फुयालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि निमनाथ फुयालसहित अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा संस्थाका सल्लाहकार रमेश कुमार चापागाई, चौतारा साँगाचोकगढी नगरपालिका–१३ का वडा सदस्य धनबहादुर श्रेष्ठ, संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, समाजसेवी हरि विक्रम नेपाललगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका आजीवन तथा मानार्थ सदस्य, सल्लाहकार, शुभेच्छुक एवं सामाजिक अभियन्ता, पत्रकारहरूको उपस्थिति रहेको थियो।

वार्षिक उत्सवका अवसरमा संस्थाको स्थापना कालदेखि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग पु¥याउँदै आएका सहयोगी तथा शुभेच्छुकहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाले स्थापनादेखि नै सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै समाजमा सकारात्मक योगदान पु¥याएको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सेवाका गतिविधिलाई थप विस्तार गर्न शुभकामना दिएका थिए।

प्रमुख अतिथि निमनाथ फुयालले संस्थाले छोटो अवधिमै सामाजिक सेवाका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै सेवा भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। सामाजिक संस्थाको वास्तविक शक्ति सदस्य तथा शुभेच्छुकहरूको एकता र सेवाप्रतिको प्रतिबद्धता भएको बताउँदै उनले आगामी दिनमा संस्थाले अझ धेरै समुदायसम्म पुगेर काम गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, सल्लाहकार रमेश कुमार चापागाई, वडा सदस्य धनबहादुर श्रेष्ठ, समाजसेवी हरि विक्रम नेपाललगायत वक्ताहरूले संस्थाको निरन्तर प्रगति, सामाजिक अभियानको विस्तार तथा आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

संस्थाले हालसम्म ६१ जना आजीवन सदस्य बनाइसकेको छ। स्थापना कालदेखि नै संस्थाले मानवीय सेवा, सामाजिक सहयोग तथा विपन्न र असहाय वर्गलाई सहयोग गर्ने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रिता थापा देउजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

स्थापनादेखि निरन्तर सामाजिक सेवामा

हाम्रो जन्मभूमि सामाजिक संस्था स्थापना भएदेखि नै सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएको छ। संस्थाले विपन्न, असहाय, ज्येष्ठ नागरिक, बालबालिका तथा स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

संस्थाले विभिन्न अवसरमा मामाघर नेपाल, मानव कल्याण समाज, नयाँ नेपाल समाज केन्द्र बाल आश्रम, अपांग पुनर्स्थापना केन्द्र नेपाल लगायतका संस्थामा पुगेर खाद्यान्न, शैक्षिक सामग्री तथा आवश्यक सहयोग प्रदान गर्दै आएको छ।

त्यसैगरी, स्वास्थ्य उपचारमा समस्या परेका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्ने, रक्त क्यान्सर तथा अन्य गम्भीर रोगबाट प्रभावित परिवारलाई सहयोग गर्ने, धार्मिक तथा सांस्कृतिक स्थलमा सरसफाइ तथा खानेपानीका कार्यक्रम सञ्चालन गर्ने र विपद्का समयमा पीडित परिवारलाई सहयोग गर्ने कार्यमा समेत संस्था सक्रिय रहँदै आएको छ।

संस्थाको सामाजिक अभियानअन्तर्गत विभिन्न समयमा सन्तानेश्वर महादेव मन्दिरमा खानेपानी वितरण, सेवाघर तथा बाल आश्रममा भोजन तथा आवश्यक सामग्री सहयोग, स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग, विद्यालय तथा विपन्न परिवारलाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ। पछिल्लो समय पनि संस्थाले नियमित रूपमा सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

कार्यक्रममा संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले संस्थाको स्थापना कालदेखि हालसम्म सञ्चालन भएका सामाजिक गतिविधि तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गरेका थिए। उनले संस्थाले सीमित स्रोतसाधनका बाबजुद सदस्य, शुभेच्छुक तथा सहयोगीहरूको साथ र सहयोगबाट विभिन्न सामाजिक अभियान सञ्चालन गर्न सफल भएको बताए।

श्रेष्ठले आगामी दिनमा सामाजिक सेवाको दायरा अझ फराकिलो बनाउँदै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, असहाय तथा विपन्न वर्गको सहयोग र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

दोस्रो सत्रमा नयाँ कार्यसमिति चयन

वार्षिक उत्सवपछि सम्पन्न दोस्रो सत्रमा संस्थाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन प्रक्रिया सम्पन्न गर्न रमेश कुमार चापागाईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलका सदस्यमा निमनाथ फुयाल र धनबहादुर श्रेष्ठ रहेका थिए।

निर्वाचन मण्डलको समन्वयमा भएको निर्वाचन प्रक्रियाबाट नारायण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
अहिलेसम्म संस्थाले पु¥याएको सहयोगका क्षेत्रहरु

१, एक दिवसिय भोजन तथा फलफूल वितरण – ४६ स्थानमा
२, क्यानसर पिडित ११ जनालाई सहयोग 
३, मृगौला पिडित ७ जनालाई आर्थिक सहयोग
४, दुर्घटना पिडित ५ जनालाई सहयोग 
५, बोनम्यारो पिडित १ जनालाई सहयोग
६, आगालागी भएका १ परिवारलाई सहयोग
७, बाढी पहिरो पिडित १४० परिवारलाई सहयोग
८, अपांगाता भएको १ परिवारलाई सहयोग
९, न्यानो कपडा वितरण ५ स्थानमा 
१०, बौद्धिक अपांगता भएको व्यक्ति २ जनालाई सहयोग
११, अपंगाता भएको व्यक्ति १ जनालाई सहयोग
१२, विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री वितरण– २४ स्थान
१३,  स्थानीय विपन्न परिवार – १
१४,  टुहुराटुहुरी भएका बिरामी – १
१५,  मन्दिरमा पिउने पानी उपलब्ध – ४ पटक
१६, अपहरणमा परि हत्या भएको परिवारलाई सहयोग १
१७,  जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति – १
१८,  मन्दिर निर्माण कार्यका लागि १ स्थान आदि क्षेत्रमा सहयोग गरिसकेको छ ।

नवनिर्वाचित कार्यसमितिमाः

अध्यक्ष:नारायण श्रेष्ठ 
उपाध्यक्ष:रिता देऊजा थापा 
सचिव: सुमन कुमार श्रेष्ठ 
कोषाध्यक्ष:प्रमिला बस्नेत थापा 

केन्द्रीय सदस्य 

झम्क बहादुर श्रेष्ठ 
अम्बर बहादुर राई 
सुस्मा पराजुली 
लक्ष्मी श्रेष्ठ 
अस्मिता श्रेष्ठ,  रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष नारायण श्रेष्ठले संस्थालाई थप व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउँदै सामाजिक सेवाका कार्यक्रमलाई गाउँ–समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थाको उद्देश्यलाई व्यवहारमा उतार्न सबै सदस्य, सल्लाहकार, शुभेच्छुक तथा सहयोगीहरूको निरन्तर साथ आवश्यक रहेको बताए।

कार्यक्रममा संस्थाका निवर्तमान पदाधिकारी तथा सदस्यहरूले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। संस्थाको सामाजिक अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने संकल्पसहित कार्यक्रम सम्पन्न भएको थियो।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan