Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यात्रु चढेको इभी दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | वसन्त भण्डारी/रासस
newsabhiyan

हेटौँडा, २६ कात्तिकः इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी रहेको छ । मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान करिब ६ः०० बजे दुर्घटनामा परेको हो । 

आज बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किने क्रममा थिए । 

काठमाडौँको टीकाथलीबाट गाडी बुक गरी सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको उहाँले बताउनुभयो । 

हेटौँडा अस्पतालमा उपचाररत यादवले राति करिब २ः०० बजे टीकाथलीबाट यात्रा सुरु गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गाडीमा आफूसहित करिब १४ जना सवार थिए ।  यात्रु अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त हुन् । 

आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको यादवले बताउनुभयो । छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेपछि उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् । 

घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेमध्ये मुकेश यादवसँगै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ । 

मुकेशको टाउको र ढाडमा तथा सक्षमको शरीरमा भित्री चोट लागेको छ ।  दुवैको अवस्था सामान्य रहेको र टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । 

यसैबीच, दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । 

उहाँका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास भइरहेको छ । 

दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । तत्पश्चात प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली परिचालन गरिएको थियो ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । भिरालो क्षेत्रमा दुर्घटना भएकाले सुरक्षाकर्मीले घटनास्थलमा खोजतलास जारी राखेका छन् । 

मृतकको पहिचान खुल्नेक्रम बाँकी रहेको एवं दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan