कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री
कर्णाली, १४ कात्तिकः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताउनुभएको छ ।
लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको आज निरीक्षणपछि छलफल गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षण आवश्यक भएको बताउनुभयो । उहाँले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गर्नुभयो ।
कर्णालीका रैथानेबाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादन, माटोको उर्वराशक्ति र यहाँका परम्परागत कृषि उपज संरक्षण अपरिहार्य भएको मुख्यमन्त्री शाहीको भनाइ थियो । पर्याप्त मात्रामा जैविक मल उत्पादन, बिक्री वितरण गर्ने गरी अध्ययन र अनुसन्धान अगाडि बढाउन उहाँले निर्देशन दिनुभयो । रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीका रैथाने कृषि उत्पादन लोप हुने अवस्थामा पुग्नु राम्रो कुरा होइन् । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने र रैथाने बाली जोगाउने उपायबारे केन्द्रले विस्तृत अध्ययन गर्नुपर्छ । केन्द्रले रासायनिक मल प्रयोग नभएको शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्छ ।”
छलफलमा कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देविनिधि तिवारीले केन्द्रले भोग्नुपरेको समस्याबारे जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशनालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटै जिल्ला भए पनि आवश्यक जनशक्तिको अभावका कारण सबै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिएको छैन । बीउ उत्पादन कार्यमा प्रदेश सरकारको थप लगानी भएमा अझ धेरै र प्रभावकारी काम गर्न सकिन्छ ।

