‘जीवन भार की उपहार’ पुस्तक विमोचन
बुटवल, १८ असोजः लेखक अग्निधर चन्द बोहोराद्वारा लिखित ‘जीवन भार की उपहार’ पुस्तक आज यहाँ विमोचन गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा सहभागीहरूले जीवनलाई उपहारका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
आत्मजीवनीपरक निबन्ध सङ्ग्रहका रूपमा चन्दले ‘जीवन भार की उपहार’ पुस्तक लेख्नुभएको हो । पुस्तक विमोचन गर्दै लेखक तथा विश्लेषक प्रा डा गीतु गिरीले पुस्तकमा जीवनका आरोहअवरोह समावेश गरिएको भन्दै यसले जीवनलाई भारभन्दा उपहारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।
प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देहीको आयोजना तथा साहित्य परिषद् प्युठान र प्रगतिशील लेखक सङ्घ प्युठानको सहआयोजनामा सम्पन्न कार्यक्रममा डिआर बञ्जाडे, रामबहादुर बुढा, ऋषि आजद, प्राध्यापक ऋषिराम भुसाललगायतले पुस्तकमाथि समीक्षा गर्नुभयो ।
गुल्मीको अग्लुङफेदीमा रहेर जीवनयापन गरिरहनुभएका चन्द साहित्यिक रूपमा ‘तिक्तोपेक्षित’ नामले परिचित हुनुहुन्छ । ग्रामीण क्षेत्रमा रहेर पनि साहित्य सृजनामा लागिरहने उहाँले यस निबन्ध सङ्ग्रहमा ३५ वटा निबन्ध समेटिएका छन् । यसअघि उहाँका ‘भीरपाखाका सुसेली’ कथा सङ्ग्रह र ‘जनजागृतिको कोसेली’ कविता सङ्ग्रह प्रकाशित छन् ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, पुस्तक विश्लेषक माधव पौडेल र प्राध्यापक ऋषिराम भुसालले कृतिकार चन्दको मेहिनत र परिश्रमको प्रशंसा गर्नुभयो ।
