सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ
काठमाडौँ, १६ कात्तिकः नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को इ–सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात (डकुमेन्ट) परिवर्तन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।
ब्युरोमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट संलग्नता खुलेपछि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता अवस्थीले बताउनुभयो ।
पक्राउ परेका व्यक्तिमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताउनुभयो ।
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा धादिङका आशिका सिम्खडा, उदयपुरका विष्णु खत्री, सिन्धुलीका दिनेश पाख्रेन तामाङ र गोरखाका राजेश बराम छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत पठाइदिने भन्दै रु सात लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै रु छ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै रु दुई लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै रु १५ लाख ५० हजार रकम उठाएका थिए ।
विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको कार्यालयले जनाएको छ ।

