Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | रासस

 राँझा (बाँके), २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ । 

    वर्षायाममा केही सुनसान बनेका यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल बढेको छ । चाडपर्वको अवसर पारेर घर फर्किएका स्थानीय, छिमेकी जिल्लाका बासिन्दा र टाढा–टाढाबाट आएका आन्तरिक पर्यटकले होमस्टे भरिभराउ भएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो ।

    “वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रुपमा बढ्दो रहेको छ,” उहाँले भन्नुभयो, “बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना  आउने गरेका छन् ।” 

    छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

    थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । बर्सातमा सुनसान हुन पुगेको गाभर भ्याली होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।

    बाहिरी जिल्लाका साथसाथै दसैँ पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको चौधरीले बताउनुभयो । “यतिबेला बाहिरी जिल्लासँगै जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ,” चौधरीले भन्नुभयो, “दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका समेत समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।”

    दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी गाउँपालिका–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ छ । 

    वर्षायाम समाप्त भएसँगै प्राकृतिक सौन्दर्य र दुर्लभ वन्यजन्तुको प्राकृतिक बासस्थान मानिने बाँके राष्ट्रिय निकुञ्ज पुनः नयाँ ऊर्जाका साथ ब्युँझिएको छ । मनसुनका कारण केही महिनाका लागि स्थगित गरिएको जङ्गल सफारी औपचारिक रूपमा शुभारम्भ भएपछि निकुञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि र चहलपहल ह्वात्तै बढेको छ ।

    विशेषगरी विश्वमै दुर्लभ र नेपालको संरक्षित वन्यजन्तु चौसिंगा (चार सिङ भएको मृग) अवलोकनका लागि देश–विदेशमा परिचित बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तु प्रेमी र प्रकृतिप्रेमी पर्यटकका लागि प्रमुख रोजाइको गन्तव्य बन्दै गएको गाभर भ्याली  होमस्टेका अध्यक्ष चौधरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan