Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | रासस

 काठमाडौँ, ७ मङ्सिरः  प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदैछ ।

    वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकोलाई शिववैकुण्ठ र विष्णुसित सम्बन्ध भएकोलाई विष्णुवैकुण्ठ भनिन्छ । शिवपूजाको लागि अरुणोदयव्यापी चर्तुदशी उत्तम मानिएको छ भने उपवास (व्रत)का लागि अहोरात्र (रातदिन)को अरुणोदय चर्तुदशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।

    भगवान् विष्णुका धेरै नाममध्ये एक नाम वैकुण्ठ पनि हो । कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रुपमा जसको प्रसिद्धि छ त्यसलाई पनि वैकुण्ठ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्युत्पति भगवान् स्वयंले बताउनुभएको छ ।

    गतिनिरोधक गर्नेलाई विकुण्ठ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम वैकुण्ठ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।  

    यस दिन सके पूजा गर्ने नसकेमा विष्णुका नाममात्रको उच्चारणले पनि ठूलो पुण्य प्रदान गर्छ र आपत् विपत्बाट बचाउने विश्वास गरिन्छ ।  भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धले युक्त छ । 

    धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा नै व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुनसक्छ भनेर युधिष्ठिरलगायत पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा छ । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखिलाई भीष्मपञ्चक पनि सुरु हुन्छ ।

    देवताका पनि देवता विष्णु सर्वाधिक रुपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुकै गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुसँगको नामसँग सम्बन्धित रहेको छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने  नदीमध्ये एकको नाम छ विष्णुमती । जसको उत्पति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बूढानीलकण्ठ विष्णु मूर्ति मान्यताको साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध रहेको छ ।

    भगवान् विष्णु पालनकर्ताका रुपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौारणिक मान्यता रहेको पण्डित बालमुकुन्दे देवकोटा बताउनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan