बिजुक्छेंद्वारा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन
भक्तपुर, ३ मङ्सिर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले खेलाडीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो मात्र नभई देश र जनताका लागि खेल्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा आजदेखि आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८३ को उद्घाटन गर्दै उहाँले खेलकुद सधैँ राष्ट्रका लागि हो भन्ने भावना खेलाडीले मनमा राख्नुपर्ने बताउनुभयो ।
बिजुक्छेंले भन्नुभयो, “खेलकुद स्वस्थ शरीर र अनुशासनका लागि मात्र नभई देश र जनताको सेवाका लागि पनि हो । खेलकुदले बाह्य आक्रमणको प्रतिरोध गर्न सक्ने शारीरिक तथा मानसिक क्षमता विकास गर्न सहयोग पुर्याउँछ । देशमा सङ्कट परेको अवस्थामा त्यसको सामना गर्न सधैँ तयार हुनुपर्छ ।”
प्रतियोगितामा टेबलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, पोर्टबल, बाघचाल र कसिमला पाँय गरी १५ विधामा प्रतिस्पर्धा हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
प्रतियोगितामा नगरभित्रका ८४ विद्यालयका तीन हजार दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिले खेलकुदलाई नागरिक जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्न नगरपालिकाले समय–समयमा अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । नगरपालिकाले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, राष्ट्रिय प्रतियोगितामा विजयी तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुने भक्तपुरका खेलाडीलाई सम्मान गर्ने र उपयुक्त स्थानमा खेलकुद कभर्ड हल निर्माण गर्ने कार्यलाई समेत प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नगरपालिकाले भक्तपुर नगरपालिका–८ लिबालीमा ब्याडमिन्टन कभर्ड हल र वडा नं १० बेखालमा टेबलटेनिस कभर्ड हल निर्माण सम्पन्न गरी खेल प्रशिक्षणसमेत सञ्चालन गरिरहेको छ ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नगरपालिका–९ स्थित दत्तात्रयबाट सुरु भएको र्याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो र दूधपाटी हुँदै सहिद स्मृति खेलमैदान पुगेर समापन भएको थियो ।


