Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस/एएफपी)

रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ ।

    क्रेमलिनका अनुसार, रुसी नियन्त्रणमा रहेको युक्रेनको ओलेश्की सहरमा युद्धविरामको तयारी भइरहेको छ । साथै, अग्रपङ्क्तिमा छोटो अवधिको मानवीय युद्धविराम गर्न पनि रुस तयार रहेको जनाएको छ ।

    युक्रेनको दक्षिणी सहर ओलेश्कीमा मङ्गलबार बिहानदेखि युद्धविराम लागू हुने भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा यो सहमति भएको हो । उक्त सहरका बासिन्दाले महिनौँदेखि खाद्यान्न, पानी र औषधिको चरम अभाव झेलिरहेको विवरण सार्वजनिक भएका थिए ।

    रुसले अन्य स्थानमा पनि स्थानीय युद्धविरामबारे विचार गर्न सक्छ कि सक्दैन भन्ने पत्रकारहरूको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “मानवीय उद्देश्यका लागि हो भने पक्कै पनि ।”

    तर, अमेरिकाको मध्यस्थतामा अर्को महिना रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने तयारी भइरहे पनि रुसले समग्र सैन्य कारबाहीमा कुनै कमी नल्याउने स्पष्ट पारेको छ ।

    “त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने निर्णयले सैन्य कारबाहीमा कुनै किसिमको प्रतिबन्ध लगाउने अर्थ राख्दैन,” पेस्कोभले भन्नुभयो ।

    उहाँले रुसी सशस्त्र बलले युक्रेनको सैन्य तथा औद्योगिक पूर्वाधारमा व्यापक आक्रमण जारी राखेको बताउनुभयो । 

    पछिल्ला केही सातायता रुसले युक्रेनका प्रमुख सहर र ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । युक्रेनी अधिकारीहरूका अनुसार, यी आक्रमणको उद्देश्य देशलाई जाडोयामभरि चिसो र अन्धकारमा धकेल्नु हो ।

    गत वर्ष भएका यस्तै आक्रमणका कारण तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झर्दा लाखौँ मानिस ताप र विद्युत् सुविधाबाट वञ्चित भएका थिए ।

    दोस्रो विश्वयुद्धयता युरोपमा भएको सबैभन्दा भीषण द्वन्द्व अन्त्य गर्ने उपायबारे छलफल गर्न अर्को महिना रुस र युक्रेनका प्रतिनिधिले अमेरिकी प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम छ ।

    यसअघि भएका विभिन्न चरणका वार्ता कुनै सहमतिमा पुग्न सकेका थिएनन् । रुसले पूर्वी युक्रेनमा थप भू–भागमाथि आफ्नो नियन्त्रण कायम गर्न तथा युक्रेनमाथि व्यापक सैन्य र राजनीतिक प्रतिबन्ध लगाउन माग गर्दै आएको छ ।

    युक्रेन र उसका सहयोगी राष्ट्रहरूले भने रुसी मागलाई आत्मसमर्पणसरह मानेका छन् । उनीहरूका अनुसार, ती माग स्वीकार गरेमा युक्रेन भविष्यमा हुने रुसी आक्रमणको जोखिममा पर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan