कांग्रेसको समानान्तर महाधिवेशनबीच शेखर पक्ष ‘तटस्थ’, दुवै महाधिवेशनमा नजाने नेताहरूको घोषणा
काठमाडौं, १५ असोज । नेपाली कांग्रेसमा दुई छुट्टाछुट्टै महाधिवेशनको तयारी भइरहेका बेला नेता शेखर कोइराला निकट केही नेताहरूले दुवै महाधिवेशनमा सहभागी नहुने बताएका छन्।
उनीहरूले पार्टीभित्रको विभाजन अन्त्य गरी एकताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै नेता–कार्यकर्तालाई भने आफूअनुकूल निर्णय लिन आग्रह गरेका छन्।
गगन थापा नेतृत्वको कांग्रेसले आगामी असोज १८ देखि २२ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
त्यसको विकल्पमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। दुवै पक्षले समानान्तर रूपमा महाधिवेशनको तयारी तीव्र बनाएपछि कांग्रेसको आन्तरिक विवाद थप जटिल बनेको छ।
यही अवस्थामा शेखर कोइराला निकट नेताहरूले भने कुनै एक पक्षको महाधिवेशनमा औपचारिक रूपमा सहभागी हुने निर्णय नगरी पार्टी एकताको पक्षमा उभिने संकेत दिएका छन्। कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गर्दै पार्टी एकताका लागि पहल गर्ने बताउँदै आएका छन्।
कोइराला निकट नेता बलबहादुर केसी, बद्री पाण्डे र सञ्जय गौतमलगायत नेताहरू पनि यही धारमा देखिएका छन्। उनीहरूले पार्टीको संस्थागत एकता कायम राख्नुपर्ने र महाधिवेशनको विवाद समाधानका लागि संवादलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन्।
नेता सञ्जय गौतमका अनुसार आफूहरूमध्ये केही नेता दुवै महाधिवेशनमा सहभागी नहुने भए पनि कार्यकर्तालाई कुनै एउटा पक्षको महाधिवेशनमा जान दबाब नदिने नीति लिइएको छ।
‘हामी केही नेताहरू दुवै महाधिवेशनमा सहभागी हुँदैनौँ,’ गौतमले भने, ‘नेता–कार्यकर्तालाई यो महाधिवेशनमा भाग लिनू, अर्कोमा नलिनू भनेर भनेका छैनौँ। स्वविवेकका आधारमा आफैँ निर्णय लिनुहोस् भनेका छौँ।’
कांग्रेसभित्र दुई पक्षबीच महाधिवेशनको मिति र प्रक्रियालाई लिएर विवाद भइरहेका बेला तेस्रो धारका रूपमा शेखर पक्षका नेताहरूको भूमिकालाई चासोका साथ हेरिएको छ। उनीहरूले तत्काल कुनै एक पक्षमा खुलेर लाग्नुभन्दा पार्टीभित्र सहमति र एकताको वातावरण बनाउन भूमिका खेल्ने संकेत गरेका छन्।
यसबीच कोइराला निकट केही नेता तथा कार्यकर्ता गगन थापा पक्षले असोज ३ गतेदेखि सुरु गरेको वडा अधिवेशनमा सहभागी भइसकेका छन्। त्यस्तै, देउवा पक्षले असोज १५ गतेदेखि सुरु गर्ने वडा अधिवेशनमा पनि कोइराला निकट कार्यकर्ता सहभागी हुन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
यसले शेखर पक्षका नेता–कार्यकर्ताको राजनीतिक सहभागिता र नेतृत्वको औपचारिक धारणा फरक–फरक हुन सक्ने देखाएको छ। नेताहरूले आफूहरू कुनै पक्षको समानान्तर गतिविधिलाई समर्थन गर्नुभन्दा पार्टी एकताको बाटो खोज्न केन्द्रित रहेको बताएका छन्।
कांग्रेसमा दुईवटा महाधिवेशनको तयारी भइरहेका कारण वडा तहदेखि नै संगठनात्मक गतिविधि समानान्तर रूपमा अघि बढ्ने अवस्था बनेको छ। यस्तो अवस्थामा शेखर पक्षका नेताहरूले लिएको ‘स्वविवेकको निर्णय’को नीतिले उनीहरूका समर्थक तथा कार्यकर्तालाई दुवै पक्षसँग संवाद र सहभागिताको बाटो खुला राख्ने देखिन्छ।
अब कांग्रेसभित्रको विवाद समाधानका लागि नेतृत्व तहमा हुने संवाद, महाधिवेशनको वैधानिकता तथा संगठनात्मक प्रक्रियाबारे बन्ने सहमति र दुवै पक्षबीचको राजनीतिक समझदारीले पार्टीको आगामी दिशा निर्धारण गर्नेछ।
यो पनि पढ्नुहोस् :
अदालतको ढोका ढकढक्याउँदा पनि रोकिएन कांग्रेसको महाधिवेशन विवाद, अब जिल्ला–जिल्लामा हारगुहार
कांग्रेसमा मिलनको खोजी : दुवै पक्ष सोचमग्न, देउवा दोधारमा
देउवा समूहको विद्रोहले कांग्रेसमा फेरि भाँडभैलो,नेता मिल्ने कि कांग्रेस फुटिरहने ?
दबाबका बीच पन्ध्रौँ महाधिवेशनमा होमियो कांग्रेस
