निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल
काठमाडौँ, १९ असोज : नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा राजनीतिक हस्तक्षेपका कारण निगम धरासायी बन्दै गएको जानकारी दिनुभयो ।
सांसदले निगमले भोग्नुपरेका चुनौती र समाधानका पक्षमा आआफ्नो सुझाव र जिज्ञासा राख्नुभएको थियो । निगमका बारेमा राखेको जिज्ञासाबारे मन्त्री पौडेलले जानकारी दिनुभएको थियो । मन्त्री पौडेलले वर्तमान सरकारले निगमलाई पूर्ण रुपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता दिएको प्रष्ट पार्नुभयो ।
“स्वायत्तता पाउँदा कर्मचारीहरुले नतिजा दिन सक्छन्”, उहाँले भन्नुभयो । निगमको नाफा घाटा मात्रै नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साँख जोगाउनु राज्यको दायित्व रहेकोे बताउनुभयो । बैठकमा समितिका सभापति सुम्नीमा उदासले छलफल पश्चात निर्देशनात्मक सुझाव दिइने र त्यसैअनुसार निगमको व्यवस्थापकले कार्य सम्पादन गर्नुपर्ने प्रष्ट पार्नुभयो ।
