Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस/सिन्ह्वा)

दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आक्रमणबारे जोर्डनले सिरियाली सरकारसँग समन्वय गरिएको दाबी गरे पनि दमास्कसले त्यसलाई अस्वीकार गरेको छ ।

    दाराको स्वास्थ्य निर्देशनालयका प्रमुख खालिद अल–अम्यानका अनुसार मृतकमा तीन बालबालिका, तीन पुरुष र एक महिला छन् । उद्धार टोलीले थप पीडितको खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभएको छ ।

    सिरियाली सरकारले आफ्नो सहमतिबिना आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको र प्रभावितलाई सहायता उपलब्ध गराइरहेको सरकारले जनाएको छ । यसैबीच, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाले जोर्डनसँगको नासिब सीमा नाका मङ्गलबार बन्द गर्ने घोषणा गरेको छ । नाका बन्द हुँदा यात्रु तथा व्यावसायिक यातायात दुवै दिशामा रोकिनेछन् ।

    मानव अधिकारका लागि सिरियाली अब्जर्भेटरीका अनुसार सोमबार दारा र छिमेकी स्वीडा प्रान्तका विभिन्न स्थानमा हवाई आक्रमण भएका थिए । तीमध्ये अल–मुजायरिब, नासिब र खलखलाह सैन्य विमानस्थल आसपासका क्षेत्र पनि छन् ।

    जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार जोर्डनको सेनाले दक्षिणी सिरियामा आतङ्कवादीहरू लुकेका स्थानलाई लक्षित गरी आक्रमण गरेको हो । सेनाले ‘जोर्डानियन डिटेरेन्स–हमौद’ अभियान सिरियाली सरकारसँगको समन्वयमा सञ्चालन गरिएको दाबी गरेको छ ।

    जोर्डनले शुक्रबार काराक प्रान्तमा चर्चको अन्त्येष्टिका क्रममा भएको घातक आक्रमणको जवाफमा कारबाही गरिएको जनाएको छ । उक्त घटनाका जिम्मेवार व्यक्ति दक्षिणी सिरियामा सक्रिय उग्रवादी समूहसँग सम्बन्धित रहेको जोर्डनको आरोप छ । सेनाले आक्रमणमा केही शङ्कास्पद आतङ्कवादी मारिएको वा घाइते भएको तथा उनीहरूका अखडा र उपकरण नष्ट गरिएको बताए पनि हताहतको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan