Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
newsabhiyan

काठमाडौं । शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐना बनाउँदै नेपाली वाङ्मयको यात्रामा निरन्तर सक्रिय वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई हालै काठमाडौंमा सम्पन्न ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’मा ‘महाकाव्य साधना सम्मान’ अर्पण गरिएको छ ।

साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध रंगलाई सिर्जनाको क्यानभासमा उतार्दै नेपाली साहित्यको समृद्धिमा पुर्‍याएको योगदानको कदरस्वरूप दाहाललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा प्रदान गरिएको सम्मानपत्रमा दाहालले जीवन, समाज, संस्कृति, दर्शन र मानवीय संवेदनाका बहुआयामिक पक्षलाई आफ्ना सिर्जनामा अभिव्यक्त गर्दै गहन चिन्तन, साहित्यिक साधना र सृजनात्मक कर्ममार्फत नेपाली साहित्यलाई समृद्ध बनाउँदै आएको उल्लेख छ ।

विशेषतः महाकाव्य लेखनमा पुर्‍याएको विशिष्ट योगदानको सम्मानस्वरूप उहाँलाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको जनाइएको छ ।

साहित्यको गहिराइ र संगीतको माधुर्य एकै थलोमा भेटिएको समारोहमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा-सर्जकलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो ।

दाहालका सिर्जनामा जीवनका अनुभूति मात्र होइनन्, समाजका आरोह-अवरोह, संस्कृतिका जरा, दर्शनका प्रश्न र मानवीय संवेदनाका कम्पनहरू पनि भेटिन्छन् । उहाँका प्रकाशित कृतिहरूले नेपाली साहित्यमा उहाँको बहुआयामिक स्रष्टा व्यक्तित्वलाई स्थापित गरेका छन् ।

उहाँका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकिर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिका लेखनसंग्रह प्रकाशित छन् ।

उहाँका सिर्जना र व्यक्तित्वमाथि पनि विभिन्न कृति प्रकाशित भएका छन् । ‘नव छायाँवादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ जस्ता कृतिले उहाँको साहित्यिक यात्रालाई विभिन्न कोणबाट मूल्यांकन गरेका छन् । ‘मिलाप’, ‘जनमत’, ‘बगर’लगायतका पत्रिकामा उहाँको कभर स्टोरीसमेत प्रकाशित छन् ।

दाहालको साहित्यिक संसार पुस्तकका पानामा मात्र सीमित छैन । उहाँका काव्यिक भाव, चेतना र संवेदनाले संगीतको लयसमेत समातेका छन् । उहाँको गीति एल्बम ‘जागृति’ साहित्य, संगीत र संस्कृतिको सुन्दर संगमका रूपमा श्रोता तथा दर्शकमाझ आएको छ ।

‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको ‘जागृति’मा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’जस्ता गीत समावेश छन् ।

एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ भने ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकको स्वर सुन्न सकिन्छ । एल्बमका सबै गीतमा सन्तोष श्रेष्ठकै संगीत रहेको छ ।

शब्दमा संवेदना, भावमा दर्शन र सिर्जनामा समाजको धड्कन बोकेर साहित्यिक यात्रामा अघि बढिरहनु भएका दाहालका लागि ‘महाकाव्य साधना सम्मान’ केवल एउटा सम्मानपत्र होइन, दीर्घ साहित्यिक साधनाले कमाएको सिर्जनात्मक स्वीकृतिको एउटा अर्थपूर्ण हस्ताक्षर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan