अमेरिका–रुस डिजेल सम्झौता ‘अस्वीकार्य’: जर्मन चान्सलर मेर्ज
जर्मन चान्सलर फ्रेडरिक मेर्जले अमेरिका र रुसबीच डिजेल इन्धन निर्यातसम्बन्धी हालै भएको सम्झौता जर्मनी र युरोपका लागि ‘अस्वीकार्य’ रहेको बताउनुभएको छ ।
सोमबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेर्जले जर्मनीले रुसमाथि लगाइएका प्रतिबन्धको पालना गरिरहेको स्पष्ट पार्नुभयो । साथै, उहाँले युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेर्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनी र समग्र युरोपमाथि पूर्ण भरोसा गर्न सक्ने पनि बताउनुभयो ।
गत शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको थियो । वार्तापछि ट्रम्पले रुसले अमेरिका तथा विश्व बजारमा डिजेल इन्धन आपूर्ति गर्ने विषयमा पुटिनसँग सहमति भएको घोषणा गर्नुभएको थियो ।
यसैबीच, शनिबार रुसी सरकारले सन् २०२६ को सुरुदेखि लागू हुँदै आएका डिजेल इन्धन निर्यातसम्बन्धी प्रतिबन्ध आंशिक रूपमा हटाएको थियो ।
