प्रलेस–शक्ति लम्साल स्मृति साहित्य पुरस्कार विकललाई
काठमाडौँ, ७ मङ्सिरः प्रगतिशील लेखक सङ्घ (प्रलेस)ले ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार २०८३’ मरणोपरान्त रमेश विकललाई प्रदान गरेको छ ।
रमेश विकल स्मृति प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले रु २५ हजार १०० राशिको सो पुरस्कार ग्रहण गर्नुभयो ।
नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा स्वर्गीय विकलले पु¥याउनुभएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिक स्वतन्त्रता र देश विकासको पक्षमा कहिल्यै कसैसँग सम्झौता नगर्ने लम्साल नेपालीको हित र सार्वभौमसत्ताको सन्दर्भमा सदैव अविचलित रहने गरेको स्मरण गर्नुभयो ।
पूर्वमन्त्री देवप्रसाद गुरुङले अत्यन्त विषम परिस्थितिमा नेपाली राजनीतिमा न्याय, समानता र विकासको पक्षमा अविचलित अडान राख्ने लम्सालबाट सिद्धान्त तथा विचारको राजनीति गर्न देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले अहिंसाको पक्षपाती लम्साल सामाजिक रूपान्तरणका लागि आजीवन लागि परेको घटना सुनाउनुभयो ।
पत्रकार महेश्वर दाहालले नेपालको वामपन्थी आन्दोलन एवं वामपन्थी राजनीतिमा सतपात्रका रूपमा लम्साललाई नेपाली समाजले स्मरणमा गरिरहने धारणा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा विश्लेषक हिरण्यलाल श्रेष्ठ, राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्वसांसद नारायण शर्मा, पत्रकार लम्सालकी धर्मपत्नी कृष्णा, छोरी प्रज्ञा लम्साल र पत्रकार अशोक सुवेदी लगायतले जवाफदेही राजनीति, समाजिक रूपान्तरण र परिवर्तनको पक्षमा निडरतापूर्वक कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
