Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

 

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ।

काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा शनिबार आयोजित वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो।

सयङका अध्यक्ष लोकेश लिबाङका अनुसार आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो। पाङ्पत लिबाङ वंशका सदस्यहरूको योगदानबाट अक्षयकोष स्थापनाको अभियान अघि बढाइएको उनले बताए।

अक्षयकोषमार्फत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसामग्रीमा सहयोग गर्ने योजना रहेको सयङले जनाएको छ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा ३.७० जीपीए प्राप्त गर्ने मिक्वाखोला गाउँपालिका–३, लिबाङ, ताप्लेजुङकी श्रुती लिम्बू, ३.५० जीपीए प्राप्त गर्ने सोही स्थानका कमल कुमार लिम्बू र ३.४० जीपीए प्राप्त गर्ने चैनपुर, संखुवासभाकी वर्षा लिम्बू रहेका छन्।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार **तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’**ले सम्मानित विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद, प्रशंसापत्र तथा दोसल्लासहित सम्मान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै बैरागी काइँलाले शैक्षिक अक्षयकोष स्थापना, विद्यार्थी सम्मान तथा संस्थाको वेबसाइट विमोचनजस्ता कार्य समुदायको शैक्षिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण रहेको बताए। यस्ता रचनात्मक गतिविधिले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै शिक्षा र ज्ञान आर्जनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

उनले पाङ्पत लिबाङ वंशको इतिहास, योगदान र गतिविधिलाई अभिलेखीकरण गर्दै ऐतिहासिक दस्तावेज निर्माण गर्ने प्रयासको प्रशंसा गर्दै सयङलाई बधाई तथा शुभकामना व्यक्त गरे। शिक्षा क्षेत्रमा समुदायको विकास र उन्नतिका लागि निरन्तर योगदान र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले अक्षयकोष स्थापना अभियान समुदायका लागि प्रेरणादायी र अनुकरणीय भएको बताए।

सोही अवसरमा सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो। वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, गतिविधि, शैक्षिक अभियान तथा भावी योजनालाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको सयङले जनाएको छ।

सयङले आगामी दिनमा अक्षयकोषलाई थप विस्तार गर्दै योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निरन्तर शैक्षिक सहयोग उपलब्ध गराउने जनाएको छ। साथै नेपाल तथा विदेशमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक तथा सहयोगीलाई अभियानमा जोडिन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan