Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलवायु नेतृत्वलाई पहिचान गर्न नेट–जिरो मान्यता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस)

अन्ताल्या, (टर्किए) २६ कात्तिकः ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्वलाई पहिचान तथा प्रोत्साहन गर्न सार्वजनिक भएको  हो । 

गैरराज्य पक्षका निकायले शून्य खुद कार्बन उत्सर्जन (नेट–जिरो) हासिल गर्न अघि बढाएका विविध प्रयासलाई पारदर्शी बनाउने र उनीहरूको नेतृत्वलाई पहिचान गर्ने उद्देश्यले यो ढाँचा ल्याइएको सचिवालयले जनाएको छ ।

उक्त स्वेच्छिक ढाँचाले व्यवसाय, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार तथा अन्य गैरराज्य पक्षका निकायलाई  नेट–जिरो प्रतिबद्धताका आधारमा तय गरिएका मापदण्ड र लक्ष्य प्राप्तिका लागि भएका प्रगति सार्वजनिक गर्ने अवसर प्रदान गर्नेछ ।

सन् २०१४ देखि गैरराज्य पक्षको जलवायु कार्यका लागि संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले सञ्चालन गर्दै आएको विश्वव्यापी मञ्च ‘नाज्का’ (नन–स्टेट एक्टर जोन फर क्लाइमेट एक्सन) पोर्टलमार्फत  स्वेच्छाले आबद्ध हुने संस्थाका विवरण सार्वजनिक गरिनेछ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले नेट–जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनको नेट–जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण हो र आज यो परीक्षण चरणबाट कार्यान्वयनमा प्रवेश गरेको छ ।

नवीकृत नाज्का पोर्टलमार्फत कम्पनी, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकारलगायतले आफ्ना योजना सार्वजनिक गर्न र प्रगतिको विवरण प्रस्तुत गर्न सक्नेछन् ।”

गैरराज्य पक्षका जलवायु कार्यमा थप तथ्याङ्क र पारदर्शिताको आवश्यकता पूरा गर्दै आगामी दिनमा जलवायु कार्यलाई थप प्रभावकारी बनाउन प्रमाणमा आधारित आधार तयार गर्नु यसको उद्देश्य रहेको छ ।

नेट–जिरो मान्यता ढाँचाको प्रारम्भिक चरणमा आठवटा योग्य नेट–जिरो पहलले नेतृत्व गरिरहेका छन् । कोप–३१ सुरु हुनुअघिका दुई महिनामा ७८ संस्थाले यस ढाँचामा सहभागी हुन सहमति जनाएका छन् ।

यसमा छ करोड ५० लाखभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व गर्ने उपराष्ट्रिय सरकार, २२ देशमा सञ्चालनमा रहेका कम्पनी तथा संस्था सहभागी छन् ।  तीमध्ये केही कम्पनी तथा संस्थाको कार्यक्षेत्र १०० भन्दा बढी देशमा फैलिएको छ ।

सहभागी निकायमा फेसन, मदिराजन्य पेय (वाइन), खेलकुद, साना तथा मझौला उद्यम र उपराष्ट्रिय सरकारलगायत विविध क्षेत्र समेटिएका छन् । 

उनीहरूका अनुभव र दृष्टिकोणले नेट–जिरो प्रतिबद्धता तथा त्यसका आधारभूत मापदण्डलाई सबैका लागि थप पारदर्शी र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेट–जिरो हासिल गर्ने यात्राका पाँच चरणमा आधारित छ । ती चरणमा सार्वजनिक प्रतिबद्धता, रूपान्तरण योजना, प्रगति प्रदर्शन, अन्तरिम लक्ष्य हासिल र नेट–जिरो लक्ष्य प्राप्ति रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयका पारदर्शिता निर्देशक सुएहोङ वाङले नेट–जिरो यात्रालाई पारदर्शी बनाएर महत्त्वपूर्ण नेतृत्व प्रदर्शन गरिरहेको बताउनुभयो ।

नेट–जिरो ढाँचा कार्यान्वयनमा प्रवेश गरेसँगै सम्बन्धित  निकायलाई आबद्ध हुन आह्वान गरिएको छ । आबद्ध संस्थालाई  स्वेच्छाले यस ढाँचामा सहभागी हुन आमन्त्रण गरिएको छ । 

आवश्यक योग्यता, मापदण्ड र आवेदनसम्बन्धी विवरण संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयको वेबसाइटमा उपलब्ध छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan