Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वराजकुमार एन्ड्र्यूद्वारा एपस्टाइन प्रकरणसम्बन्धी खानतलासी आदेश खारेज गर्न कानुनी चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस\एएफपी)

विवादमा परेका पूर्वराजकुमार एन्ड्र्यू माउन्टब्याटन–विन्डसरले आफ्ना शाही निवासमा खानतलासी गर्न जारी गरिएका आदेश खारेज गर्न माग गर्दै कानुनी प्रक्रिया सुरु गर्नुभएको छ । बेलायती न्यायपालिकाले सोमबार यसको पुष्टि गरेको छ ।

    न्यायपालिकाका अनुसार यससम्बन्धी गोप्य सुनुवाइ बिहीबार उच्च अदालतमा हुनेछ । एन्ड्र्यूले लन्डनको पश्चिममा रहेको विन्डसर र पूर्वी इङ्ल्यान्डको स्यान्ड्रिङहमस्थित आफ्ना निवासमा खानतलासी गर्न जारी गरिएका आदेशलाई चुनौती दिनुभएको हो ।

    प्रहरीले एन्ड्र्यूलाई फेब्रुअरी १९ मा उहाँको ६६औँ जन्मदिनका दिन पक्राउ गरेको थियो । उहाँमाथि अमेरिकी यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्ध र सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।

    घण्टौँको सोधपुछपछि उहाँलाई सोही दिन रिहा गरिएको थियो । यद्यपि, उहाँमाथिको अनुसन्धान जारी छ । एन्ड्र्यूले एपस्टाइनसँगको सम्बन्धमा कुनै गलत काम नगरेको दाबी गर्दै आउनुभएको छ ।

    उहाँको गिरफ्तारीपछि राजा चाल्र्स तृतीयले ‘कानुनले आफ्नो बाटो लिनुपर्छ’ भन्दै प्रतिक्रिया दिनुभएको थियो ।

    ‘द डेली टेलिग्राफ’का अनुसार सन् १६४९ मा राजा चाल्र्स प्रथममाथि चलेको मुद्दापछि बेलायती राजपरिवारका कुनै सदस्यले आफूविरुद्धको फौजदारी कारबाहीको वैधतालाई चुनौती दिएको यो पहिलो घटना हो ।

    एन्ड्र्यूको कानुनी टोलीले लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टका न्यायाधीशले जारी गरेका खानतलासी आदेश कानुनसम्मत थिए वा थिएनन् भन्ने विषयमा अदालतको समीक्षा मागेको बताइएको छ ।

न्यायिक पुनरावलोकन
    बेलायती न्यायपालिकाको प्रेस कार्यालयले एन्ड्र्यूले ‘न्यायिक पुनरावलोकन’का लागि निवेदन दिएको जनाएको छ । निवेदनमा १८ फेब्रुअरी २०२६ मा सेन्ट्रल क्रिमिनल कोर्टका न्यायाधीशले जारी गरेका खानतलासी आदेश खारेज गर्न माग गरिएको छ ।

    एन्ड्र्यूको गिरफ्तारी र उहाँका निवासमा गरिएको खानतलासीले विवाद थप चर्किएको छ । एपस्टाइनसँगको सम्बन्धका कारण गत वर्ष नै उहाँलाई शाही उपाधिबाट वञ्चित गरिएको थियो र विन्डसरस्थित निवासबाट हटाइएको थियो ।

    बेलायती सरकारले उहाँलाई राजगद्दीको उत्तराधिकार क्रमबाट हटाउन कानुन ल्याउनेबारे समेत विचार गरिरहेको छ ।

    एपस्टाइनमाथि आरोप लगाउनेमध्येकी भर्जिनिया ज्युफ्रेले आफ्ना संस्मरणमा आफू किशोरी हुँदा एन्ड्र्यूसँग यौनसम्पर्क गराउन आफूलाई तीन पटक मानव तस्करी गरिएको दाबी गरेकी थिइन् । एन्ड्र्यूले उक्त दाबी अस्वीकार गर्दै आउनुभएको छ । 

    उहाँले कुनै दायित्व स्वीकार नगरी सन् २०२२ मा ज्युफ्रेले दायर गरेको अमेरिकी देवानी मुद्दा टुङ्गिएको थियो । 
    थेम्स भ्याली प्रहरीको हालको अनुसन्धान यस वर्षको सुरुमा अमेरिकाले सार्वजनिक गरेका एपस्टाइनसम्बन्धी कागजातबाट प्राप्त नयाँ सूचनामा आधारित रहेको बताइएको छ । ती कागजातमा रहेका इमेलमा एन्ड्र्यूले एपस्टाइनसँग सम्भावित रूपमा गोप्य मानिने जानकारी साझा गरेको देखिएको थियो ।

एपस्टाइनका इमेल
    एएफपीले हेरेको नोभेम्बर २०१० को एउटा इमेलमा एन्ड्र्यूले एपस्टाइनलाई विभिन्न एसियाली देशको आफ्नो भ्रमणसम्बन्धी प्रतिवेदन पठाएको देखिएको थियो ।

    एपस्टाइनलाई सन् २००८ मा अमेरिकामा नाबालिगलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

    बेलायतका कम्तीमा नौ प्रहरी निकायले एपस्टाइनसम्बन्धी आरोपको अनुसन्धान गरिरहेको पुष्टि गरेका छन् । ती अनुसन्धानमध्ये केही एन्ड्र्यूसँग सम्बन्धित छन् । अनुसन्धानका क्रममा जनवरीमा अमेरिकी अधिकारीले सार्वजनिक गरेका एपस्टाइनसम्बन्धी करिब ३० लाख फाइलको प्रयोग भइरहेको छ ।

    तीमध्ये थेम्स भ्याली प्रहरीको अनुसन्धान सबैभन्दा अघि बढेको देखिन्छ ।

    प्रहरीले एन्ड्र्यूलाई पक्राउ गर्न पूर्वी इङ्ल्यान्डको स्यान्ड्रिङहमस्थित शाही सम्पत्तिमा रहेको उहाँको घर र लन्डनको पश्चिममा विन्डसरस्थित उहाँको पूर्वआवास ‘रोयल लज’मा खानतलासी गरेको थियो । विन्डसरस्थित निवासमा गरिएको खानतलासी छ दिनसम्म चलेको थियो ।

    एन्ड्र्यूको कानुनी चुनौतीबारे प्रतिक्रिया दिँदै थेम्स भ्याली प्रहरीले सार्वजनिक पदमा रहँदा भएको दुराचारसम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ ।

    प्रहरीले यसअघि जारी गरिएका खानतलासी आदेशसँग सम्बन्धित कानुनी प्रक्रियामा आफूहरू सङ्लग्न रहेको पनि जनाएको छ । कानुनी प्रक्रिया चलिरहेकाले यस विषयमा थप टिप्पणी गर्नु उचित नहुने प्रहरीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan