चीनसँगको वार्ता रचनात्मक भएको अल्बानिजको भनाइ
सेन्जेन (चीन), ४ मङ्सिर : चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको सम्बन्ध स्थिर बनाउन रचनात्मक संवाद भइरहेको बताउनुभएको छ ।
एपेक शिखर सम्मेलनका क्रममा शुक्रबार भएको भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको थियो । अस्ट्रेलियाको कुल निर्यातको करिब एक चौथाइ चीन जाने गरेको छ भने फलाम अयस्क निर्यातको झन्डै तीन चौथाइ हिस्सा चीनले खरिद गर्छ ।
अस्ट्रेलियाले चीनसँगको व्यापारिक सम्बन्धलाई महत्त्व दिए पनि बेइजिङको सैन्य विस्तारलाई सुरक्षा चुनौतीका रूपमा लिँदै अमेरिका, जापान र भारतसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ ।
अल्बानिजले शुक्रबार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग वार्ता गर्ने तथा रियो टिन्टो र बीएचपीका प्रतिनिधिसहितको व्यापार बैठकमा सहभागी हुने कार्यक्रम छ ।
चीनले फलाम अयस्क खरिदका लागि केन्द्रीय निकाय स्थापना गरेपछि अस्ट्रेलियाले आफ्ना उत्पादकले पाउने मूल्य घट्न सक्ने चिन्ता व्यक्त गरेको छ ।
सन् २०२० मा कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धान गर्न अस्ट्रेलियाले गरेको आह्वानपछि दुई देशबीच तनाव बढेको थियो । त्यसबेला चीनले अस्ट्रेलियाका कोइला, मदिरा र कृषि उत्पादनलगायत करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा प्रतिबन्ध लगाएको थियो ।
अधिकांश प्रतिबन्ध हटाइए पनि महत्त्वपूर्ण खनिजमा विदेशी लगानीको निगरानी र उत्तरी अस्ट्रेलियाको एक प्रमुख बन्दरगाहमा चिनियाँ कम्पनीको हिस्सेदारीलाई लिएर मतभेद कायमै छन् ।


