‘प्रकृतिमाथिको हस्तक्षेप नियन्त्रण प्रयास अझै विफल’
प्रकृति संरक्षणका लागि विश्वले दिएका प्रतिबद्धता पूरा गर्न असफल भइरहेको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताउनुभएको छ । उहाँले आगामी साता हुने विश्वव्यापी जैविक विविधता शिखर सम्मेलनअघि प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो ।
“प्रगतिको धेरै महत्वपूर्ण तत्वहरू अझै पनि कार्यान्वयनमा गएका छैनन् भने प्रतिवेदनले देखाउँछ”, गुटेर्रेसले आर्मेनियाको येरेभानमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो, “प्रकृतिमाथि युद्ध अझै सकिएको छैन।”
सन् २०३० सम्म प्रकृति विनाश रोक्न र उल्टाउन चार वर्षअघि ऐतिहासिक सम्झौता गरेपछि झण्डै २०० राष्ट्रहरू सोमबार येरेभानमा संयुक्त राष्ट्र सङ्घको जैविक विविधतासम्बन्धी वार्ताका लागि भेला हुँदैछन्।
‘प्रकृति संरक्षणका लागि पेरिस सम्झौता’ ले प्रदूषण घटाउने, लोपोन्मुख प्रजातिहरूको संरक्षण गर्ने र विश्वको ३० प्रतिशत जमिन तथा समुद्र संरक्षण गर्नेलगायत २३ वटा लक्ष्य तोकेको थियो।
“‘महत्त्वाकाङ्क्षी योजना र कार्यान्वयनबीच खाडल’ रहेको छ र सदस्य राष्ट्रहरूले लक्ष्यहरूलाई सही बाटोमा ल्याउन प्रयास दोब्बर गर्न आवश्यक छ,” गुटेर्रेसले भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रगति भएको छ तर विशेष गरी संरक्षणका लागि वित्त व्यवस्थापन र प्रकृतिलाई हानि पु¥याउने सार्वजनिक खर्चलाई रूपान्तरण गर्ने काममा अझै धेरै गर्न बाँकी छ।”
“राम्रो नियत राख्दैमा मात्र प्रकृति फस्टाउँदैन,” गुटेरेसले भन्नुभयो ।
“आज हामीले प्रस्तुत गरेको प्रतिवेदनको प्रमाणबाट निर्देशित भएर हामी जैविक विविधताको ह्रास रोक्न र उल्टाउन सक्छौँ र सबै मानव जीवन तथा समृद्धिको आधार रहेको प्रकृतिलाई सुरक्षित गर्न सक्छौँ।”

