महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता
लन्डन, २० असोज : बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै सबैभन्दा धेरै भएको छ।
सेप्टेम्बरमा बेलायतमा ३ लाख ५० हजार ५३६ नयाँ कार दर्ता भए। यो अघिल्लो वर्षको सेप्टेम्बरभन्दा १२ प्रतिशत बढी हो।
विद्युतीय र अन्य विद्युतीकृत कारको बिक्रीले बजार बढाउन ठूलो भूमिका खेलेको छ। यस्ता कारले कुल नयाँ कार दर्ताको ५८.४ प्रतिशत हिस्सा ओगटेका छन्।
प्लग–इन हाइब्रिड कारको दर्ता ५५.५ प्रतिशतले बढेको छ। त्यस्तै, ब्याट्रीबाट चल्ने विद्युतीय कारको बिक्री ३६.३ प्रतिशतले बढेर ९९ हजार २०१ थान पुगेको छ।
बेलायतमा अहिले विद्युतीय कारका १७८ वटा नमुना बिक्रीका लागि उपलब्ध छन्। सन् २०२३ यता यस्ता कारका विकल्प दोब्बरभन्दा बढी भएका छन्।
बढ्दो कारका विकल्प र महँगो इन्धनका कारण मानिसहरू विद्युतीय कारतर्फ आकर्षित भइरहेको बताइएको छ।
तर, सन् २०२६ का लागि तोकिएको विद्युतीय कारको बिक्री लक्ष्य भने अझै पूरा भएको छैन। यस वर्षको पहिलो नौ महिनामा विद्युतीय कारले कुल नयाँ कार दर्ताको २६.२ प्रतिशत हिस्सा मात्र ओगटेका छन्। लक्ष्य भने ३३ प्रतिशत रहेको छ।
