धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो दुई राउन्ड हवाई फायर
काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले दुईवटा जिपमा लोड गरिरहेको अवस्थामा २१० किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडामा सोमबार बिहान गाँजा ओसारपसार गर्ने तयारी भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा दुईवटा जिपमा गाँजा लोड गरिरहेका पाँच जनालाई प्रहरीले फेला पारेको हो।
प्रहरी टोलीलाई देखेपछि पक्राउ पर्ने व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ। त्यसपछि पाँचै जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनास्थलबाट २१० किलो गाँजा र गाँजा ओसारपसारमा प्रयोग गर्न लागिएका दुईवटा जिप नियन्त्रणमा लिएको छ।
पछिल्लो समय पूर्वी पहाडी जिल्लाबाट गाँजा संकलन गरी विभिन्न सवारीसाधनमार्फत ओसारपसार गर्ने गतिविधि बढिरहेको आशंकाबीच प्रहरीले गरेको यो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाँजाको स्रोत, ओसारपसारको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

