इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै
गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा बढी मानिस बसोबास गरिरहेका थिए । करिब २.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा झन्डै चार हजार विस्थापित नागरिक अस्थायी शिविरमा बस्दै आएका थिए ।
बुधबारसम्म प्रभावित क्षेत्रका नागरिकहरू पश्चिम तथा दक्षिणपश्चिम दिशातर्फ सर्न थालेको कार्यालयले जनाएको छ ।
उक्त क्षेत्रमा स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न, सरसफाइ, शिक्षा तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने मानवीय सहायता केन्द्रहरू पनि रहेका छन् ।
ओसिएचएका अनुसार सन् २०२३ डिसेम्बरदेखि २०२५ जुनसम्म सोही क्षेत्रमा इजरायलले छ पटक विस्थापनसम्बन्धी आदेश जारी गरेको थियो ।
कार्यालयले सैन्य कारबाहीबाट विस्थापित हुने नागरिकलाई परिस्थिति अनुकूल हुनासाथ घर फर्कन दिनुपर्ने र उनीहरूको सुरक्षा तथा मानवीय सहायता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
यसैबीच, सैन्य कारबाहीका क्रममा वर्षाको पानी सङ्कलन तथा ढल व्यवस्थापन गर्ने संरचनामा क्षति पुगेमा बाढी तथा सरसफाइसम्बन्धी समस्या उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएयता तीन हजार ८०० भन्दा बढी बिरामीलाई उपचारका लागि अन्यत्र लैजान सहयोग गरिएको छ । तीमध्ये करिब एक तिहाइ बालबालिका रहेका छन् ।


