जनमत संग्रहमा हारपछि 'सोचमग्न' बिपीको तस्बिर
“कांग्रेसले हारेको छ तर उसको यात्रा कहिल्यै रोकिएको छैन”
काठमाडौं, १८ असोज । आवरण तस्बिर २०३८ सालको सुरूआततिरको हो, सप्तरीको भारदहमा खिचिएको। तस्बिर पुरानो छ, केही धमिलो पनि छ। तर समय जति पुरानो हुँदै जान्छ, यसको अर्थ र महत्त्व झन् गहिरिँदै गएको महसुस हुन्छ।
तस्बिरमा अगाडितिर चियाको चुस्की लिँदै हुनुहुन्छ परशुनारायण चौधरी। उहाँको छेउमा चिउँडोमा हात राखेर केही सोचिरहनुभएका बिपी कोइराला। बिपीको छेउमै कृष्णप्रसाद भट्टराई (किसुनजी)।
माथिल्लो पंक्तिमा विराटनगरका जीवन साह, उमेश गिरी, सेतो सर्टमा म स्वयं—जयप्रकाश आनन्द।
मसँगै टाँसिएर उभिनुभएका सुरेश चालिसे। उनीसँगै बिनोद दत्त, बिनोदकै अघिल्तिर कोठेकोठे स्विटर लगाएर उभिनुभएका सोलुखुम्बुका शिवध्वज बस्नेत।
तस्बिरमा अरू केही सप्तरी–मोरङका समकालीन साथीहरू पनि देखिन्छन्।यो तस्बिर बिपीका भतिज तथा तारिणी प्रसाद कोइरालाका पुत्र ज्योति कोइरालाले खिच्नुभएको हो।
मैले तस्बिरको परिचय दिँदा यसलाई 'सोचमग्न बिपी' भनेको छु। यो केवल तस्बिरमा उहाँको अनुहार र मुद्रालाई हेरेर राखिएको शब्दावली होइन। यसको पछाडि एउटा गम्भीर राजनीतिक क्षण जोडिएको छ।
भारदहमा हामी पुग्दासम्म बिपीको मनमा एउटा नयाँ चिन्ता प्रवेश गरिसकेको थियो। त्यो समयको चिन्ता बुझ्न केही वर्ष पछाडि फर्किनुपर्छ।
जनमत संग्रह : हारभित्र न हारेको ठूलो जनमत
२०३६ जेठ १० गते राजा वीरेन्द्रले जनतालाई दुईमध्ये एउटा बाटो रोज्न आह्वान गर्नुभएको थियो— हालको पञ्चायती व्यवस्था कायम राखी त्यसमा सामयिक सुधार गर्दै जाने कि बहुदलीय शासन व्यवस्था स्थापना गर्ने। त्यसै घोषणाको परिणाम स्वरूप २०३७ वैशाख २० गते जनमत संग्रह भयो।
निर्वाचनको आधिकारिक परिणाम अनुसार सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा २४ लाख ३३ हजार ४५२ मत र बहुदलीय व्यवस्थाको पक्षमा २० लाख ७ हजार ९६५ मत परेको थियो। बहुदल पक्ष ४ लाख २५ हजार ४८७ मतले पछि परेको थियो।
तर यो परिणामलाई केवल हार र जितको अंकमा सीमित गरेर हेर्न सकिँदैन। बहुदलको पक्षमा परेको २० लाखभन्दा बढी मत त्यति बेलाको राजनीतिक परिस्थितिमा अत्यन्त ठूलो जनमत थियो।
गणेशमान सिंह तथा बहुदल पक्षका नेता र समर्थकले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाए। त्यस बेलाका राजनीतिक संस्मरण र अध्ययनहरूमा पनि यसबारे गम्भीर प्रश्न उठाइएका छन्।
बिपीले भने जनमत संग्रहको परिणाम स्वीकार गर्नुभयो।तर उहाँको प्रश्न थियो— बहुदलको पक्षमा मत दिएका करिब २० लाख नेपालीको राजनीतिक भावना अब कसरी सम्बोधन गर्ने?
यही प्रश्न जनमत संग्रहपछिको नेपाली कांग्रेसको राजनीतिको केन्द्रमा थियो।जनमत संग्रहपछि संविधान सुधारका लागि आयोग गठन भयो। राजाद्वारा घोषणा गरिएको यो आयोग एकपक्षीय थियो।
जनमत संग्रहको पूरै अभियानमा (प्रतिबन्धित) नेपाली कांग्रेस मुख्यतः एक पक्ष थियो। सायद एक मात्र। त्यस बखतको नेकपा (माले), आजको एमालेले जनमत संग्रह बहिष्कार गरेको थियो।
यो प्रश्न आज पनि अनुत्तरित नै छ — यदि माले सो अभियानमा सरिक भएको भए के जितका लागि अपुग त्यो ४ लाख भोट थपिन्थ्यो? २०१५ सालको पहिलो आम निर्वाचनमा पनि कम्युनिस्ट पार्टीले चार सिट जितेको थियो। के प्रयोजनका लागि मालेले त्यो निर्णय लियो?
तर यहाँको मुख्य कुरो हो— बिपीको अनुरोधका बाबजुद संविधान संशोधन प्रक्रियामा विपक्षलाई सहभागी गराइएन।नेपाली कांग्रेसलाई बाहिर नै राख्ने राजाको सोच भयो।
अन्ततः २०३७ पुस १ गते नेपालको संविधान, २०१९ मा तेस्रो संशोधन गरियो। संशोधनले राष्ट्रिय पञ्चायतको निर्वाचनलाई बालिग मताधिकारका आधारमा प्रत्यक्ष बनायो र प्रधानमन्त्री राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी हुनेजस्ता केही परिवर्तन गर्यो।
तर राजनीतिक दलमाथिको प्रतिबन्ध र निर्दलीय व्यवस्थाको मूल चरित्र कायम रह्यो। दलउपरको प्रतिबन्ध कायम नै राखियो। यो राजाद्वारा गरिएको जनमत संग्रहको घोषणाको अन्तर्निहित मनसायको विपरीत स्वयं राजाद्वारा चालिएको कदम थियो।
किसुनजीले हाँस्दै भन्नुभएको थियो— बिपी बुझ्नुभो! यो शाही वादाखिलाफी हो! किसुनजीको यस शब्द चयनमा लगातार सोह्र वर्षको जेल जीवनको गहिरो पीडा थियो। मैले यसरी नै बुझेको थिएँ त्यस बखत।
यहीँबाट बिपीको मनमा अर्को प्रश्न जन्मियो— के यति सुधार नै जनमत संग्रहको मर्म थियो? जनमत संग्रहमा पराजयपछि र संविधानको संशोधनमा बहुदल पक्षका अपेक्षा पूर्णतः अस्वीकार गरिएपछि नेपाली कांग्रेसभित्र स्वाभाविक रूपमा प्रश्न उठ्यो— अब के गर्ने?
बिपीका सामुन्ने पनि यही प्रश्न थियो। उहाँले काठमाडौंको कोठामा बसेर मात्र यसको उत्तर खोज्नुभएन। जनताको बीचमा गएर कार्यकर्ताको मन बुझ्ने निर्णय गर्नुभयो।
पूर्वाञ्चलका कार्यकर्तासँग भेटघाट गर्न झापाको बिर्तामोडबाट यात्रा सुरू भयो। त्यसपछि सर्लाहीको मलंगवा, पाल्पाको तानसेन हुँदै देशका विभिन्न भागमा पुग्ने कार्यक्रम बन्यो।
कार्यकर्ता सम्मेलन भनिए पनि यसको राजनीतिक अर्थ त्योभन्दा धेरै ठूलो थियो। यो जनमत संग्रहको परिणामपछि निराश भएको ठानिएको नेपाली कांग्रेसको वास्तविक मनोविज्ञान बुझ्ने अभियान थियो।
यो यात्राको पहिलो महत्त्वपूर्ण कार्यक्रम झापाको बिर्तामोडमा भयो। पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता आए। बिपीको संस्मरणमा पनि बिर्तामोडमा देखिएको कार्यकर्ताको उत्साह र उहाँप्रतिको आकर्षणको वर्णन गरिएको छ।
बिर्तामोडपछि हामी सर्लाहीको मलंगवातर्फ लाग्यौं। र, यही यात्रा क्रममा हामी सप्तरीको भारदह आइपुगेका थियौं।
भारदहमा 'सोचमग्न बिपी'
भारदह पुग्नासाथ बिपीलाई एउटा खबर मिल्यो। बिर्तामोडको आमसभामा देखिएको जनताको व्यापक सहभागिता र उत्साहले दरबारमा गम्भीरता बढेको खबर थियो।
तुलसी गिरी लगायतका पञ्चहरू 'हार्ड लाइनर' भनेर चिनिन्थे र जनमत संग्रह सम्पन्न गराएका तत्कालीन प्रम सूर्यबहादुर थापा 'उदारवाद'। तर यो बिन्दुमा आइपुग्दा दुवै पक्ष एक भएका थिए।
पञ्चहरू आगामी राष्ट्रिय पञ्चायत निर्वाचनमा कांग्रेसलाई कुनै पनि रूपमा प्रवेश गर्न नदिने पक्षमा दृढ छन् भन्ने जानकारी बिपीसम्म आइपुगेको थियो। सुधारिएको पञ्चायतको अनुभूति हुने गरी संविधानमा अपेक्षित उदार सुधार नहुने संकेत पनि त्यसैसँग जोडिएको थियो।
त्यो खबरले बिपीलाई गम्भीर बनाएको थियो। त्यसैले भारदहको यो तस्बिरमा उहाँको अनुहारमा मैले एउटा सामान्य राजनीतिक नेताको चिन्ता मात्र देखेको छैन।
मलाई लाग्छ — त्यहाँ जनमत संग्रहबाट प्राप्त २० लाखभन्दा बढी मतको राजनीतिक भविष्यबारे सोचिरहेको एउटा नेता देखिन्छ।
त्यस बेला सम्पूर्ण कांग्रेसले बिपीको त्यो चिन्तालाई साझा चिन्ता बनाएको थियो।
यो तस्बिरमा बिपीको छेउमा किसुनजी र अगाडि परशुनारायण चौधरी हुनुहुन्छ। हामीजस्ता युवा कार्यकर्ता वरिपरि छौं। बाहिरबाट हेर्दा त्यो एउटा सामान्य भेटघाटजस्तो देखिन्छ। तर इतिहासको आँखाले हेर्दा त्यो एउटा संक्रमणकालीन नेपालको सानो दृश्य हो।
मलंगवा : आशाबाट शंकातर्फ
भारदहपछि हाम्रो यात्रा अगाडि बढ्यो। हामी सर्लाहीको मलंगवा पुग्यौं। त्यहाँको कार्यक्रम सहज हुन सकेन। पञ्चायत पक्षबाट अवरोध भयो।
जनमत संग्रहपछि सुधारको आशा बोकेर जनताका बीचमा गएको कांग्रेसले अब अर्कै किसिमको राजनीतिक वातावरण सामना गर्नुपरिरहेको थियो।
बिर्तामोडमा देखिएको उत्साह र मलंगवामा देखिएको अवरोधबीचको अन्तरले परिस्थिति कता जाँदैछ भन्ने संकेत दिन थालेको थियो। तर बिपी अझै निराश भइसक्नुभएको थिएन।
बिर्तामोड र मलंगवाका कार्यक्रमबाट उत्साहित बिपीले बीचको केही समय काठमाडौं गएर राजा वीरेन्द्रसँग भेट गर्ने प्रयास गर्ने विचार गर्नुभएको थियो।
पछि प्रकाशित संस्मरणमा पनि उहाँले बहुदलका पक्षमा परेको ठूलो जनमतलाई सम्मान गर्नुपर्ने, निर्वाचनमा सहभागी हुन सहज वातावरण बनाउनुपर्ने र वर्गीय संगठनको सदस्यतालाई उम्मेदवारीका लागि अनिवार्य बनाइएको व्यवस्था जस्ता विषयमा राजासँग कुरा गर्न चाहेको उल्लेख छ।
त्यस बखतको निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारलाई एउटै समान चुनाव चिह्न दिइनुपर्ने पनि बिपीको आग्रह थियो।
यी सब कुरामा बिपीले राजासँग कुरा गर्न चाहनुभएको थियो। तर उहाँले चाहेजस्तो भेट हुन सकेन। तानसेन पुग्दासम्म परिस्थिति बदलिइसकेको थियो । त्यसपछि पाल्पाको तानसेनमा कार्यक्रम हुने थियो। तर हामी तानसेन पुग्दासम्म राजनीतिक परिस्थिति झन् स्पष्ट भइसकेको थियो।
२०३७ सालको संविधान संशोधनले केही सीमित सुधार गरे पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धाको बाटो खोलेन। राष्ट्रिय पञ्चायत निर्वाचन २०३८ वैशाख २७ मा भयो। राजनीतिक दलहरू प्रतिबन्धित नै रहेका कारण कांग्रेसले त्यो निर्वाचन बहिष्कार गर्यो।
यसरी जनमत संग्रहपछि बिपीले कल्पना गर्नुभएको एउटा सम्भावित बाटो बन्द हुँदै गयो। उहाँको सोच थियो— जनमत संग्रहको परिणाम स्वीकार गरौं, तर बहुदलको पक्षमा उभिएका २० लाखभन्दा बढी मानिसको राजनीतिक भावनालाई पनि राज्यले सम्मान गरोस्। सुधारिएको पञ्चायतलाई साँच्चिकै सुधारिएको बनाउने हो भने राजनीतिक सहभागिताको ढोका क्रमशः खोलियोस्। तर त्यस्तो भएन।
त्यसपछि कांग्रेसका अगाडि प्रश्न केवल चुनावमा जाने कि नजाने भन्ने रहेन। प्रश्न थियो— जनमत संग्रहपछि खोलिने अपेक्षा गरिएको राजनीतिक सुधारको बाटो बन्द भएपछि अब संघर्षको अर्को बाटो रोज्ने कि नरोज्ने?
कांग्रेसले अन्ततः निर्वाचन बहिष्कार गर्यो। बिपीले पनि चुनाव बहिष्कारको पक्षमा राजनीतिक धारणा राख्नुभयो। ऐतिहासिक अध्ययनहरूमा पनि कांग्रेसले राष्ट्रिय पञ्चायतको त्यो निर्वाचन बहिष्कार गरेको तथ्य स्पष्ट रूपमा उल्लेख छ।
बिपीको जीवनकालमै सपना पूरा भएन
२०३९ साउन ६ गते बिपीको निधन भयो। उहाँले देखेको बहुदलीय प्रजातन्त्रको सपना उहाँकै जीवनकालमा पूरा हुन सकेन। त्यसपछि नेपालको प्रजातान्त्रिक यात्रा अझ कठिन मोडतिर गयो।
२०४२ साल जेठमा कांग्रेसले सत्याग्रह सुरू गर्यो। हजारौं नेता तथा कार्यकर्ता पक्राउ परे। सत्याग्रह चलिरहेका बेला रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चासँग जोडिएका बम विस्फोटका घटनाहरू भए।
त्यसपछि कांग्रेसले आफ्नो सत्याग्रह स्थगित गर्यो। गिरफ्तार भएका कांग्रेसका नेता–कार्यकर्ता भने लामो समय जेलमा रहे।सत्याग्रहले पनि बिपीको प्रजातान्त्रिक नेपालको सपना पूरा गर्न सकेन।
यसरी २०३८ सालको भारदहमा देखिएको चिन्तादेखि २०४२ को सत्याग्रहसम्म आइपुग्दा राजनीतिक संघर्ष अझ गहिरिँदै गयो।
बिपीका सपनाहरू सर्दै गएको लामो इतिहास छ। २००७ सालको क्रान्तिको घोषणासँगैको संविधान सभाको सपना सरेर २०१५ सालमा संसदीय निर्वाचनमा बदलियो। जम्मा १८ महिना प्रधानमन्त्री रहनुभयो।
२०१७ सालमै राजा महेन्द्रले भनेका थिए— म जनताको नासो चाँडै जनतालाई फर्काउने छु। यस आशाका साथ २०१७ पुस १ गते जेल पर्नुभएका बिपीको जेल यात्रा सरेर २०२६ सालसम्म पुग्यो।
यसबीच अनेक घटना–परिघटना भए। २०३३ सालमा नेपाल फर्किनुभएका बिपीको राजनीतिक मेलमिलापको सपना पूरा हुन दिइएन। जनमत संग्रहमार्फत जागेको यो सपना पनि पूरा भएन। तर त्यो सपना मरेन।
त्यसपछि पनि संघर्ष चलिरह्यो। अन्ततः २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा जनआन्दोलन भयो। २०४६ चैत २६ गते राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध हटाउने घोषणा गर्नुभयो। त्यससँगै तीन दशक लामो निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यतर्फ देश अघि बढ्यो।
२०४७ सालको संविधानले त्यस राजनीतिक परिवर्तनलाई संवैधानिक रूप दियो। तर मलाई कहिलेकाहीँ लाग्छ— त्यो यात्रा २०४६ सालबाट सुरू भएको थिएन।
त्यसका धेरै बीउहरू त्यसअघि नै रोपिएका थिए। २०३६ को विद्यार्थी आन्दोलन, २०३६/३७ को जनमत संग्रह, त्यसमा बहुदलका पक्षमा परेको ठूलो जनमत, त्यसपछि सुधारको आशा, आशापछि निराशा र त्यसपछि फेरि संघर्ष। र, ती सबै घटनाको बीचमा एउटा तस्बिर छ। भारदहको यो तस्बिर। तस्बिरमा बिपी सोचमग्न हुनुहुन्छ।
त्यो सोचको विषय के थियो, उहाँको मनभित्र ठ्याक्कै के चलिरहेको थियो— त्यो म दाबीका साथ भन्न सक्दिनँ। तर हामीसँग आएको खबर, त्यस समयको राजनीतिक परिस्थिति र त्यसपछिका घटना सम्झिँदा उहाँको त्यो अनुहार अहिले मलाई झन् अर्थपूर्ण लाग्छ।
सायद उहाँ सोचिरहनुभएको थियो— जनताले दिएको मतलाई अब कसरी राजनीतिक परिवर्तनमा रूपान्तरण गर्ने?
सायद उहाँ राजासँगको सम्भावित संवादबारे सोचिरहनुभएको थियो। सायद उहाँ आफ्नै पार्टीका सहयात्रीहरू, हजारौं कार्यकर्ता र बहुदलको पक्षमा उभिएका २० लाखभन्दा बढी मानिसको भविष्यबारे सोचिरहनुभएको थियो।
वा, सम्भवतः यी सबै कुरा एकै पटक उहाँको मनमा थिए। त्यसैले मैले यस तस्बिरलाई 'सोचमग्न बिपी' भनेको हुँ।
आज, चार दशकभन्दा बढी समयपछि यो तस्बिर हेर्दा मलाई आफू पनि त्यहाँ उभिएको कुरा मात्र सम्झना हुँदैन। त्यो समयको एउटा ठूलो राजनीतिक मोडको प्रत्यक्ष साक्षी भएको अनुभूति हुन्छ।
हामीलाई त्यति बेला थाहा थिएन— त्यो यात्रा कहाँ पुगेर टुंगिने हो। हामीलाई थाहा थिएन— बिपीले देखेको सपना पूरा भएको उहाँले आफै देख्न पाउनुहुने छैन।
हामीलाई यो पनि थाहा थिएन— २०३८ को त्यो बाटोबाट २०४२ को सत्याग्रह हुँदै २०४६ को जनआन्दोलनसम्म पुग्न अझै आठ वर्ष लाग्नेछ।
तर आज पछाडि फर्केर हेर्दा इतिहासले ती सबै घटनालाई एउटै लामो यात्राका रूपमा जोडिदिएको छ। अनवरत् संघर्षको माला जस्तै।
भारदहको त्यो सानो कोठामा खिचिएको तस्बिर त्यस यात्राको एउटा मौन साक्षी हो। चिउँडोमा हात राखेर टाढा कतै हेरिरहेका बिपी कोइराला। पराजयपछि पनि यात्रा रोकिनु हुँदैन
आज म नेपाली कांग्रेसमा छैन। तर मेरो जीवनको ठूलो हिस्सा यही पार्टीसँग बितेको छ। त्यसैले कांग्रेसप्रतिको मेरो माया कुनै पद, जिम्मेवारी वा राजनीतिक सम्बन्धसँग बाँधिएको छैन। त्यो लामो सहयात्राबाट बनेको आत्मीयता हो।
आज कांग्रेसले भोगेको निर्वाचन पराजय हेर्दा त्यही पुरानो पीडा फेरि मनमा जाग्छ— जनमत संग्रहको पराजयपछि बिपीको पीडाजस्तै।
आजको कांग्रेसभित्र यो पराजयको दोष कसको भन्ने बहस चलिरहेको छ। शेरबहादुर देउवाबाट पनि गगन थापातिर यसको जिम्मेवारी सार्ने प्रयास भएको देखिन्छ। तर निर्वाचनभन्दा केही साताअघिसम्म पार्टीको नेतृत्व देउवाकै हातमा थियो भन्ने तथ्य इतिहासले कसरी बिर्सन सक्छ?
त्यसैले दोष कसैको टाउकोमा थोपरेर मात्र कांग्रेसले आफ्नो भविष्य भेट्टाउन सक्दैन। पराजयको पीडा आत्मसात् गरेर त्यसबाट नयाँ बाटो खोज्नु नै आजको आवश्यकता हो।
मलाई यही ठाउँमा भारदहको त्यो तस्बिर सम्झना हुन्छ। जनमत संग्रहमा पराजित भएपछि बिपीले हारलाई अन्त्य भएको ठान्नुभएन। उहाँ जनताको बीचमा जानुभयो, जनताको मन बुझ्नुभयो र कांग्रेसलाई फेरि यात्रामा निकाल्नुभयो।
उहाँका सामुन्ने आफ्नै जीवनको सीमाको कठोर सत्य पनि थियो। क्यान्सरले उहाँको शरीरलाई क्रमशः कमजोर बनाइरहेको थियो।
त्यसैले उहाँका अगाडि दुइटा भविष्यगामी बाटा थिए— एउटा, आफूले सकुञ्जेल संघर्षको नेतृत्व गर्दै कांग्रेसलाई अघि बढाउने; अर्को, आफ्नो जीवनको सीमा स्वीकार गर्दै गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, परशुनारायण चौधरीजस्ता सहयात्रीहरूको हातमा कांग्रेसको भविष्य सुम्पेर जाने।
समयले देखायो, उहाँले दुवै बाटालाई आफ्नो ढंगले अघि बढाउनुभयो। परशुनारायण चौधरी पछि पञ्चायतमा प्रवेश गर्नुभयो, तर त्यसले कांग्रेसको यात्रा रोकिएन। यसअघि पनि पञ्चायत प्रवेश गर्नेहरूको लामो शृंखला छँदै थियो।
आजको कांग्रेसका सामुन्ने पनि त्यही इतिहासको एउटा नयाँ प्रश्न उभिएको छ। नेतृत्व बदलिन सक्छ, अनुहार बदलिन सक्छन्, १५ औं महाधिवेशनबाट जो सभापति बनून्, जो पदमा पुगून्— तर कांग्रेसको यात्रा रोकिनु हुँदैन।
गगन थापाको नेतृत्वमा हुने भनिएको नयाँ अध्याय होस् वा त्यसपछिको कुनै अर्को नेतृत्व, कांग्रेसजनले आजको पराजयलाई अन्त्य होइन, आत्मसमीक्षा र पुनर्निर्माणको आरम्भ बनाउन सक्नुपर्छ।
पराजयले बाटो छेक्न सक्छ, यात्रा रोक्न सक्दैन— यदि यात्रुहरूले हिँडिरहने साहस गुमाएनन् भने। आज म कांग्रेस नभए पनि मेरो स्मृतिमा कांग्रेससँग बितेका ती दिन जीवित छन्।भारदहको यो तस्बिरमा म पनि छु— एक युवा कार्यकर्ताका रूपमा। बीचमा सोचमग्न बिपी हुनुहुन्छ।
उहाँको त्यो मौन अनुहार आज पनि मलाई एउटा कुरा भनिरहेको जस्तो लाग्छ— हारपछि बसिरहने होइन, हारबाट सिकेर फेरि हिँड्ने हो। किनकि कांग्रेसको इतिहासमा पराजय धेरै पटक आएको छ, तर यात्रा कहिल्यै रोकिएको छैन।
