Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | रासस/एएफपी

कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनुभएको छ ।

बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’ मा सम्बोधन गर्दै टर्कले विश्वको अधिकांश एआई कम्प्युटिङ क्षमता, तथ्याङ्क र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताउनुभयो ।

विश्वका पाँच प्रविधि कम्पनीले ७० प्रतिशतभन्दा बढी एआई कम्प्युटिङ क्षमताको स्वामित्व राख्नु लोकतान्त्रिक सहभागिताको दृष्टिले गम्भीर विषय भएको उहाँको भनाइ थियो ।

‘भविष्यको प्रविधिलाई हामी मध्ययुगीन शैलीमा शासन गरिरहेका छौँ, जहाँ केही सीमित व्यक्तिको नियन्त्रण छ र निगरानी, सन्तुलन, सहभागिता तथा जवाफदेहिताको अभाव छ,’ उहाँले भन्नुभयो ।

एआईको अनियन्त्रित प्रयोगले सर्वसाधारणको अधिकार र स्वतन्त्रता प्रभावित हुन सक्ने उहाँले बताउनुभयो । एआईले सार्वजनिक बहसलाई प्रभावित पार्नुका साथै पक्षपाती एल्गोरिदमले ठूलो स्तरमा विभेद र अन्यायलाई निरन्तरता दिन सक्ने उनको चेतावनी थियो ।

यातायात, खाद्य आपूर्ति र स्वास्थ्य सेवाजस्ता महत्त्वपूर्ण क्षेत्र डिजिटल प्रविधिमा निर्भर हुँदै गएको उल्लेख गर्दै उहाँले एआईको गलत प्रयोगले कुनै समुदाय वा देशको महत्त्वपूर्ण पूर्वाधार अवरुद्ध गर्न सक्ने बताउनुभयो ।

टर्कले एआईको विकास र प्रयोगलाई मानवअधिकार केन्द्रित नियमनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रमुख एआई कम्पनीहरूलाई प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न पत्राचार गरेको जानकारी दिनुभयो ।

दूध बजारसम्म पुर्‍याउन विभिन्न परीक्षण र नियमन आवश्यक भएजस्तै सम्भावित जोखिमका कारण एआईमा पनि नियमन अपरिहार्य रहेको उहाँको भनाइ थियो । एआई मोडेलको तालिममा मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई आधार बनाउनुपर्ने सुझावसमेत उहाँले दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan