वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली
श्रीनगर (भारत), २० कात्तिक : काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गर्नुभएको छ ।
तेत्तिस वर्षीय अलीले ‘वाइल्डपिङ’ नामक निःशुल्क वेबसाइट बनाउनुभएको छ । यसमा प्रयोगकर्ताले भालु, चितुवा तथा अन्य वन्यजन्तु देखिएको स्थानको जानकारी दिन सक्छन् । त्यसका आधारमा जोखिममा रहेका आसपासका मानिसको मोबाइलमा चेतावनी पुग्छ ।
आमाको मृत्यु भएको पहिलो वार्षिकोत्सवका अवसरमा गत अक्टोबरमा यो प्रणाली सार्वजनिक गर्नुभएका अलीले आफ्नो पीडाबाट अरूलाई जोगाउन प्रविधिको उपयोग गर्न चाहेको बताउनुभएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ यता काश्मीरमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने कम्तीमा ५० जनामध्ये उहाँकी आमा पनि हुनुहुन्थ्यो ।
वन विनाश र वन्यजन्तुको बासस्थान खुम्चिँदै जाँदा हिमालय क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ । काश्मीरमा दशकौँदेखि जारी द्वन्द्व, सीमाक्षेत्रमा लगाइएका बार र सैन्य उपस्थितिले पनि वन्यजन्तुको आवागमनमा अवरोध पुर्याएको छ ।
वाइल्डपिङमा घर, खेत, विद्यालय र बालबालिका हिँड्ने बाटोलाई निगरानी क्षेत्रका रूपमा निर्धारण गर्न सकिन्छ । ती क्षेत्रमा वन्यजन्तु देखिएमा प्रयोगकर्ताले मोबाइलमा सूचना पाउँछन् । यसले द्वन्द्व रोक्न नसके पनि समयमै सतर्क भएर परिवारलाई सुरक्षित राख्न वा सहयोग माग्न सकिने वेबसाइटमा उल्लेख छ ।
काश्मीरमा पाइने दुई प्रजातिका भालुमध्ये हिमाली कालो भालु वन्यजन्तुको आक्रमणबाट हुने मृत्यु र घाइतेका ८० प्रतिशतभन्दा बढी घटनामा संलग्न रहेको विज्ञहरूको भनाइ छ । यस क्षेत्रमा खैरो भालु र चितुवासमेत पाइन्छन् ।
अङ्ग्रेजी, हिन्दी र उर्दू भाषामा उपलब्ध वेबसाइटले सञ्चालनको एक महिनाभन्दा कम अवधिमै करिब नौ हजार आगन्तुक आकर्षित गरेको छ । सयौँ प्रयोगकर्ता नियमित रूपमा यसमा फर्किने गरेका छन् ।
स्थानीय बासिन्दा यासिर इकबालले पनि भालु देखेपछि तत्कालै वेबसाइटमार्फत जानकारी गराउनुभएको थियो । उहाँका अनुसार गाउँका धेरै मानिसले यसको प्रयोग गर्न थालेका छन् । वन्यजन्तु देखिएका स्थानबारे समयमै सूचना पाउँदा मानिसको ज्यान जोगाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।


