Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उच्च खर्चबीच पनि श्रीलङ्काको बजेटमा वित्तीय अनुशासन कायम: फिच

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस/सिन्ह्वा)

कोलम्बो, ३ मङ्सिर : श्रीलङ्काको सन् २०२७ को बजेटले सार्वजनिक लगानी र चक्रवातपछिको पुनर्निर्माण खर्च बढाए पनि वित्तीय अनुशासन तथा सार्वजनिक ऋण घटाउने प्रतिबद्धता कायम राखेको फिच रेटिङ्सले जनाएको छ ।

फिचका अनुसार सन् २०२६ मा वित्तीय लक्ष्यभन्दा राम्रो उपलब्धि हासिल हुनु श्रीलङ्काको सार्वभौम ऋण मूल्याङ्कन ‘सीसीसी प्लस’ बाट स्थिर दृष्टिकोणसहित ‘बी माइनस’ मा स्तरोन्नति हुनुको प्रमुख आधार बनेको थियो ।

बजेटले सन् २०२७ मा जीडीपीको २.३ प्रतिशत प्राथमिक बजेट बचतको लक्ष्य राखेको छ । सन् २०२६ मा यो ३.६ प्रतिशत रहने अनुमान छ । यद्यपि, समग्र वित्तीय घाटा भने ३.७ प्रतिशतबाट बढेर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

राजस्वमा कमी र पुँजीगत खर्च वृद्धिका कारण प्राथमिक बचतको लक्ष्य घटेको भए पनि यो सार्वजनिक ऋण न्यूनीकरणको दीर्घकालीन योजनासँग मेल खाने फिचको निष्कर्ष छ । चक्रवातपछिको पुनर्निर्माणका लागि २६० अर्ब श्रीलङ्काली रुपैयाँ लगानी गर्ने योजनाले सार्वजनिक खर्च बढाएको छ ।

बजेट अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को विस्तारित कर्जा सुविधा कार्यक्रमसँग पनि समग्र रूपमा अनुकूल रहेको फिचले जनाएको छ । यसले आगामी मार्चमा समाप्त हुने कार्यक्रमको सातौँ समीक्षा प्रक्रियालाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

वित्तीय सुधार भए पनि श्रीलङ्काको सार्वजनिक ऋण अझै चुनौतीपूर्ण छ । जीडीपीको ११५ प्रतिशत रहेको सरकारी ऋण सन् २०२६ मा ९२ प्रतिशतमा झर्ने अनुमान छ । तर यो ‘बी’ श्रेणीका मुलुकको औसत ५५ प्रतिशतभन्दा निकै उच्च हो ।

ऋणको दिगोपन र थप मूल्याङ्कन सुधारका लागि सरकारले राजस्व वृद्धि, खर्च नियन्त्रण र उच्च प्राथमिक बजेट बचतलाई निरन्तरता दिनुपर्ने फिचले औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan