Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस/एएफपी)

जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोक्नुपरेको थियो । यस आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन् ।

    रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै आएका छन् ।

    साइबर आक्रमणका अतिरिक्त यस्ता कम्पनीका कारखानामा विस्फोट गराइएका छन्, कार्यालयमा पेट्रोल बम प्रहार भएका छन् भने कम्पनीका उच्च अधिकारीहरू रुससँग सम्बन्धित हत्याका षड्यन्त्रको निशानामा परेका छन् ।

    म्युनिखनजिकै अवस्थित क्वान्टम सिस्टम्सले टोही ड्रोन तथा अन्य मानवरहित प्रणाली उत्पादन गर्छ । कम्पनीका अनुसार अक्टोबरको अन्त्यतिर ‘शत्रुतापूर्ण समूह’ ले उसको प्रणालीमाथि साइबर आक्रमण गरेको थियो ।

    कम्पनीले विज्ञप्तिमा भनेको छ, “सम्बन्धित सरकारी निकायसँगको निकट र पारदर्शी सहकार्य तथा हाम्रा सूचना प्रविधि र सुरक्षा टोलीको तत्काल प्रतिक्रियाका कारण उक्त खतरा नियन्त्रणमा लिन सफल भयौँ ।”

    कम्पनीले आफ्नो प्रणालीको सञ्चालनमा कुनै जोखिम नरहेको पनि जनाएको छ । यद्यपि, घटनाबारे थप विवरण दिन अस्वीकार गरेको छ ।

    यस घटनाबारे जानकार एक स्रोतले एएफपीलाई बताएअनुसार, ड्रोनको नियन्त्रण तथा उडान योजना तयार गर्ने प्रणालीका लागि अद्यावधिक सूचना पठाउने सर्भरमार्फत एउटा हानिकारक फाइल पठाइएको थियो ।

    घटनाबारे जानकारी पाएपछि जर्मन सेनाले सावधानीका रूपमा क्वान्टम कम्पनीका आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोकेको स्रोतले जनाएको छ ।

    प्रारम्भिक सङ्केतले आक्रमणमा रुसको संलग्नता रहेको देखाएको र गुप्तचर निकायहरूले अनुसन्धान गरिरहेको पनि स्रोतले बताएको छ ।

    यस विषयमा टिप्पणी माग्दै गरिएको अनुरोधमा जर्मनीको रक्षा मन्त्रालयले तत्काल प्रतिक्रिया दिएन ।

    युक्रेनको प्रमुख समर्थकमध्ये एक जर्मनीले आफ्नो भूमिमा रुसले साइबर आक्रमण, जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ । रुसले भने यस्ता घटनामा आफ्नो संलग्नता रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

    क्वान्टमले पनि उक्त साइबर आक्रमणलाई युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने आफ्नो भूमिकासँग जोडेको छ ।

    कम्पनीका टोही ड्रोन युक्रेनमा प्रयोग हुँदै आएका छन् । साथै, युक्रेनी सेनाका लागि आक्रमणकारी तथा जासुसी ड्रोन उत्पादन गर्ने त्यहाँको एक नवप्रवर्तनशील कम्पनीसँग क्वान्टमको संयुक्त उद्यमसमेत छ ।

    कम्पनीले भनेको छ, “युक्रेनलाई सहयोग गर्ने अग्रपङ्क्तिमा रहेका कम्पनीहरूलाई नै लक्षित गरिएको छ, किनभने हाम्रो काम ग्राहकहरूको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan