दमौली खेलमैदान स्तरोन्नति गरिँदै
दमौली ९तनहुँ०, २६ कात्तिक : ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो ।
खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ ।
नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले खेलमैदान स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताउनुभयो । नगरपालिकाको बजेटबाट यसअघि नै खेलमैदानमा ‘प्यारापिट’ निर्माण गरिसकिएको छ । प्यारापिट निर्माणपछि अब मैदानको अवस्था सुधार गर्दै खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार थप्ने तयारी गरिएको गुरुङले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको र खेलमैदानलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । आवश्यक पूर्वाधार थपिएपछि खेलमैदानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने उहाँको भनाइ छ ।
दमौली खेलमैदानमा आवश्यक पूर्वाधारको अभाव हुँदा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । हाल यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता मात्रै सञ्चालन हुने गरेको छ । खेलमैदानको अवस्था सुधार गरी आवश्यक संरचना निर्माण गर्न सके जिल्लास्तरीय तथा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढ्नेछ । यसबाट स्थानीय खेलाडीलाई अभ्यास र प्रतिस्पर्धाका अवसर उपलब्ध गराउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको खेलकुद समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।
आधुनिक सुविधासहितको खेलमैदान निर्माणले व्यास नगरपालिकाको समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नेछ । यसले स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सहयोग पुग्ने विश्वास गरिएको दमौलीका युवा भुवन गोशलीले बताउनुभयो । वर्षौंदेखि युवाहरूको सपनाका रूपमा रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “खेलमैदानका लागि बजेट विनियोजन भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको छ । खेलकुद पूर्वाधारको विकासले युवाहरुलाई सकारात्मक बाटोमा अग्रसर गराउनाका साथै दमौलीलाई खेलकुदको केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्नेछ ।


