Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको विचारलाई गीत–संगीतमार्फत गाउँगाउँ पुर्‍याउने अभियन्ता डिबी गुरुङ 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | सागर श्रेष्ठ
newsabhiyan

लोकतान्त्रिक आन्दोलनका गीतका सर्जकदेखि कलाकारको संगठन निर्माण र राज्यको प्रशासनिक जिम्मेवारीसम्मको अनुभव बोकेका गुरुङ राजनीतिक यात्रामा अघि बढ्ने तयारीमा हुनुहुन्छ । 

नेपाली कांग्रेसको राजनीतिक विचार, लोकतान्त्रिक आन्दोलन र पार्टीको इतिहासलाई गीत–संगीतमार्फत जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ अब सक्रिय राजनीतिमा अघि बढ्ने तयारीमा हुनुहुन्छ। लामो समयदेखि सांगीतिक सिर्जना, संगठन निर्माण, सामाजिक तथा प्रशासनिक क्षेत्रमा अनुभव हासिल गर्नुभएका गुरुङको राजनीतिक प्रवेशलाई उहाँको अहिलेसम्मको योगदानको स्वाभाविक निरन्तरताका रूपमा हेरिएको छ।

नेपाली कांग्रेसको राजनीतिक इतिहासमा गीत–संगीतलाई चुनावी अभियान र जनजागरणको प्रभावकारी माध्यम बनाउने सुरुवाती अभियन्तामध्ये गुरुङ एक हुनुहुन्छ। विसं २०४८ सालको आमनिर्वाचनको पूर्वसन्ध्यामा प्रजातन्त्र पुनर्बहालीपछिको राजनीतिक उत्साह देशभर फैलिरहेका बेला उहाँले ‘जय नेपाल जनसन्देश’ नामक अडियो क्यासेटमार्फत कांग्रेसका लागि औपचारिक रूपमा राजनीतिक गीत निर्माण तथा प्रचारप्रसारको सुरुवात गर्नुभएको थियो।

त्यतिबेला तयार पारिएको ‘जाग जाग कांग्रेस जाग जाग रे‘’ बोलको गीत नेपाली कांग्रेसको राजनीतिक सांगीतिक इतिहासमा महत्वपूर्ण पहिचान बनाउन सफल भयो। उक्त गीत लिएर गुरुङ काठमाडौंको चाक्सीबारीस्थित लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) समक्ष पुग्नुभएको थियो। नेताहरूले कांग्रेसको गीत कस्तो हुन्छ भनेर जिज्ञासा राख्दा उहाँले गीतमा प्रजातन्त्र, समाजवाद, पार्टीको विचार र जनताले रुख चिह्नमा मतदान गर्नुपर्ने राजनीतिक सन्देश समेटिएको बताउनुभएको थियो।

त्यसपछि उक्त गीत र क्यासेट देशभर लोकप्रिय बन्यो। विभिन्न विवरणअनुसार ठूलो संख्यामा क्यासेट उत्पादन तथा वितरण भएको थियो। यसले नेपाली कांग्रेसको चुनावी अभियानमा गीत–संगीतलाई व्यवस्थित रूपमा प्रयोग गर्ने नयाँ सांस्कृतिक परम्पराको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेको थियो।

पारिवारिक राजनीतिक विरासत र लोकतन्त्रप्रतिको निष्ठा

गुरुङको कांग्रेसप्रतिको राजनीतिक आस्था केवल व्यक्तिगत रुचिमा सीमित छैन। यसको पृष्ठभूमिमा पारिवारिक राजनीतिक विरासतसमेत जोडिएको छ। उहाँका बडाबाउ मेजर तिलबहादुर गुरुङ ब्रिटिस आर्मीबाट अवकाश पाएपछि नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएको थियो।

भारतको स्वतन्त्रता संग्राम र महात्मा गान्धीको सत्याग्रह आन्दोलनको प्रभाव नजिकबाट अनुभव गर्नुभएका मेजर तिलबहादुर स्वदेश फर्किएपछि कांग्रेसको आन्दोलनमा होमिनुभएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले समेत आफ्नो ‘आत्मवृत्तान्त’मा मेजर तिलबहादुरको साहस र योगदानको स्मरण गर्नुभएको छ।

पूर्वी नेपालको भ्रमणका क्रममा तमोर नदीमाथिको साँघुरो पुलमा बीपी सवार घोडा तर्सिएर नदीमा खस्न लाग्दा मेजर तिलबहादुरले बीपीलाई तानेर बचाउनुभएको प्रसंग उहाँको साहसको उदाहरणका रूपमा स्मरण गरिन्छ। कांग्रेसप्रतिको राजनीतिक आस्थाकै कारण उहाँले लामो समय धनकुटा जेलमा राजकाजसम्बन्धी मुद्दासमेत खेप्नुपरेको थियो। परिवारभित्रै लोकतन्त्रका लागि गरिएको त्याग, संघर्ष र बलिदानको इतिहासबाट प्रभावित गुरुङमा सानैदेखि कांग्रेसको विचारप्रति आकर्षण बढेको देखिन्छ।

प्रतिकूल अवस्थामा पनि लोकतन्त्रका पक्षमा सांगीतिक अभियान

गुरुङको सांगीतिक यात्रा सहज परिस्थितिमा मात्र अघि बढेको होइन। सशस्त्र द्वन्द्वका बेला सल्यानमा माओवादीबाट नेपाली कांग्रेसका नौ जना नेता तथा कार्यकर्ताको हत्या भएपछि देशमा त्रासपूर्ण वातावरण सिर्जना भएको थियो। त्यसबेला कांग्रेसको पक्षमा गीत गाउन र संगीत सिर्जना गर्नसमेत धेरै कलाकार हिचकिचाउने अवस्था थियो।

यस्तो चुनौतीपूर्ण समयमा गुरुङले राजेन्द्रबहादुर शाह र दीर्घराज रेग्मीका शब्दमा संगीत भरेर ‘आँसु’ नामक एल्बम सार्वजनिक गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। सहिदहरूको पीडा, संघर्ष र बलिदान समेटिएको उक्त एल्बम तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पोखराबाट विमोचन गर्नुभएको थियो।

एल्बम सार्वजनिक भएपछि गुरुङले करिब पाँच महिनासम्म माओवादी पक्षबाट धम्की र दबाबसमेत सामना गर्नुपरेको थियो। तर उहाँले लोकतान्त्रिक विचार र राजनीतिक आस्थालाई सांगीतिक माध्यमबाट अभिव्यक्त गर्ने अभियानलाई निरन्तरता दिनुभयो। यसले उहाँको सांगीतिक योगदानसँगै राजनीतिक प्रतिबद्धता र साहसलाई पनि उजागर गर्छ।

कलाकारको हकहित र संगठन निर्माणमा नेतृत्वदायी भूमिका

गीत–संगीत सिर्जनासँगै कलाकारहरूको हकहित, अधिकार र संस्थागत विकासका लागि पनि गुरुङले उल्लेखनीय काम गर्नुभएको छ। उहाँले प्रारम्भमा ‘हिमाली सांस्कृतिक संघ’मार्फत सांस्कृतिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। त्यसपछि ‘जय नेपाल सांस्कृतिक प्रतिष्ठान’लाई देशव्यापी रूपमा विस्तार गर्ने अभियानमा समेत सक्रिय हुनुभयो।

राजनीतिक दलहरूले कलाकारलाई चुनावी कार्यक्रममा मनोरञ्जन र भीड जुटाउने माध्यमका रूपमा मात्र प्रयोग गर्ने तर उनीहरूको पेसागत हकहित र सुरक्षामा पर्याप्त ध्यान नदिने अवस्था देखेपछि उहाँले कलाकारलाई संगठित गर्ने अभियान अघि बढाउनुभयो।

विसं २०५७ सालमा करिब एक हजार कलाकारको हस्ताक्षरसहित ‘नेपाल सांस्कृतिक कलाकार संघ’लाई श्रम विभागमा दर्ता गराउन उहाँ सफल हुनुभयो। ट्रेड युनियन काउन्सिलसँग आबद्ध उक्त संस्थालाई देशका ५५ भन्दा बढी जिल्लामा विस्तार गर्दै उहाँले तीन कार्यकाल नेतृत्व गर्नुभयो। कलाकारहरूको पेसागत पहिचान, अधिकार र संगठनात्मक एकताका लागि उहाँको यो योगदान महत्वपूर्ण मानिन्छ।

पाँच सयभन्दा बढी गीतका सर्जक

गुरुङका पाँच सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। तीमध्ये करिब ९५ वटा नेपाली कांग्रेसको विचार, इतिहास, आन्दोलन र राजनीतिक अभियानसँग सम्बन्धित छन्। आधुनिक, लोक, भजनलगायत विभिन्न विधामा उहाँले गीत सिर्जना गर्नुभएको छ।

गीत–संगीतलाई केवल मनोरञ्जनको माध्यम नभई राजनीतिक चेतना, सामाजिक जागरण र विचार प्रवाहको सशक्त माध्यमका रूपमा प्रयोग गर्दै आउनुभएका गुरुङले पूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्ला र दुर्गम बस्तीमा पुगेर सांगीतिक अभियान सञ्चालन गर्नुभएको छ। रोल्पा, रुकुम, प्युठान, जाजरकोट, बैतडी र डडेल्धुरालगायत जिल्लामा पुगेर उहाँले कांग्रेसको विचार र लोकतान्त्रिक सन्देशलाई गीतका माध्यमबाट जनतामाझ पुर्‍याउनुभएको छ।

प्रशासनिक र नीतिगत जिम्मेवारीको अनुभव

गुरुङको अनुभव सांस्कृतिक र राजनीतिक क्षेत्रमा मात्र सीमित छैन। उहाँले राज्यका विभिन्न निकायमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा उहाँले स्थानीय निकाय वित्तीय आयोगको उपाध्यक्ष तथा राजस्व विज्ञका रूपमा काम गर्नुभएको थियो। त्यस्तै, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारका बेला सहरी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुभएको थियो।

यी जिम्मेवारीले उहाँलाई स्थानीय तहको वित्तीय व्यवस्थापन, राजस्व नीति, आवास तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी अनुभव प्रदान गरेका छन्। सांस्कृतिक क्षेत्रको नेतृत्व, कलाकार संगठन निर्माण र सरकारी निकायमा काम गरेको अनुभव उहाँको सार्वजनिक जीवनका महत्वपूर्ण पक्ष हुन्।

अब राजनीतिक यात्रामा अघि बढ्ने तयारी

लामो समयसम्म नेपाली कांग्रेसको विचार र लोकतान्त्रिक आन्दोलनलाई गीत–संगीतमार्फत जनतासम्म पुर्‍याउँदै आउनुभएका डिबी गुरुङ अब प्रत्यक्ष राजनीतिक यात्रामा अघि बढ्ने तयारीमा हुनुहुन्छ। उहाँको यो कदमलाई सांस्कृतिक अभियानबाट राजनीतिक नेतृत्व र नीतिगत भूमिकातर्फको यात्राका रूपमा लिन सकिन्छ।

राजनीतिमा विचार, संगठन, जनसम्पर्क र जनताको समस्यालाई बुझ्ने क्षमता महत्वपूर्ण मानिन्छ। गुरुङसँग सांगीतिक माध्यमबाट देशका विभिन्न भूगोल र समुदायसँग जोडिएको अनुभव, कलाकार संगठनलाई देशव्यापी बनाएको नेतृत्व क्षमता तथा सरकारी निकायमा जिम्मेवारी निर्वाह गरेको प्रशासनिक अनुभव छ।

पारिवारिक राजनीतिक पृष्ठभूमि, नेपाली कांग्रेसको विचारप्रतिको लामो निष्ठा, लोकतान्त्रिक आन्दोलनका लागि गरेको सांगीतिक योगदान र संस्थागत नेतृत्वको अनुभव बोकेका गुरुङको अबको राजनीतिक यात्राले कस्तो दिशा लिन्छ भन्ने चासो बढेको छ।

गीतबाट जनताको भावना बोल्दै आउनुभएका गुरुङ अब जनताको आवाजलाई राजनीतिक मञ्चबाट उठाउने यात्रामा अघि बढ्न खोज्दै हुनुहुन्छ। पाँच सयभन्दा बढी गीतमार्फत आफ्नो सिर्जनात्मक पहिचान बनाएका उहाँका लागि अबको चुनौती सांगीतिक अभियानमा प्राप्त अनुभवलाई जनताको प्रत्यक्ष सेवा, राजनीतिक जिम्मेवारी र परिणाममुखी नेतृत्वमा रूपान्तरण गर्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan