Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस-एएफपी)
newsabhiyan

वासिङ्टन, १८ कात्तिक : अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा समेत डेमोक्रेटिक पार्टीले प्रभाव विस्तार गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढ्ने सङ्केत देखिएको छ ।

डेमोक्रेटहरूले सिनेटका महत्त्वपूर्ण सिट सुरक्षित राख्नुका साथै जर्जियाको गभर्नर पदमा पनि सफलता हासिल गर्ने अनुमान गरिएको छ । यद्यपि, कङ्ग्रेसका दुवै सदनको नियन्त्रण कसले लिने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन ।

ट्रम्पको दोस्रो कार्यकालप्रति जनमत परीक्षणका रूपमा हेरिएको यस चुनावमा जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानविरुद्धको अमेरिकी युद्ध प्रमुख मुद्दा बनेका छन् । युद्धका कारण इन्धनको मूल्य तीव्र रूपमा बढेको विषयले राष्ट्रपति र उहाँको पार्टीमाथि दबाब थपेको छ ।

डेमोक्रेटहरूले उत्तरी क्यारोलिनामा रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाको एक सिट जितेका छन् । उक्त क्षेत्रमा ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा सहज जित हासिल गर्नुभएको थियो । फ्लोरिडामा पनि निर्वाचन क्षेत्रको पुनः निर्धारणबाट रिपब्लिकनले अपेक्षा गरेअनुसार लाभ लिन नसक्ने सङ्केत देखिएको छ ।

जर्जियामा एटलान्टाकी पूर्वमेयर केइशा ल्यान्स बटम्सले गभर्नर पद जित्ने अनुमान गरिएको छ । उहाँ निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्नुहुनेछ । यससँगै जर्जियामा २४ वर्षदेखि कायम रिपब्लिकन शासनको अन्त्य हुनेछ ।

यद्यपि, फ्लोरिडामा ट्रम्पको समर्थन प्राप्त बायरन डोनाल्ड्सले गभर्नर पदको चुनाव जित्नुभएको छ । उहाँ निर्वाचित भए राज्यको पहिलो अश्वेत गभर्नर बन्नुहुनेछ । रिपब्लिकन एशले मूडीले पनि सिनेटको आफ्नो सिट सुरक्षित राख्नुभएको छ ।

उत्तरी क्यारोलिनामा डेमोक्रेट रोय कुपरले ट्रम्पद्वारा छनोट गरिएका पूर्वरिपब्लिकन राष्ट्रिय समिति अध्यक्ष माइकल ह्वाटलीलाई पराजित गर्नुभएको छ । ट्रम्पलाई लगातार तीन पटक समर्थन गरेको यस राज्यमा कुपरले जीवनयापनको लागत घटाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाउनुभएको थियो । उहाँले राष्ट्रपतिसँग मतभेद राख्दै आउनुभएका अवकाशप्राप्त रिपब्लिकन सिनेटर थोम टिलिसको स्थान लिन प्रतिस्पर्धा गर्नुभएको थियो ।

जर्जियामा सन् २०२८ को राष्ट्रपतीय चुनावका सम्भावित उम्मेदवारका रूपमा हेरिनुभएका डेमोक्रेटिक सिनेटर जोन ओसोफले पनि आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वीलाई पराजित गर्नुभएको छ । त्यस्तै, न्यु ह्याम्पसायरमा क्रिस पप्पास निर्वाचित हुनुभएको छ । उहाँ अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो खुलेर समलिङ्गी पहिचान सार्वजनिक गर्नुभएका व्यक्ति बन्नुभएको छ ।

चुनावअघि सिनेटका कुल १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटसँग ४७ सिट थिए । सिनेटको नियन्त्रण लिन डेमोक्रेटहरूले कम्तीमा चार सिटको खुद लाभ हासिल गर्नुपर्ने थियो । प्रतिनिधिसभाका सबै ४३५ सिटमा भएको चुनावमा बहुमत प्राप्त गर्न उनीहरूले कम्तीमा तीन सिट आफ्नो पक्षमा पार्न आवश्यक थियो ।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले देश ‘दिशाको नाटकीय परिवर्तनको सँघारमा’ रहेको बताउनुभएको छ ।

डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरे ट्रम्पका विधायी योजनाहरू अवरुद्ध गर्न र इरानसँगको युद्ध, आप्रवासी निष्कासन तथा कथित भ्रष्टाचारबारे प्रशासनको छानबिन गर्न सक्नेछन् । सिनेटमा पनि नियन्त्रण हासिल गरे न्यायाधीश तथा वरिष्ठ प्रशासनिक अधिकारीको नियुक्ति रोक्न सक्नेछन् । यसले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षमा शासन सञ्चालन गर्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ ।

मतदाताका लागि जीवनयापनको बढ्दो खर्च प्रमुख चिन्ताको विषय बनेको छ । लस एन्जलसका २४ वर्षीय मतदाता टेलर कुकले भाडा, खाद्यान्न, उपयोगिता सेवाका बिल र सम्पत्ति कर बढिरहेको बताउँदै यी खर्च घटाउन काम गर्ने प्रतिनिधि कङ्ग्रेसमा चाहिएको एएफपीलाई बताउनुभयो ।

मङ्गलबार अन्तिम टेलिभिजन उपस्थितिका क्रममा ट्रम्पले भन्सार शुल्क, आप्रवासन नियन्त्रण र इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्नुभएको थियो । ‘हामीले अमेरिकालाई महान् राख्नुपर्छ । अहिले हामी महान् छौँ । दुई वर्षअघि हामी भयावह अवस्थामा थियौँ’, ८० वर्षीय ट्रम्पले फक्स न्युजसँग भन्नुभएको थियो ।

यसैबीच, मियामीका ७० वर्षीय रिपब्लिकन मतदाता मारु रेस्ट्रेपोले डेमोक्रेटहरू ‘अत्यधिक समाजवादी’ बनेको टिप्पणी गर्नुभएको थियो । यसले चुनावी अभियानमा देखिएको वैचारिक विभाजनलाई प्रतिबिम्बित गरेको छ ।

प्रतिकूल चुनावी परिणाम ट्रम्पले स्वीकार गर्नुहुने हो वा होइन भन्ने विषयमा पनि अनिश्चितता कायम छ । उहाँले यसअघि चुनावमा धाँधली भएको अप्रमाणित दाबी गर्दै सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउने प्रयास गर्नुभएको थियो ।

सोमबार सार्वजनिक पोडकास्टमा ट्रम्पले डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिए आफूले सबै विषयमा भिटो प्रयोग गर्ने बताउनुभएको थियो । यद्यपि, उहाँले अन्ततः सहमतिका लागि वार्ता गर्न सक्ने सम्भावना पनि व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan