Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शान्ति सम्झौताका दुई दशक बित्दा पनि पीडित परिवार न्यायको प्रतीक्षामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

कास्की, ५ मङ्सिरः बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको दुई दशक पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारले न्याय, राहत र सम्मान पाउन नसकेको गुनासो गरेका छन् ।
    
    आफन्तको बलिदानबाट मुलुकमा राजनीतिक परिवर्तन आए पनि आफूहरूको पीडा र अवस्था जस्ताको तस्तै रहेको भन्दै उनीहरूले शान्ति प्रक्रियाका बाँकी काम तत्काल पूरा गरी न्यायको प्रत्याभूति गराउन माग गरेका छन् ।

    शान्ति सम्झौताको दिन पारेर जनक्रान्तिका महान् सहिद परिवार समाज कास्की र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज कास्कीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश कार्यालय पुगेर पार्टीका प्रदेश महामन्त्री कृष्णप्रसाद लम्साललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

    विसं २०६३ मङ्सिर ५ गते तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी) बीच बृहत् शान्ति सम्झौता भएको थियो । सम्झौतापछि मुलुकमा गणतन्त्र स्थापना, नयाँ संविधान निर्माण र सङ्घीयतासहितका राजनीतिक उपलब्धि हासिल भए पनि द्वन्द्वपीडित परिवारले भने न्यायको अनुभूति गर्न नसकेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

    उनीहरूले विगतका सरकारसँग भएका सहमति, सम्झौता र प्रतिबद्धताअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका छन् । विगतका सरकारले सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता नदिएको र वर्तमान सरकारले पनि पीडितका माग सम्बोधनमा बेवास्ता गरेको उनीहरूको आरोप छ ।

    जनक्रान्तिका महान् सहिद परिवार समाज कास्कीका अध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा विकले शान्ति सम्झौताको दिनको सन्दर्भ पारेर रास्वपालाई ध्यानाकर्षणपत्र बुझाइएको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित भए पनि कार्यान्वयन नहुँदा पीडितले न्याय पाउन नसकेको उहाँको भनाइ छ ।

    सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारीविहीन रहेकाले सरकारले आयोगलाई पूर्णता दिई सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कार्यान्वयन गर्नुपर्ने र पीडित परिवारलाई शीघ्र न्याय दिनुपर्ने उहाँले बताउनुभयो ।

    राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको अवस्था सार्वजनिक हुन नसक्दा परिवारले लामो समयदेखि पीडा भोग्नुपरेको बताउनुभयो । बेपत्ता पारिएका आफन्त जीवित भए अवस्था सार्वजनिक गर्न र मृत्यु भएको भए शव उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो ।

    सहिद परिवारका सदस्य सुदीप खनालले विगत र वर्तमान कुनै पनि सरकारले आफूहरूलाई न्याय दिन नसकेको बताउँदै द्वन्द्वकालीन घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

    रास्वपा गण्डकी प्रदेशका महामन्त्री लम्सालले सहिद तथा बेपत्ता परिवारले उठाएका माग जायज रहेको बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कार्यान्वयनका लागि पार्टीका तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    ध्यानाकर्षणपत्रमा द्वन्द्वकालीन घटनाको निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउन तथा घटनामा संलग्न व्यक्ति वा निकायको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

    त्यसैगरी, सहिद परिवारलाई राष्ट्रिय सम्मान, द्वन्द्वपीडित परिवारलाई आवश्यक सहयोग तथा द्वन्द्वमा घाइते भएका व्यक्ति र जेल तथा हिरासतमा यातना भोगेकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन् । पीडित परिवार र उनीहरूका सन्तानलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपचार, रोजगारी तथा भरणपोषणको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan