इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह
संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले आफ्ना निरीक्षकहरूलाई इरानका प्रमुख आणविक केन्द्रमा पुनः पहुँच दिन आवश्यक कदम चाल्न इरानलाई आग्रह गरेको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनमा निरीक्षकहरूको पहुँचलाई ‘अत्यन्त महत्वपूर्ण’ भनिएको छ ।
अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले सन् २०२५ को जुनमा इजरायल र अमेरिकाले गरेको आक्रमणपछि इरानका प्रमुख आणविक केन्द्रमा निरीक्षण गर्न पाएको छैन । उक्त आक्रमणपछि इरान र इजरायलबीच १२ दिनसम्म द्वन्द्व चलेको थियो ।
फेब्रुअरी २८ मा सुरु भएको पछिल्लो युद्धका क्रममा पनि इरानका आणविक केन्द्रमा आक्रमण भएको थियो । त्यसयता आईएईएले ती केन्द्रमा निरीक्षणका लागि पहुँच उपलब्ध गराउन पटकपटक आग्रह गर्दै आएको छ ।
आगामी साता बस्ने आईएईएको सञ्चालक समितिको बैठकमा छलफल हुने प्रतिवेदनमा इरानमा यथाशीघ्र प्रमाणीकरण गतिविधि सञ्चालन गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “महानिर्देशकले आईएईएका निरीक्षकहरूलाई इरानमा पुनः फर्कने वातावरण बनाउन प्राविधिक तथा क्रमिक उपायहरू अवलम्बन गर्न इरानलाई प्रोत्साहित गर्नुभएको छ ।”
प्रतिवेदनमा यस्ता क्रमिक कदमले इरानमा नियमित सुरक्षा मापदण्ड लागू गर्ने बाटो खोल्नुका साथै व्यापक सम्झौताका लागि विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने उल्लेख छ ।
प्रतिवेदनमा पछिल्ला साताहरूमा आईएईए र इरानबीच भएको पत्राचारको विवरणसमेत समेटिएको छ ।
आईएईएका निरीक्षकहरूले गत सेप्टेम्बरमा इरानको बुशेहर आणविक केन्द्रको भ्रमण गर्न पाएका थिए । तर, अन्य आणविक केन्द्रमा भने उनीहरूको पहुँच पुग्न सकेको छैन ।
आईएईएले इरानका आणविक केन्द्र तथा स्थलमा भएका सैन्य आक्रमणले अभूतपूर्व परिस्थिति सिर्जना गरेको स्वीकार गरेको छ ।
तर, इरानको सहयोग अभावका कारण शान्तिपूर्ण आणविक गतिविधिका लागि घोषणा गरिएको आणविक सामग्री अन्य प्रयोजनमा प्रयोग नगरिएको निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।
एजेन्सीले आणविक सामग्रीबारे पर्याप्त जानकारी नहुनु र त्यसको प्रमाणीकरणका लागि सम्बन्धित केन्द्रमा पहुँच नपाउनुलाई आणविक प्रसारको दृष्टिले गम्भीर चिन्ताको विषय भनेको छ । उसले यस समस्याको तत्काल समाधान हुनुपर्नेमा जोड दिएको छ ।
गत सेप्टेम्बरमा आईएईएको सञ्चालक समितिले आणविक दायित्व पालना नगरेको भन्दै इरानको विषय संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पठाउने निर्णय गरेको थियो । आणविक प्रतिवेदनसम्बन्धी दायित्व पूरा गर्न असफल भएको भन्दै इरानको विषय सुरक्षा परिषद्मा पठाइएको यो पछिल्लो २० वर्षयताकै पहिलो घटना हो ।
सन् २०२५ को जुनमा भएको आक्रमणअघि आईएईएको अनुमानअनुसार इरानसँग करिब ४४० किलोग्राम युरेनियम मौज्दात थियो । उक्त युरेनियम ६० प्रतिशतसम्म संवद्र्धन गरिएको थियो, जुन आणविक हतियार निर्माणका लागि आवश्यक पर्ने ९० प्रतिशत संवद्र्धनको स्तरनजिक थियो । यो मात्रा सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताले तोकेको तीन दशमलव ६७ प्रतिशतको सीमाभन्दा निकै बढी थियो ।
सन् २०२५ को जुनयता उक्त युरेनियम भण्डारको अवस्थाबारे स्पष्ट जानकारी छैन ।
इरानले भने आफूले आणविक हतियार निर्माण गर्ने प्रयास गरिरहेको आरोप अस्वीकार गर्दै आएको छ ।
–––


