Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वर्गीय बुद्धिराज लामिछानेको स्मृतिमा तीन कृति लोकार्पण!

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | रासस
newsabhiyan

                   काठमाडौँ, मङ्सिर ६ गते आइतबार,  सुमित्रादेवी लामिछाने एवं लामिछाने परिवारको आयोजनामा बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा स्वर्गीय पण्डित बुद्धिराज लामिछानेको स्मृतिविशेष समारोहमामा तीनवटा पुस्तक लोकार्पण गरिएका छन्। समाजसेवी तथा शिक्षासेवी माधव लामिछानेको सभापतित्व एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन स्वर्गीय बुद्धिराज लामिछानेका कनिष्ठ सुपुत्र नारायण लामिछानेले गर्नुभएको थियो। कार्यक्रममा पुस्तकका समीक्षकहरू प्रा. रामहरि दाहाल, प्रा. डा. मुकुन्द प्रसाद लामिछाने, प्रा. केशव सुवेदी, वरिष्ठ कवि प्रह्लाद पोखरेल तथा प्रकाशक गणेशकृष्ण रन्जित हुनुहुन्थ्यो भने  विशेष अतिथिका रूपमा प्रा. डा. केदार न्यौपाने, डा. शैलेन्दुकुमार नेपाल, प्रा. महेश्वर न्यौपाने, भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल, प्रा. ध्रुवकुमार न्यौपाने, साहित्यकार बुनु लामिछाने, डा. गीता खरेल, सुधा न्यौपाने, सुधीरकुमार रिजाल, शशिविक्रम राणा, कुलप्रसाद पराजुलीलगायत दर्जनौँ विशिष्ट स्रष्टा, शिक्षासेवी तथा समाजसेवी व्यक्तित्वका अतिरिक्त परिवारका सदस्य र इष्टमित्रहरूको गरिमामय उपस्थिति रहेको थियो।

          स्वर्गीय बुद्धिराज लामिछानेका सुपुत्र विष्णुप्रसाद लामिछानेको स्वागत मन्तव्यपछि प्रमुख अतिथिलगायत मञ्चासीन विशिष्ट व्यक्तित्वहरूबाट ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’, ‘स्मृतिका प्रतिविम्बमा पण्डित बुद्धिराज लामिछाने’ (स्मृतिग्रन्थ) र ‘बाका वाणी’ (स्मृतिकाव्य) गरी तीनवटा कृति क्रमश: लोकार्पण गरियो। तीमध्ये ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ तथा ‘बाका वाणी’ का स्रष्टा डा. मधुसूदन लामिछाने हुनुहुन्छ भने ‘स्मृतिका प्रतिविम्बमा पण्डित बुद्धिराज लामिछाने’ स्मृतिग्रन्थ सम्पादक पनि डा. लामिछानेलगायतका व्यक्तित्वहरू रहनुभएको छ। लोकार्पण समारोहमा रत्नराज्य माध्यमिक विद्यालयकी पूर्वप्राचार्य डा. गीता शिवाकोटी खरेलले पण्डित बुद्धिराज लामिछानेको व्यक्तित्व चित्रण तथा सन्तानमा प्रतिविम्बित असल संस्कारबारे चर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। समीक्षात्मक टिप्पणी राख्दै प्रा. रामहरि दाहालले भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी भागवतका पात्र र सन्देशको समुचित व्याख्या डा. लामिछानेको कृतिले गरेको बताउँदै अनासक्त कर्मको अभ्यास र अनात्मालाई त्यागेर परमात्मालाई आत्मसात् गर्नुपर्ने शास्त्रीय सन्देशबारे चर्चा गर्नुभयो। त्यस्तै प्रा. केशव सुवेदीले ९४ वर्षको उमेरमा दिवङ्गत हुनुभएका पिता बुद्धिराज लामिछानेको वार्षिकीको सन्दर्भ पारेर तयार पारिएको स्मृतिग्रन्थले सल्यानको दमाचौर र जुगार क्षेत्रमा शिक्षाको ज्योति फैलाउने व्यक्तित्वलाई उजागर गरेको बताउँदै जीवनका प्रारम्भिक २५ वर्षका स्मृतिहरू अझै समेट्न सके पूर्ण इतिवृत्त बन्ने सुझाव दिनुभयो। पुनः ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ माथि टिप्पणी गर्दै प्रा. डा. मुकुन्दप्रसाद लामिछानेले भागवतका पात्रहरूमाथि विमर्श गरिएको यो पहिलो ग्रन्थ भएको र यसले आध्यात्मिक भावबोध एवं मोक्षको मार्ग देखाएको निष्कर्ष राख्नुभयो। वरिष्ठ कवि प्रह्लाद पोखरेलले ‘बाका वाणी’ स्मृतिकाव्यमाथि काव्यात्मक समीक्षा प्रस्तुत गर्दै मातापिताको सेवा नै सन्तानको तपस्या भएको सन्देश दिनुभयो भने बालकवि आर्या घिमिरेले काव्यका केही श्लोक श्रुतिमधुर शैलीमा वाचन गर्नुभएको थियो।

              आफ्ना कृतिको रचनागर्भबारे जानकारी दिँदै डा. मधुसूदन लामिछानेले वृद्ध मातापिता र श्रीमती कोरोना सङ्क्रमित हुँदा प्रा. वेणीमाधव गुरुको प्रेरणाबाट भागवत अध्ययन सुरु गर्दा ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ तयार भएको बताउनुभयो। पिताको असामयिक निधनपछि काजक्रियाका क्रममा बहिनी बुनु लामिछाने तथा कवि प्रह्लाद पोखरेलको हौसला र आमाको आशीर्वादले ‘बाका वाणी’ तयार भएको तथा छ महिनाको मासिकपछि दाङबाट ठूलो दाजुको प्रस्तावमा परिवार र चिन्ने-बुझ्नेहरूको सहयोगबाट स्मृतिलेख सङ्कलन गरी स्मृतिग्रन्थ प्रकाशन गर्न सम्भव भएको उहाँले उल्लेख गर्नुभयो। सो क्रममा उहाँले ‘बाका वाणी’ का २६ र २७ औँ श्लोक वाचन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिद्वारा उद्घाटन गरिएको पण्डित बुद्धिराज लामिछानेको जीवनी झल्काउने वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।

                 प्रमुख अतिथिको मन्तव्य राख्दै प्रा. डा. कुलप्रसाद कोइरालाले विद्या, अविद्या र कुविद्या तथा पात्र, सुपात्र र कुपात्रको सन्दर्भमार्फत सुपात्रमा परेको शिक्षाले समाजलाई मार्गदर्शन गर्ने र कुपात्रमा परेको शिक्षाले विघ्न निम्त्याउने दृष्टान्त प्रस्तुत गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथिबाट स्रष्टा तथा लेखकहरूलाई रुद्राक्षको माला र पुस्तक प्रदान गरी सम्मान गरिएको थियो। अन्त्यमा पण्डित बुद्धिराज लामिछानेका जेष्ठ सुपुत्र वासुदेव लामिछानेले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएपछि सभापति माधवप्रसाद लामिछानेले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan