दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
वासुदेव पौडेल
बागमती, २१ असोजः पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रुपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रुपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन ।
चुरे शृङ्खलामा समेटिएको हेटौँडामा बिदाका दिनमा घुम्न सकिने धेरै गन्तव्य रहेको यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि निरन्तर रुपमा लागिरहेका जानकारको भनाइ छ ।
हेटौँडा प्राकृतिक एवम् ऐतिहासिक दुवैै दृष्टिले महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ र बागमती प्रदेशका सदस्य उत्तम शर्मा ढकाल बताउनुहुन्छ ।
महाभारतकालीन इतिहास जोडिएको भुटनदेवी मन्दिरदेखि ऐतिहासिक मकवानपुर गढी, हेटौँडा सहिद स्मारक, दक्षिण एसियाकै पहिलो चुरिया सुरुङ मार्ग जस्ता धेरै ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक सौन्दर्यताले भरिएका गन्तव्य हेटौँडा आसपासमा रहेको उहाँले जानकारी दिनुभयो ।
विशेषगरी दसँै, तिहारको बिदाको समयमा हेटौँडाका विभिन्न स्थानमा भ्रमण गर्न सकिने उहाँले बताउनुभयो ।
यस्ता छन् प्रमुख पर्यटकीय गन्तव्य
हेटौँडा सहिद स्मारक
हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चर्चा कमाएको गन्तव्य हो । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपाने बताउनुहुन्छ ।
स्मारकमा पूर्वाधार विस्तारसँगै विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने सहिदका बारेमा प्रकाशित पुस्तक, जीवनी, लेखरचना फोटोलगायतका विवरण एउटै थलोमा उपलब्ध गराइएको छ । सहिदका बारेमा अध्ययन अनुसन्धान एवम् खोज गर्न सहज होस् भनेर सहिद अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
स्मारक परिसरमा बालबालिकाको मनोरञ्जनका लागि चिप्लेटी, पिङ, जीप, ट्रेन, आदि सञ्चालनमा छन् । वयस्कका लागि रोटेपिङ, डुङ्गा, फ्लाइङ चेयर, फ्लाइङ कार आदि सञ्चालित छन् । त्यस्तै, साहसिक मनोरञ्जनात्मक खेल जिपलाइन, रोलर कोस्टर जिपलाइन र स्काई साइकल उपलब्ध छ ।
स्मारक परिसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको पूर्णकदको प्रतिमासहित आकर्षक बगैँचा, फाउन्टेनसहितको प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ ।
सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहज होस् भन्ने अभिप्रायले ६५ फिट अग्लो १९ मिटर गोलाइको सहिदस्तम्भ निर्माण गरिएको छ । स्तम्भ यहाँको अर्को आकर्षण हो । चारैतिरबाट कमलको फूलको जस्तो आकार देखिने र भित्री भागमा विभिन्न कालखण्ड झल्कने अर्ध अमूर्त आकृति, चार फोहोरा, आकर्षक बगैँचा, अग्रभागमा मुख्य नदीहरू, हिमशृङ्खलादेखि तराईसम्म बगिरहेको दृश्यसहितको नेपालको नक्सा राखिएको छ ।
स्मारक परिसरभित्र रहेको चिडियाघर यहाँको अर्को आकर्षण हो । पछिल्ला दिनमा यहाँ जातीय सङ्ग्रहालय स्थापना गरी मकवापुुरमा रहेका दनुवार, चेपाङ, बनकरीया, राउटे, राई, लिम्बू, नेवार, तमाङलगायत २६ जातिको पहिरन, प्रयोग गर्न सकिने सामान, सांस्कृतिक पर्वलगायतले जातीय इतिहासलाई जीवन्तता दिने प्रयास गरिएको छ ।
हेटौँडाका धार्मिक पर्यटकीय गन्तव्यहरू
धार्मिक पर्यटकीय गन्तव्यका रुपमा हेटौँडामा महाभारतकालीन भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणी धाम, भुवनेश्वर पशुपति, चुरियामाई आदि छन् । हेटौँडा उपहानगरपालिका–१० मा रहेको भुटनदेवी मन्दिरलाई महाभारतकालीन इतिहाससँग जोडेर हेरिन्छ ।
हरेक दिन दर्शनार्थीको आगमन भइरहने यस मन्दिरमा बडादसैँलगायत महत्वपूर्ण चाडपर्व र तिथिमितिमा विशेष भीड लाग्ने गरेको मन्दिरका पुजारी बुद्धिमान राई बताउनुहुन्छ । मन्दिरभित्र अष्टभुजायुक्त देवीको आकर्षक मूर्ति रहेको छ । मन्दिरभित्र देवीसँगै सिंह र दैत्यवधको प्रतीकात्मक मूर्तिले असत्यमाथि सत्यको विजयलाई देखाएको छ ।
भुटनदेवीको स्थापना सेनवंशी राजाबाट भएको मानिएको छ । देवीको पूजा दर्शन नगरी सिकार वा लडाइँमा गएमा उपलब्धि हासिल नहुने विश्वासका कारण त्यस समयदेखि नै शासकले देवीको श्रद्धाभक्तिपूर्वक पूजा गरेर मात्रै आफ्नो कार्य थालनी गर्ने गरेको किंवदन्ती छ ।
त्यस्तै, हेटौँडामा नै रहेको कुष्माण्ड सरोबर त्रिवेणी धाम यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणीमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । यस तीर्थस्थलमा विभिन्न चाडपर्व, तिथिमितिका साथै हरेक वर्षको कात्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी) मा हजारौँ दर्शनार्थी आउने गरेका छन् । कार्तिक शुक्ल नवमीका दिन यहाँ कुभिण्डो दान गरिएमा पुण्य प्राप्त हुने जनविश्वास छ ।
कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेका अनुसार यस तीर्थस्थलमा १०८ वटा गाईको मुखबाट झरिरहेका धारा (गौमुखी धारा), शिवालय, यज्ञकुण्ड, नागस्थान, स्वचालित बुद्ध दर्शनस्थल, हेडम्बा नगरीको इतिहास झल्काउने संरचना, सङ्ग्र्रहालय, फूल बगैँचा, वृत्तचित्र प्रदर्शनस्थल, मनोरेल आदि सञ्चाालनमा छन् । त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत्खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणमा उल्लेख छ ।
हेटौँडाकै अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल चुरियामाई यहाँको घुम्नै पर्ने गन्तव्य हो । चुरिया माईसँगै रहेको दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग यहाँको अर्को आकर्षणका रुपमा रहेको छ । यातयातकी देवीका रुपमा लिइने चुरिया माईमा विशेषगरी नयाँ सवारीसाधन खरिद गरेपछि पूजाआजाका लागि दर्शनार्थी पुग्ने गर्छन् ।
मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ । वरपर गणेशसहित विभिन्न देवीदेवताका मूर्ति छन् । मन्दिर परिसरमा रहेको सुरुङमार्ग पनि यहाँको अर्को आकर्षण हो ।
विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई १८७४ सालमा सम्पन्न भएको चुरियामाई सुरुङमार्ग तत्कालीन हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर सुरुङमार्ग निर्माण गरिएको हो । यसको नेतृत्व सिभिल इन्जिनियर स्व डिल्लीजङ्ग थापाले गर्नुभएको थियो ।
भुटनदेवी, चुरियामाई जस्तै हेटौँडा आसपासमा भुवनेश्वर पशुपति मन्दिर, मनकामना, पाथीभरा, वनस्खण्डी, लक्ष्मीनारायण मन्दिर, दक्षिणकाली मन्दिर, गोरक्षेश्वर धाम, रुद्रेश्वर महादेव मन्दिर आदि धार्मिक गन्तव्य छन् ।
यस्तै, राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना, सीता अशोक वाटिका पनि धार्मिक रुपमा दर्शनीय स्थलका रुपमा स्थापित छन् । हर्नामाडीस्थित मूर्ति सङ्ग्रहालय, जुरेथुमस्थित श्रीकृष्णको विशाल मूर्ति, पुष्पलाल पार्क आदि छन् ।
ऐतिहासिक रुपमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्य
हेटौँडा र आसपासका गन्तव्यमध्ये मकवानपुरगढी यहाँको अर्को ऐतिहासिक महत्वको गन्तव्य हो ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षको जीवन्त साक्षीका रुपमा रहेको यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्र्ण पर्यटकीय गन्तव्यका रुपमा चर्चामा छ ।
हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनुपूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहासलाई झल्काउने गरेको छ । यो गढीले परम्परागत तर तत्कालीन उन्नत वास्तुकलाको ज्वलन्त उदाहरणसँगै त्यस कालखण्डको सुरक्षात्मक प्रबन्धलाई जीवन्त रुपमा चित्रण गरेको छ ।
औद्योगिक एवम् कृषिमा उदीयमान गन्तव्य
हेटौँडा देशकै तेस्रो ठूलो औद्योगिक सहर हो । यहाँ धेरै उद्योग सञ्चालमना छन् । भारतसँगको प्रमुख नाका वीरगञ्जसँग राजधानी काठमाडौँलाई जोड्ने सहरका रुपमा पनि यसको महत्व छ । पछिल्ला दिनमा कृषि पर्यटनका क्षेत्रमा उदाइरहेका हेटौँडा आसपासका पदमपोखरी, बकैया आदि स्थानको पनि पर्यटकीय उपयोग गर्न सकिने देखिन्छ ।
धेरै पर्यटकीय गन्तव्य रहे पनि प्रवद्र्धनको अभावमा सदुपयोग हुन नसकेको मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ढकालले बताउनुभयो । दसैँ, तिहार जस्ता बिदामा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्यउने गरी लाग्नु आवश्यक भएको उहाँको भनाइ छ ।
भारतसँगको सीमाबाट नजिकै रहेको हेटौँडामा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको आकर्षण बढाउन सकिने हिमालय राइडर्स सोसाइटी, हेटौँडाका अध्यक्ष राजु थापा मगर बताउनुहुन्छ । “गन्तव्यको प्रवद्र्धन गर्दै पर्यटकको आकर्षण बढाउन पर्यटन सम्बद्ध सबैको एकतावद्ध प्रयास आवश्यक छ,”, उहाँले भन्नुभयो, “विशेष गरी दसैँ, तिहारको बिदाको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकलाई हेटौँडा पनि एउटा घुनै पर्ने गन्तव्य हो भन्ने बुझाउनु अपरिहार्य छ ।”
–
