Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

म्याग्दी, ५ मङ्सिरः यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वारमा करिब दुई महिनापछि नियमित विद्युत् सेवा सञ्चालन भएको छ ।

    गत असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कविच्छेद भएको पाउद्वारमा सडक मर्मत गरी स्थलमार्गबाट ट्रान्सफर्मर ढुवानी गरेर जडान गरेपछि शुक्रबारदेखि विद्युत् सेवा नियमित भएको हो ।

    अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले एक महिना २५ दिनपछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन भएको जानकारी दिनुभयो ।

    गत असोज ३१ गते बेनीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट सिधै विद्युत् लाइन जोडिएको थियो । तर, त्यसबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन सकेको थिएन ।

    स्थलमार्गबाट ल्याइएको ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्तिमा देखिएको उतारचढाव हटेको र विद्युतीय उपकरणमा क्षति तथा दुर्घटनाको जोखिम कम भएको उपाध्यक्ष पुनले बताउनुभयो ।

    गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडक पहिरोले क्षतिग्रस्त बनाएपछि शिख–स्वाँत–किन्दु–झारवाङ हुँदै पाउद्वार पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ ।

    पहिरोले अवरुद्ध पदमार्ग र खानेपानी आयोजना स्थानीयवासीले श्रमदानमार्फत मर्मत गरेका छन् । पाउद्वारका छिमेकी बस्ती नेपाने, गिबाङ, किन्दु, झारवाङ र धस्केखोरमा पनि विद्युत् सेवा सञ्चालनमा आएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले बताउनुभयो ।

    भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारमा १७० घरपरिवारको बसोबास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan